वर्षौदेखि उपेक्षामा परेका नाकाबासी भन्छन्– ‘जनयुद्धले देश चिन्न सिकायो’

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 138 Views   ||

nakabasi1-[नरेन्द्र केसी]
भौवानाका (दाङ) । दाङको नाका क्षेत्रमा बस्ती बसेको पाँच दशक भए पनि पछिल्लो दशकमा आएर मात्र उनीहरुका समस्या उजागर हुन थालेका छन् । त्यसको महत्वपूर्ण कारण उनीहरुले दश बर्षे जनयुद्धलाई मान्ने गरेका छन् । नाकाबासी भन्छन्– ‘जनयुद्धले हामीलाई देश चिन्न सिकायो, कर्री आन्दोलनपछि देशले हामीलाई खोज्न थाल्यो ।’ पछिल्लो समयमा बस्ती नै छाडेर लमहीस्थित कर्री सामुदायिक वनमा आएर गरेको आन्दोलनलाई नाकाबासीहरु कर्री आन्दोलन भन्ने गर्छन् ।

२०२९ सालदेखि नाका क्षेत्रमा बस्ती बसे पनि त्यस क्षेत्रमा खासै राजनीतिक र सामाजिक गतिविधि हुने गरेका थिएनन् तर अहिले भने राजनीतिक र सामाजिक गतिविधिका हिसाबले नाका क्षेत्रहरु ह्वात्तै माथि उठेका छन् । ‘चुनाव आउँदा विभिन्न दलका नेताहरु आउँथे, हामी नाकाबासीलाई भोट बैंक ठान्थे र कहिले कुनै त कहिले कुनै दलका नेतालाई भोट दिनुबाहेक यहाँ कुनै राजनीतिक चेतना थिएन’– नाकाक्षेत्रमा पुराना राजनीतिकर्मी एवं समाजसेवी श्यामबहादुर झाँक्री भन्नुहुन्छ– ‘तर एक दशकसम्म चलेको जनयुद्धले हामीलाई पनि राजनीतिप्रति सचेत र जागरुक बनाएको छ, देशभित्रै बसेर पनि देशको अनुभूति गर्न नपाएका हामी नाकाबासीलाई आफ्नो अधिकार खोज्न सिकाएको छ, जनयुद्धले हामीलाई देश खोज्न सिकाएको छ ।’

उहाँका अनुसार जनयुद्ध शुरु हुनुअघि नाकाक्षेत्रमा खासै राजनीतिक गतिविधि हुने गरेका थिएनन् भने दलका नेताहरुले पुग्ने गरेका थिएनन् । ‘चुनाव आउँदा नेताहरु आक्कलझुक्कल आउँथे तर यहाँ बसेर जनतालाई राजनीतिमा सहभागी गराउनेतिर उनीहरुले सोच्दैनथे’– एमाओवादी राजपुर गाउँ समिति सचिवसमेत रहनुभएका झाँक्री भन्नुहुन्छ– ‘जनयुद्धको क्रममा जिल्लादेखि केन्द्रीयस्तरमा नेताहरु लामो समयसम्म यही बसे र यहाँका बासिन्दालाई पनि राजनीतिक गतिविधिमा सहभागी गराउन थालेपछि नाका क्षेत्रको चेतनास्तर निकै माथि उठेको छ ।’

जनयुद्धले सिकाएको ‘अधिकार पाउन संघर्ष गर्नुपर्छ’ भन्ने मान्यतालाई आत्मसात गर्दै आफूहरुले तीन बर्षअघि गरेको आन्दोलनले नै नाका क्षेत्रमा पनि नागरिक बस्दा रहेछन् भन्ने कुराको खोजी गर्न राज्यलाई बाध्य पारेको नाकाबासीको भनाइ छ । ‘हामीले भारतीय ज्यादति र अत्याचार सहेर भए पनि सिमानाको रक्षा ग¥यौं तर राज्यले भने हामीलाई आफ्नै नागरिकको जस्तो व्यवहार नगर्ने स्थितिले हामी निकै पीडित थियौं’– राजपुर–९ भौवानाकाका समाजसेवी प्रेमलाल बुढा भन्नुहुन्छ– ‘हामीले वस्ती छाडेर राजमार्ग क्षेत्रमा आन्दोलन चर्काएपछि बल्ल राज्यले यहाँसम्म पनि नेपाल रहेछ र यहाँ पनि नागरिक बस्दारहेछन् भन्ने थाहा पायो, यहाँ सेवा सुविधा दिन त धेरै बाँकी छ तर केही हदसम्म राज्यको ध्यानाकर्षण भने भएको छ ।’

नाकाबासीले गरेको आन्दोलनललगत्तै १२ जना सभासदको टोलीले नाका क्षेत्रको अध्ययन ग¥यो र जिल्लाबाट सर्वपक्षीय टोलीले अध्ययन गरी नाका क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता पूरा गर्न भने राज्य चुकेको सीमाबासीको गुनासो छ । यद्यपि केही नहुनुभन्दा … भनेझैं सानो तिनो विकास भने देख्न पाइएको नाकाबासीहरु बताउँछन् । आफूहरुको आन्दोलनपछि झण्डै साढे दुई करोडको खानेपानी आयोजना आएको, अस्थायी उपस्वास्थ्य चौकी आएको र कहिलेकाही मात्र भए पनि सरकारी कार्यालयबाट प्रतिनिधि आउने गरेको खानेपानी समितिका अध्यक्ष प्रेमलाल बुढाको भनाइ छ ।

विकासप्रतिको जागरुकता र राजनीतिक चेतना मात्र होइन सामाजिक रुपान्तरणको दिशामा पनि नाकाबासीहरु सक्रिय भएर लाग्ने गरेको स्थानीय समाज सुधार युवा क्लवका अध्यक्ष शान्तकुमार बुढाको भनाइ छ । ‘भारतसँग जोडिएकाले सबै भारतीय संस्कृतिको प्रभाव होला भन्ने धेरैलाई लाग्दो हो तर हामीले सामाजिक–सांस्कृतिकरुपमा भारतीय संस्कृतिको प्रभाव पर्न नदिन, आफ्नै भाषा संस्कृतिको रक्षा गर्न र हाम्रो समाजलाई सभ्य बनाउन सकेजति प्रयास गरेका छौं ।’

नाकाबासीका हरेक सामाजिक सांस्कृतिक कार्यक्रममा राजनीतिक चेतनाको प्रभाव भने प्रष्ट झल्किन्छ । जुनसुकै सामाजिक संस्थाको तर्फबाट बोल्दा पनि ‘क्रान्तिकारी अभिवादन, देश र दुनियाँको मुक्ति …’. जस्ता शब्दहरु अधिकांशले प्रयोग गर्ने गर्दछन् । त्यसो त सक्रिय भएर राजनीतिक गतिविधिमा लाग्नेहरुको संख्या पनि बढिरहेको स्थानीय नेताहरु बताउँछन् । ‘राजनीतिले नाकाबासीलाई केही नदिए पनि पहिचान दिएको छ र अधिकारप्रति जागरुक भएर लड्न सिकाएको छ’– लामो समय नाका क्षेत्रमा बसेर राजनीति गर्नुभएका शिखर खड्का भन्नुहुन्छ– ‘त्यसैले होला अहिले नाका क्षेत्रबाट एमाओवादीको पार्टी सदस्यता लिएर सक्रिय राजनीतिमा चासो देखाउनेहरुको संख्या १ सय २ जना पुगेको छ, यो संख्या बढिरहेको छ ।’

प्रकाशित मिति : २०६९ पुस १ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *