इतिहासको कठघरामा माओवादी

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 126 Views   ||

pramod dhital final-[प्रमोद धिताल]

जनयुद्ध जारी रहँदाकै बखतको कुनै समय थियो । मेरै गाउँका एकजना माओवादी पार्टीका नेतासँग भेट हुँदा उनले कम्युनिष्ट आन्दोलनको विकासक्रमलाई यसरी अथ्र्याएका थिए– ‘जनयुद्ध सुरु हुनुभन्दा हाम्रो पार्टी सेता घरहरुभित्र कैद भएको थियो । सेता घरभित्रका जिम्दारहरुले कैद गरेर राखेको कम्युनिष्ट आन्दोलनलाई हाम्रो आन्दोलनले झुपडीहरुमा पु¥याइदियो ।’ त्यो कुरा त्यतिखेर मलाई निकै घत लागेको थियो । हुन पनि हो, जनयुद्धले पहिलोचोटी तर्क र बहसको वरिपरि गोलचक्कर मारिरहेको कम्युनिष्ट पार्टीलाई संघर्षको राजमार्गबाट कुदाउँदै आधारभूत वर्गसम्म पु¥याएकै हो । यसको अर्थ त्योभन्दा अगाडि कम्युनिष्ट आन्दोनले सिन्को पनि भाँचेको थिएन भन्ने होइन । विभिन्न समयमा विभिन्न प्रकारका सचेत वर्गसंघर्षका प्रयत्नहरु पनि नभएका होइनन् । तर जनयुद्धको सुरुवात र नेपाली धर्तिमुनि त्यसले पैदा गरेको तरंगको आयाम निकै फराकिलो थियो । त्यसले जो रोइ–रोई बाँच्न अभिशप्त थिए तिनीहरुलाई हाँसी–हाँसी मर्न पनि सिकाएकै हो । तर, दुःखको कुरा संश्लेषण यत्तिमा मात्र सीमित हुन सकेन । इतिहासमा विभिन्न कालखण्डहरुले नयाँ–नयाँ संश्लेषण गर्नुपर्ने अवस्था सृजना गरिदिन्छन् । त्यही अवस्थाको सृजना भएको छ अहिले । सेता घरहरुमा अलि बढी नै कैद भएर कुण्ठित हुन पुगेको कम्युनिष्ट आन्दोलनलाई जनयुद्धले चौडा बनाएर उत्पीडित वर्गको मुक्तिको हतियार बनाउँने जमर्को त ग¥यो । तर, त्यो स्वयंमा सेता घरहरुभित्र विद्यमान जमिन्दारी संस्कृतिबाट कुन हदसम्म मुक्त भयो त ? यसको समीक्षा गर्नुपर्ने आवश्यकता छ । यदि यतिखेर त्यो ठानिएन भने पनि भोलिको कुनै दिनले यसको समुचित समीक्षाको माग अनिवार्य गर्नेछ ।

यो जटिलता, विरोधाभाष, प्रश्नहरु र चुनौतिहरुको घेराबाट एमाओवादी मात्र होइन कि बरु अलग भएको वैद्य माओवादी पनि मुक्त छैन । चुनवाङ कार्यनीतिको सफलतापश्चात्को सालाखाला समयमा यी दुवै पार्टीका कार्यकर्ताहरुको आधारभूत गुनासो एउटै छ– न सोचेजस्तो व्यवस्था भयो न त गर्व गर्नलायकको पार्टी नै रह्यो । यद्यपी यी दुवै पक्षका दिमागमा क्रान्तिका रणनीति एवं कार्यनीतिसम्बन्धी बुझाइहरुमा निश्चय नै केही भिन्नताहरु पनि छन् । यसले गतिलो कुराको संकेत पटक्कै गरेको छैन । गर्व गर्नलायकको पार्टी पनि बनाउन नसक्ने अनि देशको व्यवस्थामा पनि सार्थक हस्तक्षेप गर्न नसक्ने हो भने त्यो सिधा–सिधा नेतृत्वको असफलता भनेर अभिलेखित त हुने नै छ । सँगसँगै त्यसको अप्रिय मूल्य पनि चुकाउनुपर्ने हुन्छ । पानीमाथिको ओभानो बन्नलाई त तर्कहरु हजार भेटिन सक्छन् तर इतिहास आफैमा एउटा निर्मम न्यायधिश पनि हो ।

क्रान्तिकारी इमान्दारीताको कसी अब कसैले सिर्फ दस्तावेजमा लिपिबद्ध गरिने आकर्षक शब्दावलीलाई बुझेको छ भने त्यो भ्रम मात्र हुनेछ । एकथरी साथीहरुले पुरानो पार्टीसँग सम्बन्धविच्छेद गरी नयाँ पार्टीको घोषणा गर्नु नै क्रान्तिकारीता बुझेजस्तो देखिन्छ । गणतन्त्र प्राप्तिपछि जनतामा पैदा भएको निराशा र राजनीतिक पाखण्डप्रतिको घृणालाई कसरी विश्वासमा बदल्न सकिन्छ भन्ने कुराले नै त्यस कुराको फैसला गर्नेछ कि कुनै पनि राजनीतिक शक्ति साँच्चिकै जनताको निम्ति विकल्प बन्न सक्छ कि सक्दैन । विशेष गरी पार्टीभित्रैबाट पैदा भएका तमामखाले विकृतिहरु जो कुनै पनि अर्थमा माक्र्सवादी आदर्श र सिद्धान्तको निम्ति क्षम्य हुन सक्दैनन् तिनको उपचार गर्ने दिशामा पार्टी गएन भने त्यो एउटा सिद्धान्तविहीन झुण्ड बन्ने खतराबाट कसैले रोक्न सक्दैन । यतिखेर माओवादी पार्टीले एकपटक निम्न विषयहरुमा गम्भीर प्रकारले समीक्षा गर्नुपर्ने देखिएको छ । अन्यथा नेपालको कम्युनिष्ट आन्दोलनले गम्भीर प्रकारको क्षति बेहोर्नुपर्ने अवस्थाको सृजना हुनसक्छ ।

क्यारियरिस्ट प्रवृत्ति र वर्गउत्थान

‘क्रान्ति सबैको लागि र सबै क्रान्तिको लागि’ भन्ने समानताको आदर्श यतिखेर ओझेलप्रायः छ । जसले गर्दा जनताको त कुरै छोडौं राजनीतिलाई स्वयंसेवाको क्षेत्र बनाएका व्यक्तिहरु पनि यसको विकल्प खोज्ने ठाउँमा पुगेको अवस्था छ । कतिपयको निम्ति राजनीति व्यवसाय बन्न पुगेको छ । यो उदात्त आदर्शबाट प्रेरित वर्ग हित र वर्ग सेवाभन्दा पनि उद्योगधन्दा वा व्यापार व्यवसायजस्तो भयो । त्यही कारण हो, जुन वर्गको आशा अपेक्षा क्रान्तिकारीबाट थियो त्यही वर्ग बेसरी चिढिन पुग्यो । त्यतिमात्र होइन जुन मानिसहरु समाज र रुपान्तरणका लागि भनेर आफूलाई परम्परावादी वर्गबाट च्यूत गर्दै आन्दोलनमा सामेल हुन पुगे उनीहरु पनि पछिल्लो अवस्था देखेर निराश हुन पुगे । एउटा क्रान्तिकारीका निम्ति सबैभन्दा सुरक्षित स्थान भनेको विचार, आदर्श, सिद्धान्त र त्यसको भौतिक अगुवाइ गर्ने पार्टी हो । तर, क्रान्तिकारीहरुको निम्ति किन पार्टी र आन्दोलन सुरक्षित स्थान हुन सकिरहेको छैन ? यसको सुस्पष्ट कारण एउटै छ– पजेरो कमरेड र कोही चप्पलधारी कमरेडबीचको खाडल चुलिदै जानु । त्यो खाडल केवल भौतिक सुखसुविधा र अभावबीचको मात्र नभएर विचार, सिद्धान्त र भावनात्मक सम्बन्धबीचको पनि हो । कसैको निम्ति आन्दोलन वरदानजस्तो कसैको निम्ति आन्दोलन नै अभिशाप जस्तो हुन पुग्यो । आलोचनात्मक चेतले युक्त र जिउँदा जाग्दा मानिसहरुको अखडाको रुपमा परिभाषित गरिदै आइएको कम्युनिष्ट पार्टीभित्र पनि चाकडी, दलाली, कमिशनखोरी, भ्रष्टाचार, बेइमानी र धुत्र्याइले स्थान लिदै गयो । क्रान्तिको निम्ति गरिएको जीवनको लगानी वा कर्तव्य निर्वाह जस्ता कुराहरु बिस्तारै साउँ–ब्याज, घाटा–नाफा, मौजा–सम्पत्ति र सीमा–साँधमा कैद हुँदै जानु दुःखको कुरा थियो । जसले गर्दा पार्टीभित्रको गुटबन्दीले विकराल रुप लियो र अन्ततः विभाजनको अवस्था सृजना भयो । के यो पुरानो जिम्दारी संस्कृतिको स्थानमा अलि परिस्कृत खालको जिम्दारी संस्कृतिको स्थापना होइन ?

विचारको स्खलन : समयको यति लामो दौरानमा केही माक्र्सवादको कखरासम्बन्धी प्रशिक्षणहरु पनि संचालन गरिएका छैनन् । नेताहरुलाई दैनिक राजनीतिको धपेडीले भ्याइनभ्याइ भएजस्तो तर हिजो आफैले विरोध जनाउँदै आएको संसदवादी रोगले गाल्दै र ढाल्दै लगेजस्तो देखिन्छ । माक्र्सवाद, द्वन्दात्मक भौतिकवाद, जनताको नयाँ संस्कृति, गणतन्त्रलाई जनताको गणतन्त्रमा बदल्ने सूक्ष्म कोषिका र तन्तुहरुको निर्माणजस्ता आधारभूत कुराहरु कार्यकर्ता प्रशिक्षणका दैनिक कार्यसूचीभित्र नपर्नुले वैचारिक स्खलनका साना ठूला पहिराहरु जानसक्ने कुराबाट रोेक्न असम्भव हुन्छ । आज माक्र्सवाद केवल केही नेता कार्यकर्ताहरुको स्वेच्छिक रुचिको विषयमा सीमित हुनुले तल–तलसम्म गैह्र कम्युनिष्ट आदर्श र अभ्यासले आतंक मच्चाउन थालेको छ । यसलाई रोक्नको लागि माक्र्सवादको अध्ययन, अभ्यास र स्कूलिङलाई अनिवार्य बनाउनुभन्दा अर्को विकल्प छैन । भनिन्छ अर्को पक्षलाई खुइल्याउने बेला र अर्ती उपदेश दिने बेलामा मानिसले सबैभन्दा सही कुरा गर्छ । त्यही अनुरुप ड्यास माओवादीका नेताहरुले सही तर्कहरुको आधारमा एकीकृत नेकपा माओवादी विचार, संस्कृति, राजनीति र माक्र्सवादी दर्शनबाट स्खलित भएको आरोप लगाइरहेका छन् । तर, उनीहरुको अवस्था पनि यस सवालमा कम नाजुक छैन । स्खलन त्यता पनि छ । अतः साँच्चिकै क्रान्तिकारी आदर्शप्रति इमान्दार को थिए र छन् भन्ने कुराको पुष्टि केही समयपछिका दुवै माओवादीहरुका व्यवहारले नै गर्नेछन् । जसको निरन्तरताले अहिले पनि पार्टीलाई वैचारिक क्षयीकरणको दिशातर्फ कुदाइरहेको छ ।

व्यवहार र संस्कृतिमा पाखण्ड

हो, यतिखेर निश्चय पनि नेपाली समाज पुरानो र नयाँबीचको भीषण द्वन्द्व र टक्करकै अवस्थामा छ । त्यो अवस्थामा केही अलमलहरु पैदा हुनु, केही बिब्ल्याँटाहरु देखा पर्नु स्वाभाविक थियो । इतिहासको निर्माण कहिल्यै पनि सोचेजस्तो सपाट बाटोमा हुँदैन । त्यसलाई आफ्नो पहलकदमी अन्तर्गत डो¥याउने इमान्दार प्रयत्न क्रान्तिकारीहरुले गर्ने हो । तर, क्रान्तिका ठूला–ठूला कुरा गर्नेहरुमा क्रान्तिको भन्दा आफ्नो अस्तित्वको चिन्ताले ग्रसित बनाएको देखियो । विभाजन, फुट र मतभेदका कृत्रिम फेहरिस्तहरु तयार गरिए । क्रान्तिकारी रुपान्तरणलाई केन्द्रमा राखेर मेहनत गरिएको देखिएन । जसले गर्दा अस्वस्थ गुटबन्दी हुँदै माओवादी पार्टी विभाजन हुन पुग्यो र त्यसले जनतामा एउटा नकारात्मक सन्देश दियो । एउटा क्रान्तिकारी पार्टी त कति पनि नअल्मलिइकन नयाँको पक्षमा दृढतापूर्वक संघर्ष गरिरहेको हुनुपथ्र्यो । त्यसको प्रतिविम्ब पार्टीका हरेक कार्यकर्ताहरुमा सूक्ष्म जीवनशैलीहरुमा समेत देखा पर्नुपथ्र्यो । यो बीचको अभ्यासले देखायो कि अभ्यास र जीवन–व्यवहारमा क्रान्तिकारीहरु पनि धेरै कम्जोर सावित भएका छन् । सहकारीलाई आर्थिक आन्दोलन बनाउन खोजियो तर अपवादलाई छोडेर ती धरासायी भए । सामाजिक क्षेत्र वा विकास निर्माणका क्षेत्रहरुमा क्रान्तिकारीहरुको उपस्थिति यतिसम्म खल्लो साबित हुनपुग्यो कि कतिपय अवस्थामा त अन्य प्रवृत्ति र माओवादी प्रवृत्तिको बीचमा भिन्नता छुट्याउनै जनतालाई गाह्रो भयो । जनजिविकाका मुद्धाहरुमा हस्तक्षेप गर्न पार्टी असफलजस्तै सावित भयो । यदि संस्कृति र साँस्कृतिक रुपान्तरणको सवालमा हेर्ने हो भने पनि केही नमूना पात्र र प्रवृत्तिहरुलाई छोडेर अधिकांश अवस्था नाजुक देखिन्छ । समाजको पिछडिएको अवैज्ञानिक संस्कृतिभन्दा क्रान्तिकारीहरुले स्थापित गर्ने भिन्न, वैज्ञानिक र उन्नत संस्कार के हो ? भनेर विचार र व्यवहार दुवैमार्फत् प्रशिक्षित गर्ने सवालमा चनाखो बन्नुभन्दा आफै पिछडिएको संस्कृतिको सती जानुपरेका दृश्यहरु पनि क्रान्तिकारी रुपान्तरणको मर्मलाई खिल्ली उडाउनमा पर्याप्त भए ।

जनताबाट अलग–थलग राजनीति :  इमान्दारीपूर्वक भन्ने हो भने यतिखेर राजनीति जनताको घरदैलाबाट गायब छ । बरु जनताको बीचमा पनि तर मार्ने मौकावादी राजनीति स्थापित हुँदैछ । किनकि राजनीतिको असली अभ्यास आजभोलि नेताका गोप्य कोठाहरुमा हुन्छ । रेष्टुरेन्ट र पाँचतारे होटेलहरुमा हुन्छ । पैसावालहरुका डिनर र पार्टीहरुमा हुन्छ । जनताको आँगन र पराले झुपडीहरुमा बन्नुपर्ने योजनाहरु महलहरुमा बन्न थालेपछि त्यो राजनीतिक जनपक्षधरताको हिसाबले कम्जोर हुनु स्वभाविकै हो । अब जनताको सेवा गरेर जनताकै नेता बन्ने सोंच राखिन्न बरु कुनै गुट, शक्तिकेन्द्र वा नेताको आशिर्वादमा नेता बनेर क्रान्तिकारी क्यारियर सुरक्षित बनाइराख्ने सपना देखिन्छ । यस्तै हुन्छ स्खलित राजनीतिको प्रतिविम्ब ।

यी चुनौतिहरुलाई दुवै माओवादी पार्टीले कसरी सम्बोधन गर्न सक्छन् भन्ने कुराले नै समग्रमा अबका दिनहरुमा को कति इमान्दार भन्ने कुराको निर्धारण गर्नेछ । क्रान्तिको विकल्प देख्न नछोडेको इमान्दार राजनीतिक कार्यकर्ता पंक्ति होस् या उत्पीडित जनता त्यो अब इमान्दारीताको पक्षमा लाग्नेछ । नभए समय र परिस्थितिले इमान्दार नेतृत्व जन्माउनेछ । किनकि पानीलाई जतिसुकै धमिल्याउने प्रयत्न गरेपनि त्यसको पवित्रताको महत्व नघटेजस्तो क्रान्तिलाई जतिसुकै पाखण्डको अभ्यास गर्ने हतियार बनाउन खोजेपनि त्यसको पवित्रता अपराजेय छ । उत्पीडित नेपाली जनताको तत्कालै क्रान्तिको त्यो आदर्शलाई अगाडि बढाएरै छोड्नेछ ।

प्रकाशन मिति : २०६९ पुस १ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *