भरतपुर स्कूलपछाडिको झाडीमा बसेर कम्युनिष्ट पार्टी खोलेका थियौं

  
  प्रकाशित मितिः आइतवार, पुस २२, २०६९       | 947 Views   ||

Maniklal_Gautam1-[माणिकलाल गौतम]
(संस्थापक सदस्य) नेपाल कम्युनिष्ट पार्टी, दाङ

माणिकलाल गौतम दाङको कम्युनिष्ट आन्दोलनका संस्थापक तथा संघर्षशील व्यक्तित्वको नाम हो । कम्युनिष्टले अबलम्वन गर्ने वर्गसंघर्ष र सर्वहारा अधिनायकत्वको सिद्धान्तप्रति दृढ गौतम २०१० सालमा दाङको कम्युनिष्ट पार्टी स्थापनाको पहलकर्ता एवम् संस्थापक सदस्य हुनुहुन्छ । अहिले उहाँ एमालेसम्बद्ध जेष्ठ कम्युनिष्ट मञ्चको केन्द्रीय सदस्य हुनुहुन्छ । उमेरले ८५ बर्ष पुगिसक्नुभएका घोराही नयाँबजार निवासी गौतमसँग कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित रहेर नौलो जनउभारका सम्पादक अजयदीप शर्माले गर्नुभएको कुराकानी ।

तपाईंको जन्म ?
मेरो जन्म १९८५ भदौमा घोराहीको मसिनामा भएको हो ।

बाल्यकाल कसरी बिताउनुभयो ?
म घरको चार भाइमध्ये जेठो छोरो । बुबाआमालाई सघाउँदै साथीभाइहरुसँग खेल्दै, पढ्दै दुःख, सुख व्यहोर्दै बिताइयो ।

अनि राजनीतिमा कसरी प्रवेश गर्नुभयो नि ?
उतिबेला स्कूल हुँदैनथे, संस्कृत पढ्नुपथ्र्यो । त्यतिबेला अलि जान्नेमान्ने भनेका चिन्तामणि ज्ञवाली, भरतमणिसँग मेरो संगत थियो । उनीहरुले बनारसबाट गान्धीवादी किताबहरु ल्याउँथे । ती किताबहरु पढिन्थ्यो र त्यसले चेतनाको विकास पनि गराउँदै लगेको थियो । त्यस्तै २००२ सालतिर म संस्कृतको परीक्षा दिन काठमाण्डौं गए । त्यसको एक बर्षपछि (२००३) मा बनारस गए । त्यहीबाट अन्य मान्छेहरुसँग साथ, संगत बढ्यो र राजनीति गर्न थालियो ।

तपाईंले राजनीति शुरु गर्दा दाङको राजनीतिक अवस्था कस्तो थियो ?
मैले राजनीति गर्दाखेरि त दाङमा कांग्रेसको बोलवाला थियो । भर्खरै सरकारी स्कूलहरु खुलेका थिए । २००७ सालपछि बिस्तारै मान्छेमा राजनीति चेतना पनि बढ्न थालेको थियो । राणाशासन ढलेको थियो तर कांग्रेसको अत्याचार पनि कम थिएन । उनीहरु लुट्ने, पिट्ने, सताउने र दबाउने गर्थे । शुरुमा त म कांग्रेस भएर लागेको थिएँ तर पछि त्यसको वर्गचरित्र चित्त बुझेन र छाडिदिएँ ।

कसरी प्रवाहित हुनुभयो त कम्युनिष्ट राजनीतिप्रति ?
कम्युनिष्टहरुमा वर्गीय चिन्तन देखियो । वर्गीय हिसाबले सर्वहाराको अधिनायकत्व भयो भने गरिबको मुक्ति हुन्छ र देश समृद्धितिर जान्छ भन्ने लाग्यो र म कम्युनिष्टतिर लागें । त्यतिबेला तौलिहवाबाट भरतपुरमा पढाउन आएका मास्टर चिन्तामणि ज्ञवालीबाट प्रेरित भएर म कम्युनिष्ट भएको हँु ।

तपाईंहरुले दाङको कम्युनिष्ट पार्टीको स्थापना कसरी गर्नुभयो ?
हामी त्यस्तै ४÷५ जना बसेर २०१० सालमा दाङमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थियौं । त्यतिबेलासम्म कम्युनिष्ट पार्टीमाथि लागेको प्रतिबन्ध हटेको थिएन । दाङमा कांग्रेसको चर्को बिगबिगी थियो । हामीले साँझमा लुकेर भरतपुरको स्कूलपछाडि बसेर पार्टीको स्थापना गरेका थियौं । त्यतिबेला काठमाण्डौबाट प्रेमनरसिंह राणा भन्ने मान्छे पार्टी खोल्नका लागि दाङ आएका थिए । पार्टी खोल्दा म, केशवराज गौतम, रामप्रसाद देवकोटा, नारायणप्रसाद शर्मा र चिन्तामणि ज्ञवाली थियौं । त्यतिबेला नारायणप्रसाद शर्मा सचिव बन्नुभएको थियो ।

उतिबेला पार्टीको संगठन कसरी बनाउनु हुन्थ्यो ?
भूमिगतरुपले संगठन बनाउँथ्यौं । उतिबेला खुल्लारुपले किसान संगठनबाट काम हुन्थ्यो । त्यसैमा आबद्ध रहेर बाहिरबाट काम गरिन्थ्यो । रातिमा पार्टीको संगठन बनाउन हिडिन्थ्यो ।

कतिको गाह्रो हुन्थ्यो उतिबेला मान्छेहरुलाई कम्युनिष्ट बनाउन ?
निकै गाह्रो हुन्थ्यो । कम्युनिष्ट भनेका राम्रा मान्छे होइनन्, यिनीहरुले त जातभात, छोरी, बहिनी केही मान्दैनन्, ६० बर्ष पुगेपछि गोली हानेर मार्छन् भन्ने भ्रम समाजमा कांग्रेसबाटै छरिएको थियो । त्यो बेला कम्युनिष्ट भनेपछि छोरी दिनसम्म मान्छे हिच्किचाउने अवस्था थियो । हामी ती भ्रमहरुलाई चिर्दै, कम्युनिष्ट भनेको गरिब, दुःखीको व्यवस्था ल्याउने जनताको पार्टी हो भनेर चेतना दिन्थ्यौं र किसानहरुलाई संगठित गथ्र्यौं ।

त्यतिबेलाका जुझारु कम्युनिष्ट नेता, कार्यकर्ताहरुको नाम लिनुपर्दा ?
शिवराज गौतम, बासुदेव गौतम, वामदेव आचार्य, जीवराज धिताल । रश्मीराज नेपाली, अशोक चौधरी, नारायणप्रसाद शर्मा अरु पनि धेरै छन् नाम थाहा भएन ।

त्यतिबेला तपाईंले गरेका कामहरुको स्मरण गर्नुपर्दा ?
बेलुवाबञ्जाडीमा भएको जमीनकाण्डको किसान आन्दोलन । त्यतिबेला जमिन्दारले किसानबाट जमीन खोस्न लागे । त्यसको खिलापमा किसानहरुबाट रोक्न लगाएबापत जमिन्दारहरुले पुलिस बोलाएर हस्तक्षेप गर्न लगाए । त्यतिबेलै प्रहरीले गोली चलाएर गुम्रा थारुको हत्या गरेको थियो । हामी म, केशवराज, रामप्रसाद देवकोटा र नारायणप्रसाद शर्मालाई पक्रेर घोराही जेलमा हालेको थियो । हामी छ महिना जेल बसेका थियौं । त्यो काण्ड मलाई सम्झना भइराख्छ ।

त्यतिबेला भएका अन्य किसान आन्दोलनहरुमा कत्तिको सरिक बन्नुभयो ?
बेलुवाबञ्जाडीको काण्डभन्दा पहिले गैरागाउँमा ०१२÷१३ सालतिर मोही बेदखलीविरुद्ध गुलरिया र रतनपुरमा भएको किसान आन्दोलनमा सरिक भइयो । त्यतिबेला ढाकु चौधरीले किसान आन्दोलनमा निकै सरिक भएर काम गर्थे ।

घरपरिवारबाट राजनीतिमा सहयोग कत्तिको पाउनुहुन्थ्यो ?
आमाले भन्नुहुन्थ्यो– ‘तिमीहरुले भनेको जस्तो हुँदैन, बेकार दुःख नगर घरको काम गर ।’ मैले हामी लागेको जनताकै पक्षमा हो । एकदिन जनताले सुखको दिन भोग्न पाउनेछन् भनि सम्झाउँथे । त्यसपछि उहाँहरुले म जहाँ जाँदा पनि कुनै रोकटोक गर्नु हुँदैनथ्यो ।

तपाईं त्यतिबेला पार्टी महाधिवेशनमा जानुभयो कि ?
त्यस्तै ०१३/१४ सालतिर हो, पार्टीको दोस्रो महाधिवेशनमा दाङबाट प्रतिनिधि चयन भएर म र मोतिलाल चौधरी गएका थियौं । उतिबेला केशरजङ्ग रायमाझीको विचलित चिन्तनविरुद्ध लड्दै पुष्पलालको गणतन्त्रको लाइनमा हामीले मतदान गरेर आएका थियौं ।

अनि नेत्रलाल अभागीसँग राजनीति गर्नुभएन ?
नेत्रलाल त पछि ०२७/२८ सालदेखि राजनीतिमा आए । उनी भूमिगत भएर राजनीति गर्थे, हामी खुल्ला । उनी मेरो साइनोमा साला पर्र्थे । हामीपछिका सशक्त युवा राजनीतिज्ञ भएकाले उनीलाई अघि बढाउन हामी पुरानाले सहयोग गरेर अघि बढाएका थियौं ।

आफूले गरेको राजनीतिबाट कतिको सन्तुष्ट हुनुभयो ?
कम्युनिष्टले गर्ने राजनीति जटिल हुन्छ । जनताले आफ्ना अधिकारहरु संघर्षबाट मात्र प्राप्त गर्छन् । मागेर होइन अधिकार खोसेर लिनुपर्छ भन्ने कुरा मलाई कम्युनिष्ट भएपछि मात्र थाहा भयो । म कम्युनिष्टको सिद्धान्त ठिक मानेर आन्दोलनमा लागेको मान्छे । कुनै दिन शोषणरहित समाज निर्माण भएर देश र समाज समृद्धितिर अघि बढ्छ भन्ने विश्वास मलाई थियो, त्यसैले आफूले गरेको राजनीतिबाट म सन्तुष्टै थिएँ ।

अहिले तपाईंले भनेको सिद्धान्त अनुसारका कम्युनिष्टहरु चलेको पाउनुहुन्छ त ?
कम्युनिष्ट सिद्धान्तबाट नेताहरु विचलित हुँदै गइरहेका छन् कि जस्तो लाग्छ । मात्रात्मक सुधारको परिवर्तनमा मात्र कम्युनिष्टहरु रमाउन थाले, गुणात्मक वा आमूल परिवर्तनको रणनीतिलाई जोड दिन छाडे, त्यही हो सिद्धान्तमा विचलन भनेको ।

अहिले आएको गणतन्त्रलाई के परिवर्तन भन्ने मात्रमा परिवर्तन कि गुणमा ?
हेर्नुस्, नेपालमा वास्तवमा क्रान्ति नै भएको छैन । जति भएका छन् तस् मात्रा र सुधारका क्रान्ति मात्र भएका छन् र ती सम्झौतामा गएर टुङ्गिएका छन् । यो गणतन्त्र एउटा परिवर्तन त हो त्यो सुधारात्मकमात्र हो । राजनीतिकरुपमा राजा ढल्यो तर राजाका उहिलेका आर्थिक संरचनाहरु उस्तै छन् । खै त ती खोसिएका ? सामन्ती युग ढल्दा त त्यसका सबै आधारहरु मेटिनुप¥यो नि । खै त ती संरचनाहरुलाई राष्ट्रियकरण गरि पूँजीवादको विकासमा लगाएको ?

नेपालमा चलेको जनयुद्धलाई यहाँले कसरी लिनुहुन्छ त ?
माओवादीले कम्युनिष्टको वर्गसंघर्षको सिद्धान्तलाई त प्रयोग गरे तर जनवादी सत्ता हासिल हुन सकेन । आखिरमा १२ बुँदेमा प्रवेश गर्नुप¥यो । माओवादीले जनयुद्ध नगरेको भए राजाले पनि घुँडा टेक्ने थिएन होला । यो गणतन्त्र संस्थागत हुन सक्यो र जनताको संविधान बन्यो भने जनयुद्ध गरेको पनि उपलब्धि भयो नत्र उपलब्धीविहीन हुनेछ ।

नेपालमा कम्युनिष्टहरु धेरै भएर पनि किन एक हुन नसकेका होलान् ?
यो वर्गीय समाजको छाप हो । जबसम्म वर्ग रहन्छ त्यो चलिरहन्छ द्वन्द्व, फुट, जुट चलिराख्छ । कुरा मिल्दैन फुट्छन् कुनै परिस्थिति बन्छ फेरि जुट्छन् । नीति र व्यवहारले मिलाउने हो । कुनै बेला मिल्छन् पनि र फुट्छन् पनि यो चलिरहन्छ । आगोले सेक्छ पनि पोल्छ पनि, त्यस्तै हो । तर मैले अहिले के देख्छु भने कुनै पनि कम्युनिष्ट पार्टीहरुमा नीति र विचारको बाहुल्यता देख्दैन । व्यक्ति, पद र प्रतिष्ठाको लडाई हुन्छ । त्यो कम्युनिष्ट पार्टीमा राम्रो होइन ।

आजभोलि राजनीतिमा कत्तिको रुचि राख्नुहुन्छ ?
सक्रिय हुन सकिन्न तर आत्माले भने चासो लिन्छ । व्यवहार, राजनीति सबैको चासोको कुरा हुन्छ, मैले झन रुचि किन नलिने ?

अहिले देशको अवस्था देख्दा कस्तो लाग्छ ?
दिक्क त लाग्छ । तर यो भोग्नैपर्ने समाजको अनिवार्य प्रकृया हो । निकास चाहि अनिवार्य हुन्छ ।

राजनीति बिग्रदै जानुमा को दोषी देख्नुहुन्छ ?
दलहरु सबै छन् । गणतन्त्र आयो त्यसलाई संस्थागत गर्न र संविधान बनाउन छाडेर नेतृत्वको हानथापले गर्दा यस्तो भएको हो । सबैमा आ–आफ्नै स्वार्थले काम गरिरहेको छ । देशको भन्दा व्यक्तिगत आकांक्षा बढी देखिन्छ । पहिला व्यक्ति स्वार्थ, त्यसपछि पार्टी स्वार्थ र त्यपछि मात्र राष्ट्रलाई राखेर उनीहरु राजनीति गरिरहेका छन् । कुनै पनि पार्टी नीतिगत, पारदर्शी र अनुशासित भएर चलेको देखिदैन ।

राजनीतिमा लाग्दा केही खुसी प्राप्त गरेको क्षण ?
हरेक समस्याहरु समाधान भएपछि खुसी हुने कुरा भइहाल्यो । गणतन्त्र आएपछि खुसी लाग्यो । अब सबै बामपन्थीहरु मिलेर दुई तिहाइ मत ल्याएर अघि बढे राम्रो हुन्थ्यो र देश समृद्धितिर छिट्टै अघि बढ्थ्यो होला भन्ने मनमा लागि राख्छ ।

तपाईलाई भेट्न कोही नेता आउँछन् कि आउँदैनन् ?
आउँछन् । दाङ आएका बेला मोहनविक्रम सिंह, मोहन वैद्य, शंकर पोख्रेल आएर भेटघाट गर्छन्, कुराकानी गर्छन् ।

आफू बाँच्दासम्म देशमा के होस् भन्ने चाहना छ ?
गणतन्त्र संस्थागत होस्, जनताको संविधान बनोस्, त्यो देख्न पाएपछि राम्रो हुन्थ्यो भन्ने लागेको छ ।

प्रकाशन मिति : २०६९ मंसिर २४ गते आइतबार

One Comment

  • Mohan Khadka , Nepalganj@hal:-portugal

    तर यो भोग्नैपर्ने समाजको अनिवार्य प्रकृया..?

Leave a Reply

Your email address will not be published. Required fields are marked *