जैविक विविधता संरक्षणको महत्व

  
  प्रकाशित मितिः आइतवार, पुस २२, २०६९       | 1255 Views   ||

Ganesh oli w-गणेश ओली

पृथ्वीमा अनेक सजीव र निर्जिव वस्तुहरु पाइन्छन् । यी सबैको संगम नै पृथ्वीको सौन्दर्य हो । यी सबै एकको अस्तित्वका लागि अर्काको आवश्यकता छ । त्यसमा पनि सजीवहरु त एकबिना अर्काको अस्तित्व समाप्त भएर जान्छ । यही अस्तित्व जोगाउन जैविक विविधताको संरक्षण गर्न जरुरी छ ।

मानिस एक सचेत प्राणी हो । जैविक विविधताको संरक्षण वा विनास के गर्ने भन्ने पनि मानिसमा निर्भर छ । जैविक विविधताको ज्ञान नहुँदा मानिसले जीवजनावर र बोटबिरुवाको विनास गर्ने गरेको छ । यसले. मानव जीवनलाई पनि संकटमा पारिरहेको छ भन्ने कुराको ज्ञान थोरै मानिसमा रहेको छ । तसर्थ यसको बारेमा सबैलाई जानकारी दिनु, चेतना जगाउनु आज एक अपरिहार्य आवश्यकता बनेको छ ।

मानिसहरु आफ्ना सन्ततिको सुखका लागि धन पैसा जम्मा गर्दछन् । अनेक चिन्ता लिन्छन् तर पृथ्वी नै नरहे, यहाँको जैविक विविधता नरहे धन पैसाको काम छैन भन्ने कुरा बुझ्न सक्दैनन् । सबै जीवजनावर, बोटबिरुवा नभए पृथ्वीमा जीवको अस्तित्व नै समाप्त भएर जान्छ र सबै जीव नरहे मानिस पनि रहँदैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।

के हो जैविक विविधता ?

पृथ्वीमा रहेका जीवित प्राणी र वनस्पतिहरुको विविधता नै जैविक विविधता हो । यसअन्तर्गत अनुवंशिक विविधता, प्रजातिगत विविधता, स्थानगत विविधता पर्दछन् । अर्थात् तापक्रमअनुसार, स्थानअनुसार, जातिप्रजातिअनुसार, अनुवंश अनुसार बोटबिरुवा, प्राणी फरक–फरक हुन्छन् । यही विविधताले पृथ्वी भरिएको छ । यही विविधताले जीवजनावर र बोटबिरुवाको अस्तित्व रहेको छ र मानिस पनि एक प्राणी भएकाले यसको पनि अस्तित्व यसैमा निर्भर छ । प्राणी र वनस्पतिको पृथ्वीको उत्पत्तिदेखिकै यही अन्तरसम्बन्धले गर्दा प्रकृतिमा सन्तुलन कायम रहेको छ । कुनै एक प्राणी वा वनस्पतिको नासले यो सन्तुलन खल्बलिन गई सम्पूर्ण प्राणी र वनस्पतिको विनास हुने खतरा रहन्छ । सानो ब्याक्टेरियादेखि ह्वेल माछासम्मको एक–अर्काबीच अन्तरसम्बन्ध रहेको छ । त्यसैगरी पानीमा पाइने साना बोटबिरुवादेखि मानिस र जमीनमा पाइने अनेक जीवजनावरको बीचमा पनि अन्तरसम्बन्ध हुन्छ । कुनै निश्चित स्थानको जैविक विविधता भन्नाले उक्त स्थानको प्रतिइकाइ क्षेत्रफलमा रहेका सम्पूर्ण जीवजन्तु, बोटबिरुवा तथा सुक्ष्म जीवहरुलाई बुझाउँछ ।

जैविक विविधता संरक्षण कसरी गर्ने ?

मानवको संख्यात्मक वृद्धि सँगसँगै जैविक विविधता पनि संकटमा पर्दै गएको छ । मानिसले जथाभाबी जंगल फडानी गर्दा, जमीन र पानीमा पाइने जीवजनावरको हत्या गर्दा जैविक विविधतामा असन्तुलन आएको छ । बढ्दो शहरीकरण र औद्योगिकरणले पृथ्वीको तापक्रममा वृिद्ध भई जैविक विविधतामा असर परेको छ । त्यसैगरी जलवायु परिवर्तनले पनि यसमा प्रभाव पारेको छ । त्यसकारण पृथ्वीमा पाइने सम्पूर्ण वनस्पति र जीवजनावरको रक्षा गर्नु नै जैविक विविधता संरक्षण गर्नु हो । जलवायु परिवर्तन हुने ग्याँस उत्सर्जन कम गरी हरित गृह ग्याँसको वृद्धि गर्दा जैविक विविधता संरक्षणमा सहयोग पुग्दछ । सञ्चार माध्यमहरुले चेतनामूलक सन्देश प्रवाह तथा विद्यालयमा यससम्बन्धी अध्ययन अध्यापन गर्न पनि थालिएको छ । गाउँघरमा वा शहर बजारमा जैविक विविधताको महत्व र यसको संरक्षणका लागि आफुले जानेका कुरा गर्नु र पहल थाल्नुपर्ने हुन्छ । हामीले गरेको सानो पहल, सन्देश वा कुराले पनि जैविक विविधता संरक्षणमा ठूलो सहयोग पुग्दछ ।

जैविक विविधता ह्रासको अवस्था 

पछिल्लो समयमा वनविनास, जलवायु परिवर्तन र मानव अतिक्रमणका कारणले जैविक विविधतामा ह्रास आउन थालेपछि विश्वभरि नै यस बारेमा चासो र चिन्ता व्यक्त हुन थालेको छ । पछिल्लो समयमा जैविक विविधताको अध्ययन र जगेर्नाका लागि यस्ता अध्ययनहरु हुने गरेका छन् । नेपालमा पनि पछिल्लो समयमा चराचुरुङ्गी, वन्यजन्तु, पानी तथा जमीनमा बस्ने जीव तथा बोटबिरुवाहरु हराउँदै जान थालेकाले उनीहरुको तथ्याङ्क संकलन गर्ने उद्देश्यसहित यस्तो अध्ययन थालिएको छ ।

विश्वमा गरिएको अवशेष अभिलेखीकरण अध्ययनअनुसार ढुंगे युगदेखि हालसम्म जैविक विविधताको ह्रास एक सयदेखि दश हजार गुणा रहेको छ । जनसंख्या वृद्धि र यसको अतिक्रमण अहिलेकै अनुपातमा रहेमा आउँदो एक सय बर्षभित्र पृथ्वीबाट सम्पूर्ण जीवहरु लोप भएर जाने जीव वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

जैविक विविधता संरक्षणको महत्व

जैविक विविधताको संरक्षण गर्न सके सर्वप्रथम त पृथ्वीको आयुका साथै सम्पूर्ण जीव र वनस्पतिको आयु पनि बढ्छ । जसका कारण मानव अस्तित्व लामो समयसम्म रहिरहन्छ । त्यतिमात्रै हैन मानिसहरुले कृषि उत्पादनमा वृद्धि गर्ने, मानव स्वास्थ्य राम्रो हुने, कृषि तथा व्यापारमा समेत सहयोग पुग्दछ । यदि प्रकृतिमा जीवजन्तुको ह्रास भयो भने परिस्थितिक प्रणालीमा असर पर्दछ भने मानव स्वास्थ्यलाई काम लाग्ने जीवजन्तु र बोटबिरुवाको ह्रासले नयाँ–नयाँ रोग लाग्ने खतरा बढेको प्राकृतिक वैज्ञानिकहरुको भनाइ छ । त्यसैगरी प्रकृतिमा उपलब्ध हुने बोटबिरुवा तथा जीवजन्तुको ह्रास भयो भने कच्चा पदार्थ समाप्त भएर विश्वव्यापारमा नै असर पर्ने पनि बताइएको छ ।

अब सबैले आ–आफ्नो गाउँ ठाउँमा रहेका जमीन वा पानीमा बस्ने जीवजनावर, पशुपंक्षी, चराचुरुङ्गीको अभिलेख राखी जैविक विविधताको संरक्षणमा सहयोग पुर्याउन सकिन्छ । विगतमा जिल्लामा रहेका जीवजनावर, चराचुरुङ्गी कति लोप भए वा कति नयाँ थपिए भन्ने अध्ययन नहुँदा हाल विश्वमा जैविक विविधताको अवस्थाबारे जानकारी हुन सकेको छैन । अहिले अभिलेख राखे आउँदा दिनमा यसको तुलनात्मक अध्ययन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *