लुटिदै एक–एक गरि
थुतिदै पल–पलभरि
सिन्कोजस्तै
साँघुरो सपना लिएर
सुइयोझैं निखारिएको
अमिलो कल्पना बाटेर
एक हुल मालचरी
मुटु पिठ्यूँमा बोक्दै
आस्था पाउमुनि कुल्चदै
उडे, उडाइए र उडिरहे
भुर्रर्र भुर्रर्र, क¥याङकुरुङ
विक्षिप्त योजना कुदाउँदै
एकतमासले उडे
केहीबेर पsssरपरसम्म ।
समयको कालो फर्मानले
दागिदै हरेक भविश्यहरु
हिमकुहिरोको कसिलो हावाले
बाङ्गिदै प्रत्येक स्वार्थहरु
उडे, उडाइए र उडिरहे
कोरिएको सीमित घेराहरुमा
नसकिँदासम्म मनमा तृष्णा
नमासिँदासम्म सभ्यताको आँकुरा
रमिते बने, बनाइए र बनिरहे
लछप्पै ओढेर समयका बाछिटाहरु
कान थुन्दै र क्रन्दनहरु निमोठ्दै
स्याँउस्याँउती उडे बाजहरु
निभाएर सभ्यताका दियोहरुलाई
थमाइदिए सबै बाध्यता
मेटिए, मेटाइए र मेटिदै गए ।
बिस्तारै उज्याला बाटाहरु
चिसिए अगेनाका सबै अगुल्टाहरु
अनि, ताप सेलाएर श्राप ओढाइयो
सपना मेटाएर रञ्जना थमाइयो
चारैतिर अतृप्त चाहनाहरु
फसाएर भनियो
शोकका दैत्यहरु यिनै हुन्
त्यसपछि सजिलै यस्तो आयो समय
हुलबाट टुक्रा–टुक्रा पार्दै लग्यो हावाले
कसैलाई भन्यो तिम्रो छाला फरक
कसैलाई सोच्यो तिम्रो चाला फरक
सक्छौ भने निकुञ्ज नामको पिँजडामा जाउ
नत्र तिमी आफु जन्मेकै पखेरोमा जाउ
यही उर्दीसँगै सबै सपना समाप्त भएको
घोषणा गरे सबैले
र फर्किए चारैतिर
कोही अर्कैको जस्तो लाग्ने त्यो पहरातिर
कोही विक्षिप्त देखिने सल्लेरी घारीतिर
साँच्चै ती सबै मालचरी
अचेल, कहाँ, के सोच्दा हुन् ?
लिवाङ, रोल्पा
प्रकाशित मिति : २०६९ पुस १ गते आइतबार