हेडफोनको संगीत

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 138 Views   ||

Madhav Dhungel-1-[माधव ढुङ्गेल]

एउटा अन्तर्वार्ता पढेको थिएँ । सइद मिर्जाको वार्ता थियो । उनी भारतीय नागरिक हुन् र पेसाले चलचित्र निर्देशन गर्छन् । टेलिभिजन च्यानलको चर्चा गर्दै उनले वार्तामा भनेका छन्– इन्डियालाई एउटा प्रोपोगान्डा चाहिन्छ । कुनै न कुनै हङ्गामा चाहिन्छ । कहिले मिलेनियर, कहिले वल्र्ड कप, कहिले इन्डियन आइडल वा कौन बनेगा करोडपति ? एउटा न एउटा प्रोपोगान्डामा मान्छेलाई भुलाउन सक्नु पर्छ, अन्यथा उनीहरुले सोच्न थाल्नेछन् ।

सिनामङ्गलमा एउटा विमानस्थल छ । त्यसले करिब एक हजार युवालाई एकै दिनमा विदेश पठाउँछ र उताबाट मोबाइल ल्याउँछ । अर्काथरी युवा छन् नेपालमा जो सङ्गीतविना बाँच्न सक्दैनन् । देशी सङ्गीत विदेशी धुनमा सदासर्वदा झुमिरहन्छन् । कक्षामा सङ्गीत, कोठामा सङ्गीत, बाटामा, पुलमा, ओछ्यानमा सङ्गीत । सङ्गीतका तालमा चल्न पाउँदा बाटो काटेको पत्तो हुँदैन, बाउले हकारेको याद हुँदैन । कानमा सङ्गीत र पछाडि तरुनी भएपछि मोटरसाइकले वेग हान्छ । बाटो भत्किएको किन नहोस्, नागबेली तालमा बग्न थाल्छ । जिन्दगीको के भर छ र, सधैँ बाँच्न जन्मेको काँ हो र ? यसरी सुनेर सङ्गीतका धुनहरु कति युवायुवती कलाकार बने, नेपाल देशसँग तथ्याङ्क छैन । कति तन्नेरीले मनोरन्जन पाए ? युवा मन्त्रालयसँग अभिलेख छैन ।

आखिर मनोरञ्जन कति चाहिन्छ मान्छेलाई ? कसैले कुनै दिन विधान सुनायो– आठ घन्टा काम, आठ घन्टा आराम, आठ घन्टा बाँकी मनोरञ्जन । म देखिरहेछु, युग बदल्ने युवा पुस्ता यस विधानभित्र परेको छैन । म अब फर्किन सक्दिनँ । युवा हुन म सक्दिनँ । जीवन जो बित्यो सो बित्यो । बैँस फर्काउन सक्दिनँ, उमेर फर्काउन सक्दिनँ, उत्साह फर्काउन, रहर फर्काउन, स्वतन्त्रता फर्काउन सक्दिनँ । अब कसै कसै गरे पनि समय फर्काउन सक्दिनँ । युवाहरुमाथि विश्वास गर्न सक्छु, भरोसा गर्न सक्छु तर युवा हुन म सक्दिनँ । सोच्नुपर्ने युवाले हो, गर्नुपर्ने युवाले हो, सिक्नुपर्ने, बनाउनुपर्ने, सपना देख्नुपर्ने युवाले हो । तर युवाका आँखा जब टेलिभिजनको स्क्रिनमा देख्छु । कानमा हेडफोन झुन्डिएको देख्छु । सोच्नुपर्ने, योजना बनाउनुपर्ने उर्वर मस्तिष्क मनपरी सङ्गीतको छाडा तालमा लट्ठिएको देख्छु । मलाई दया लाग्छ । म दया नै त गर्न सक्छु, त्यसभन्दा पर मेरो औकात छैन ।

headphoneमान्छेहरु मलाई खैनी खायो भनेर झोक फेर्छन् । खैनी नै त खाएँ के बिराएँ ? दुव्र्यसनी के हो र ? लागुऔषधको दुव्र्यसनी । एउटा लट्ठ न हो जिन्दगीको । सपना सक्रिय विपना विलीन । ड्रग्समा लाग्यो भनेर त्यत्रो चिन्ता लिने मातापिता सङ्गीतको मातलाई मात देख्दैनन् । झुमेर हिँडेका छोराछोरीलाई बाटामा देख्छन्, केही भन्दैनन् । उनीहरु फुलेल छन्, प्रशन्न छन्– सन्तानले हालसम्म ड्रग्स लिएनन् । ड्रग्स बैठक कोठाको स्क्रिनमा छ, बुढ्यौली आँखाले देख्दैन । ड्रग्स आफ्नै अगाडि कानमा झुण्डिन्छ नसुन्ने कानले देख्दैन । यी सबै मान्छेलाई बुद्धु बनाएर, सबैलाई ऐयासी विलासी बनाएर कसले शासन टिकाउन खोजेको होला ? युवायुवतीलाई निस्तेज बनाएर कसले बचायो होला आफ्नो फाइदा ?

रक्सी वा ड्रग्सले मात्नु, चौबिसै घन्टा निदाउनु र अल्छी सपना देख्नु अथवा हरबखत कानमा हेडफोन घुसारेर सोच्न छाडेर झुम्न थाल्नु । के फरक छ यी कामहरुमा ? सबैले दिमागलाई लाटो बनाउँछन्, कान नसुन्ने भुत्तो बनाउँछन् । आँखा नदेख्ने बेकार बनाउँछन् ।

निदाए पनि बाँच्नलाई खानैपर्छ । झुमे पनि, माते पनि संसार भुलेर तरङ्गिए पनि अन्ततः बाँच्नलाई खानैपर्छ, लाउनैपर्छ । टिभी हेरेर बाँचिन्न, यसले त झन् भोक जगाउँछ, तिर्सना बढाउँछ । ऋण गरेर भए पनि किन्न लगाउँछ । अनि किन्छौँ हामीले कसका कुरा ? नाफा कमाउने को ? पैसा कसको हातमा पुग्ला ? हरिकङ्गाल बन्दै नाङ्गिने को ?

‘अँध्यारोमा एक काँटी सलाई : जीवनमा विज्ञान’ भन्ने पुस्तक छ । दयानन्द वज्राचार्यले लेखेका हुन् । प्रा. डा. वज्राचार्य नेपालका वरिष्ठ वैज्ञानिक हुन् । घतलाग्दो कुरा लेखेका छन्– सबभन्दा गरिब ४८ देशको कुल गार्हस्थ उत्पादनभन्दा सबभन्दा धनी तीन व्यक्तिको व्यक्तिगत सम्पत्ति बढी छ । ९८ प्रतिशत पेटेन्ट राइट विकसित मुलुकको पोल्टामा छ । चार अरबभन्दा बढी मान्छे चरम गरिबीमा बाँचिरहेछन् । एक अरब मानिस बेरोजगार छन्, खान नपाएर भोकै बाँच्छन् ।

एउटा पागलले भन्थ्यो– मोबाइलको भाउ घटेको प्रविधिको विकासले होइन, न त बृहत् उत्पादनले हो । कुनै दिन विज्ञापन यस्तो आउने छ– विद्यार्थीले किन्दा मोबाइल फ्री । कारण प्रस्ट छ– विद्यार्थीलाई मोबाइल किनाऊ, अझ त्यसमा टेलिभिजन जोड र आफ्ना उत्पादनको विज्ञापन गर, विदेशी भाषाका गीत भर, फिल्म देखाऊ, सांस्कृतिक हिसाबले दास बनाऊ । चटक देखाऊ र पढ्ने उमेरमा अन्त भुलाऊ । जो तिम्रो ड्रग्समा फस्न चाहेनन्, तिनका लागि इडिभीको चिट्ठा खोल र मजदुर बनाउनलाई आफैतिर तान । त्यसपछि के हुन्छ नेपाल जस्तो देशसँग ? बाँकी बस्छन् बेकारका लट्ठकहरु । कि त तिनलाई सामान बेच कि त तिनलाई दास बनाऊ । चित्त के बुझ्ला त्यतिले मात्रै ? हतियार बेच र युद्ध गराऊ ।

भोलि त्यही युद्ध लड्नका लागि हामी प्राभ्यासमा जुटिरहेछौँ, कसैले आकर्षक मोहनी रङ फिँजाएर हामीलाई जुटाइरहेछन् । कानमा एयरफोन घुसारेर, टेलिभिजन आँखामा टाँसेर हामीले नसोच्ने कसम खाएका छौँ । जबसम्म म एक्लो हुन्छु, रिस जति नै उठे पनि, दया जति नै पलाए पनि न कसैको टिभी फोर्न सक्छु, न कसैको हेडफोन थुत्न सक्छु ।

प्रकाशित मिति : २०६९ पुस १ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *