हिजोको तुलनामा महिलाहरुको स्वावलम्बनतर्फ सक्रियता बढेको छ

  
  प्रकाशित मितिः आइतवार, पुस २२, २०६९       | 92 Views   ||

bimala yogiविमला योगी (अध्यक्ष)
नेपाल महिला सामुदायिक सेवाकेन्द्र, दाङ

महिला सामुदायिक सेवाकेन्द्रले महिलाहरुका लागि के कस्तो काम गर्ने गर्छ ?

यस संस्थाले महिलाहरुको शैक्षिक, सामाजिक, सांस्कृतिक र आर्थिक सबलीकरण तथा सचेतीकरण गर्दै संगठन निर्माणको कार्य गर्दछ । महिलाहरुको तत्कालीन जीवनस्तरमा सकारात्मक सुधार ल्याउन महिलाहरुको विकास तथा अधिकारमा आधारित तालिम, छलफल, अन्तक्र्रिया तथा वकालतको कार्य गर्दछ ।

संस्थाको सहयोगबाट महिलाहरुले के कस्ता काम गरिरहेका छन् ?

संस्थाको सहयोगबाट दाङ, सल्यान, प्यूठान तथा रोल्पामा बसोबास गर्ने करिब तीन हजार द्वन्द्वपीडित, अतिविपन्न, सीमान्तकृत परिवारका महिलाहरुले लघुवित्त कार्यक्रम, सामुदायिक जिविकोपार्जन कार्यक्रम, शान्ति र विकास कार्यक्रममार्फत् स्थानीय बजारको मागबमोजिमको उत्पादनमूलक, सीपमुलक तथा आयमूलक व्यवसाय सञ्चालन गरिरहेका छन् ।

यो संस्थामा कति महिलाहरु आबद्ध छन् र शाखा कहाँ–कहाँ रहेको छ नि ?

यस महिला सामुदायिक सेवाकेन्द्रद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रममा गरि १ लाख ५० हजार महिलाहरु आबद्ध छन् । संस्थाद्वारा सञ्चालित लघुवित्त कार्यक्रमअन्तर्गत राप्ती अञ्चलमा १ वटा मुख्य कार्यालय, ७ वटा शाखा कार्यालय र २ वटा उपशाखाहरु सञ्चालित छन् ।

तपाई लामो समयदेखि गैरसरकारी संस्थामार्फत् महिलाको पक्षमा काम गरिरहनुभएको छ, दाङमा महिलाको अवस्था कस्तो पाउनुभयो ?

दाङमा महिलाहरुको सामाजिक, सांस्कृतिक तथा राजनैतिक सचेतनाका पक्षमा २०४६ को प्रजातन्त्र पुनःस्थापनाका लागि समर्पित संघर्षशील विद्यार्थी आन्दोलनबाट यस क्षेत्रमा प्रवेश गरे । करिब २३ बर्ष अगाडि र वर्तमान अवस्थामा यस जिल्लाका महिलाहरुको अवस्था विश्लेषण गर्दा खुसी लाग्छ तर आधुनिकीकरणको विश्वव्यवस्थामा आएको परिवर्तन हेर्दा र राज्यव्यवस्थाले महिलाहरुको समग्र विकास र अधिकारका पक्षमा देखाएको संवेदनहीनता देख्दा पीडा लाग्छ ।

दुइदशक अगाडि समाजमा छोराको तुलनामा छोरीहरुको शिक्षा, स्वास्थ्य तथा अवसर र पहुँचमा विभेद थियो । ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुले सार्वजनिक जीवनयापन गर्ने तथा सामुहिक नेतृत्व गर्ने पक्षमा समाजमा अवसर थिएन । महिलाहरुलाई समाजमा चुनौतीपूर्ण जिम्मेवारी दिन विश्वास गरिदैनथ्यो । पढे, लेखेका महिलाहरुसमेत रोजगारमूलक कार्यमा संलग्न हुन कठीन थियो । पितृसत्तात्मक पुरुषवादी चिन्तनबाट ग्रसित हाम्रा सामाजिक, साँस्कृतिक विभेदका कारण महिला, बालबालिका बहुविवाह, विधवा प्रथा, बोक्सी प्रथाबाट परिवारमा मानसिक तथा शारीरिक रुपमा प्रताडित थिए ।

महिलाहरुको पैतृक सम्पत्तिमा हक थिएन । राज्यले महिलाहरुको पक्षमा कानून निर्माण गरेको थिएन । महिलाहरु स्वतन्त्र नागरिकको रुपमा आफ्नो अस्तित्व स्वीकार गर्ने वातावरण थिएन । संगठितरुपमा आफ्ना मौलिक हक, मानवअधिकार, सामाजिक न्याय, स्वतन्त्रता र रोजगारीका लागि संघर्ष गर्ने राजनैतिक स्वतन्त्रता थिएन ।

आज घर–घरमा छोरीहरुलाई शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरिदैछ । छोराछोरी बीचको विभेद हिजोको तुलनामा घट्दो छ । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भइ महिलाहरुले सामाजिक विकास तथा आर्थिक विकासका पक्षमा सक्रियतापूर्वक जीवनयापन गर्दैछन् । राज्यबाट महिलाहरुको शिक्षा, स्वास्थ्य, रोजगार, स्वतन्त्रताका पक्षमा विभिन्न अवसर दिनुका साथै कानून निर्माण गरिएको छ । तर, दुर्भाग्य ! महिलामाथि गरिने घरेलु हिंसा, चेलीबेटी बेचबिखन, यौनजन्य हिंसा, साँस्कृतिक हिंसा, बलात्कार, दाइजो प्रथाको पीडा अझ बढी बल्झिएको छ ।

आज तत्कालै हिंसापीडित पक्षलाई व्यक्तिगत सुरक्षा प्रदान गरी न्याय प्रदान गर्ने परिपाटी राज्यले नबनाएमा महिलाहरुको नागरिक सुरक्षा, स्वतन्त्रता र व्यक्तिको बाँच्न पाउने अधिकार परिवारबाट पुनः गुमेर जाने सम्भावना बढेको छ । यसका लागि राज्य, सञ्चार निकाय महिला÷मानवअधिकारवादी संघ, संगठनले यथाशिघ्र जागरुकता लिनुपर्ने देखिन्छ ।

अतः हिजोभन्दा वर्तमान अवस्थामा महिलाहरुको व्यक्तिगत जीवनमा सकारात्मक रुपमा स्वाबलम्बनतर्फ सक्रियता बढेको छ । महिलाहरुले आफ्नो अस्तित्वलाई सम्मानपूर्वक स्वीकार गरेका छन् । आफ्नो विकास र प्रगतिका लागि प्रतिबद्ध छन् ।

हक अधिकारका हरेक क्षेत्रमा महिलाहरु पछि परिराख्नुको कारण के हो जस्तो लाग्छ यहाँलाई ?

हक यस्तो अधिकार हो, जुन कुरा लिनका लागि हामी अरु सँग झुक्नुपर्दछ या हात थाप्नुपर्छ । नेपालको सन्दर्भमा कुरा गर्दा महिलाहरुको भूमिका परिवारमा पुरुषहरुको भन्दा बेग्लै छ । महिलाहरुको जबसम्म परिवार, समाज तथा राज्यको निर्णायक तहमा पहुँच पुग्दैन या महिलाहरुले संगठितरुपमा अधिकार प्राप्तिका लागि नियमित रुपमा संघर्ष गर्दैनन् । परिवार, समाज र राज्यबाट अधिकार प्राप्त गर्न साह्रै कठीन छ । हक, अधिकार प्राप्त गर्न नसक्नुको अर्को मुख्य कारण हिन्दु संस्कृतिबाट निर्माण गरिएको हाम्रो सामाजिक परिवेशमा महिलाहरुमा भएको दास मानसिकताले पनि असर पारेको छ । महिलाहरुले आफ्नो घरेलु÷सामाजिक भूमिकामा पुरुषहरुको सहयोग प्राप्त गर्न सकेका छैनन् । जब म गर्न सक्छु भन्ने भावना÷आत्मबल महिलामा जाग्छ, पुरुषहरुले महिलाहरुलाई सहयोगी नभई सहकर्मीको रुपमा स्वीकार गर्दछन् तब मात्र आफ्नो हक, अधिकार प्राप्त गर्न र उपभोग गर्न सक्षम हुन्छन् ।

महिलालाई अधिकार दिएर मात्र हुँदैन, उनीहरुलाई सामाजिक र आर्थिकरुपले पनि सशक्त र आत्मनिर्भर बनाउनुपर्छ भन्ने कुरामा यहाँ कतिको सहमत हुनुहुन्छ ? उनीहरुलाई सशतm बनाउन राज्य र समाजका अन्य निकायहरुले के कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?

तपाइँको विचारमा म पूर्णरुपमा सहमत छु । महिलालाई मात्र नभई परिवार, समाज तथा राज्यको श्रोत र साधनमा पहुँच नभएको वर्गलाई हक, अधिकार दिएर मात्र पुग्दैन । जबसम्म त्यो वर्गले महिलाले आफ्नो क्षमता, योग्यता, सीपको बारेमा बुझ्दैन र विश्लेषण गर्न सक्दैन, त्यतिमात्र नभई आफूले प्राप्त गर्ने अवसर पहिचान गर्न सक्दैन, आफू उपरको हिंसाको प्रतिरोध गर्न सक्दैन, आफूले प्राप्त गरेको हक, अधिकारलाई सुनिश्चित तथा सकारात्मकरुपमा उपभोग गर्न सक्दैन्, त्यो वर्गलाई दिएको हक, अधिकार व्यवहारिकरुपमा असफल हुन्छ ।

तसर्थ त्यो वर्गलाई सामाजिक रुपमा सचेत तथा आर्थिक रुपमा स्वाबलम्बी बनाउने अभियान संघसंस्था तथा राज्यले थालनी गर्दछ र प्रत्येक रुपमा त्यो वर्गलाई संलग्न गराउँदछ । तब मात्र हक र अधिकारको व्यक्तिगत जीवनमा सही उपयोगिता हुन सक्दछ ।

अन्त्यमा, नौलो जनउभारमार्फत् आम पाठक वर्गमा केही भन्नु छ कि ?

वर्तमान सन्दर्भमा कुरा गर्दा महिला हिंसाविरुद्धको सचेतना दिवस हामीले मनाउँदैछौ । महिलामा भएको नम्रता, शिष्टता, सहनशील, धैर्यता, लगनशीलता अर्कालाई दिने तथा सम्मान गर्ने संस्कारलाई कमजोरी सम्झेर पुरुषबाट तथा महिलाबाट पनि हुने व्यवहारको हामी महिलाहरुको सामाजिक संस्थाको तर्फबाट घोर भत्र्सना गर्दछौं ।

आगामी दिनमा यस्ता घटनामा कमी ल्याउन राज्य, समाज र परिवारका सम्पूर्ण सरोकारवालाहरुलाई स्वयम् अनुकरणीय बन्दै सामाजिक जागरणमा सहभागी बन्न आव्हान गर्दछु । यसो भएमा मात्र एक महिलाले अर्को महिला र पुरुषप्रति गरिने व्यवहार सम्मानित बन्नेछ । स्वच्छ, सुन्दर तथा आत्मनिर्भर समाजको निर्माण गर्नेछौं ।

प्रकाशित मिति : २०६९ मंसिर १७ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *