‘म तसलिमा नसरीन बन्न सक्दिन’

  
  प्रकाशित मितिः आइतवार, पुस २२, २०६९       | 146 Views   ||

Amar Neupane_dang-[उदय जीएम]

दाङ । मदन पुरस्कारप्राप्त उपन्यास ‘सेतो धरती’का लेखक अमर न्यौपाने शनिबार मदानी साहित्य समूह, नेपालको मञ्चमा देखिए । सुख र दुःखको दोभाननेर उभिएको मान्छेजस्तै मुद्रामा उपस्थित साहित्यकार न्यौपानेले भने, ‘सेतो धरती’मा कोही पनि खलपात्र छैन । खलपात्र केही छ भने त्यो ब्राम्हणवादी संस्कार हो तर आपत्ति आयो अरु समुदायबाट ।’

‘त्यो इतिहासको कुरा हो । कसैलाई हेपेको/होच्याएको केही होइन’, मदन पुरस्कार पाउँदा खुशी र हर्षित भएका अमरले खिन्नता व्यक्त गरे, ‘इतिहासको कुरा लेख्दा हातखुट्टा भाँच्नेसम्मको धम्की आयो । आफ्नै पुख्र्यौली थलो पोखरामा आयोजना गरिएको कार्यक्रममा जान सकिनँ । पात्रहरु कुनै जाति, कुनै धर्म, कुनै क्षेत्र, कुनै समुदायसँग जोडिएका हुने र चरित्रचित्रण गर्दा स्वभाविकरुपमा राम्रा र नराम्रा पक्षहरु आउनु स्वाभाविक छ ।’ उनले ‘घर्ती’हरुलाई सकारात्मक पात्रको रुपमा उभ्याएको दावीसाथ भने, ‘घर्तीहरुलाई ‘डोले’, ‘काखी गन्हाउने’ र ‘पुट्ठा’ चिमोट्ने किन भनियो भनेर आपत्ति आयो । इतिहासका कुरालाई आपत्ति गरिनु ठिक भएन ।’

amar_neupane 1अमर न्यौपानेले बनाएको ‘सेतो धरती’को एउटा टुक्रा जलेको छ नि ? सहभागीको यस्तो प्रश्नमा अमरले दुःखित हुँदै भने, ‘म तसलिमा नसरीन बन्न सक्दैन । निर्वासन भोग्न सक्दैन । उहाँहरुलाई आपत्ति छ भने उपन्यासका केही शव्द ‘सेलेक्ट’ अनि ‘डिलिट’ गर्न तयार छु । तर घाटा उहाँहरुलाई नै लाग्नेछ । उहाँहरुले आफ्नो इतिहास कहाँ खोज्ने ?’ त्यसोभए उपन्यासकार न्यौपाने ‘सेतो धरती’को आगामी संस्करणमा के गर्दैछन् त ? उनले भने, ‘यो विषय यतिबेला सुनसान भएको छ । उहाँहरुले आपत्ति जनाएका शव्दहरु आगामी संस्करणका लागि मैले हटाइसकेको छु । मलाई थाहा छ, उहाँहरुले कुरो बुझ्नुभयो भने ती शव्दहरु आफै नै उपन्यासमा राख्न आग्रह गर्नुहुनेछ ।’

गरिमामयी मदन पुरस्कार हात पार्न सफल अमर न्यौपानेको सफलता–कथा सुन्न सदरमुकाम घोराहीस्थित राप्ती शिक्षा क्याम्पसको सभाहलमा साहित्यकार, साहित्यानुरागीहरुको उत्सुक भीड निकै बढेको थियो । साहित्यकार अमर न्यौपानेले पनि खुलेरै आफ्नो रचना प्रक्रिया, सेतो धरतीको रचनागर्भ, पहिलो कृति ‘पानीको घाम’को रचना प्रक्रिया तथा लेखनी के हो भन्ने विषयमा मनै खोलेर आफ्ना धारणा राखेका थिए ।

‘किताब पढेर निक्लेको दर्शनभन्दा जीवन निचोरेर निकालेको दर्शन कता हो कता सत्य हुँदोरहेछ’, बालबालिका, बृद्धबृद्धा, रिक्सावाला, पानपसलेहरुबाटै आफूले धेरै सिकेको बताउँदै अमरले भने, ‘मेरा रचनाहरु पनि वास्तविक जीवन–भोगाइहरुसँग साक्षात्कार गरेरै लेखिएका छन् ।’ अमरले आफू विपश्यना जाँदा बेचैन भएको सुनाउँदै थपे, ‘वास्तवमा विपश्यना भनेको कर्म रहेछ । मोक्ष वा चरम आनन्द प्राप्त गर्ने फरक–फरक बाटाहरु हुँदारहेछन् । बुद्धले ज्ञान प्राप्त गर्ने तर अब कोही पनि बुद्ध बन्न सक्दैन । जोकोही बुद्धको शिष्यमात्र हुने हो । मलाई चाहिँ रचना लेखिसकेपछि सबैभन्दा चरम आनन्दको अनुभूति भयो ।’

amar_neupaneबाबु घरमा नभएको बेलामा आमाले ‘गौरी’ काव्य कण्ठस्थ सुनाएको स्मरण गर्दै अमरले आफ्नो लेखनयात्रा कोट्याए, ‘आमाले गौरी सुनाइरहँदा आफू चाहिँ धुरुधुरु रोइरहेको हुन्थें । त्यहींबाटै ममा करुणा जाग्यो होला ।’ चितवनमा ‘मालती–मङ्गले’ नाटक प्रदर्शन हुँदा आफू पनि हेर्न जाने जिद्धी गरेको तर बाबुले जान नदिएपछि रोएर बसेको स्मरण गर्दै अमरले थपे, ‘नाटक हेरेर फर्किँदा बाले ‘मालती–मङ्गले’ किताब पनि लिएर आउनु भो । अनि मैले त्यो बेसरी पढें । अनि नाटक हेर्न जानुभएका बाभन्दा मैले धेरै देखेको अनुभूति भयो ।’ त्यही क्रममा अमरले ‘गौरी’को नक्कल गर्दै एउटा दुखान्त उपन्यास लेखेको सुनाउन बिर्सेनन् । लेखनयात्राका क्रममा अमरले गुरुप्रसाद मैनालीको ‘नासो’, वीपी कोइरालाको ‘चन्द्रवदन’को पनि नक्कल गरेर आफूले रचना लेखेको तर तिनको प्रकाशन अझैं नगरेको बताए । यी अनुभवहरु सुनाइरहँदा आफूअघि ‘सेतो धरती’को समीक्षा गर्नुहुने प्राज्ञ उत्तमकृष्ण मजगैंया र साहित्यकार तथा प्राध्यापक नारायण नेपाललाई बारम्बार सोधिरहे, यो कपी हुन्छ कि हुँदैन ? यसो गर्नु राम्रो हो कि होइन ? रचना चोरेको ठहर्छ कि ठहर्दैन ? इत्यादि ।

मदानी साहित्य समूह, नेपालका डिल्ली मल्लले समीक्षकद्वय उत्तमकृष्ण न्यौपाने र नारायण नेपाल तथा कार्यक्रमका मुख्य आकर्षण अमर न्यौपानेलाई मञ्चमा उभ्याएका थिए । समूहले यसअघि नयनराज पाण्डेको ‘लू’, रमेश क्षितिजका कविताहरु, ‘जनगायक जीवन शर्मा र उनको गीतियात्रा’, ‘रेडियो छाप सलाई र डियर कल्याण’ लगायतका चर्चित कार्यक्रमहरु गरिसकेको छ । आगामी पुस १४ गते रमेश क्षितिजको पुस्तक ‘घर फर्किरहेको मानिस’ कविता संग्रह र माघ ६ गते शारदा शर्माको ‘ताप’ उपन्यासबारे स्वयं लेखकहरुसँग छलफल हुने बताइएको छ ।

प्रकाशन मिति : २०६९ पुस १ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *