क्रान्तिकारी पत्रकारले बुझाए ज्ञापनपत्र

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 123 Views   ||

दाङ । क्रान्तिकारी पत्रकार संघ दाङले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ३० बुदे ज्ञापनपत्र बुझाएको छ । संघको प्रतिनिधिमण्डल जिल्ला प्रशासन कार्यालय गएर शुक्रबार ज्ञापनपत्र बुझाएको हो । संघका अध्यक्ष नरेन्द्र केसीले दाङका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खालाई ज्ञापनपत्र बुझाउनुभएको हो ।
मागहरु :
१. वरिष्ठ पत्रकार कृष्णसेनलगायत राज्यद्वारा हत्या गरिएका पत्रकारहरुका हत्यारामाथि कडा कारवाही गरी पीडितका परिवारलाई उचित राहत र शहीदहरुप्रति राष्ट्रिय सम्मान व्यक्त गरियोस् ।
२. हालसम्म बेपत्ता पारिनुभएका पत्रकार मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, राजेन्द्र ढकाललगायतको स्थिति तुरुन्त सार्वजनिक गरियोस् । र, बेपत्ता पार्नेमाथि कानूनी कार्वाही र बेपत्ताका परिवारलाई उचित राहत प्रदान गरियोस् ।
३. जनयुद्ध र जनआन्दोलनका क्रममा घाइते बनाइएका, जेल र हिरासतमा राखिएका पत्रकारलाई सरकारले क्षतिपूर्ति र उपचारको व्यवस्था गरोस् । सो समयमा लुटिएका र बन्द गराइएका संचार माध्यमलाई उचित राहत र क्षतिपूर्ति प्रदान गरियोस् ।
४. पत्रकारहरुको पेशागत सुरक्षाका लागि श्रमजीवी पत्रकारसम्बन्धी ऐन पूर्ण कार्यान्वयन गरियोस् । ऐन लागू नगर्नेमाथि कानूनी कारवाही होस् ।
५. सरकारीसहित ठूला मिडिया हाउसहरुमा भइरहेको पत्रकारहरुको श्रमशोषण र सम्पादकीय स्वतन्त्रता हनन्को अन्त्य गरियोस् ।
६. सबै प्रकारका सरकारी विज्ञापन समानुपातिक ढंगबाट वितरण गरियोस् । स्थानीय विज्ञापन स्थानीय संचारमाध्यममा अनिवार्य दिनुपर्ने व्यवस्था गरियोस् । मोफसलका मिडिया र साना मिडियाहरुवाट विज्ञापन एजेन्सीहरुले चर्को कमिसन लिइरहेकाले यसलाई अन्त्य गरी सबै प्रकारका विज्ञापनलाई पारदर्शी गर्न ठोस नीति तय गरियोस् ।
७. अति दुर्गम क्षेत्रका संचारमाध्यम र संचारकर्मीहरुलाई सरकारले विशेष सुविधा र राहतको व्यवस्था गरियोस् । स्थानीय मिडिया प्रवद्र्धनका लागि ठोस योजना तय गरियोस् । परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका साना मिडियालाई बिशेष सहुलियतको व्यवस्था गरियोस् ।
८. बिनाकारण विभिन्न संचारमाध्यमबाट निकालिएका संचारकर्मीलाई पूनर्वहाली गरियोस् ।
९. संचार क्षेत्रको दिर्घकालीन विकास र तात्कालिक समस्या समाधानका लागि ठोस संचार नीति तय गरी कार्यान्वयन गरियोस् । जिल्लास्तरमै प्रभावकारी संचार संयन्त्रको स्थापना गरी जिल्लाबाटै पत्रकारलाई प्रेस पास, लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी एवम् सरकारी विज्ञापन वितरण र मिडिया अनुगमनको काम गरियोस् ।
१०. द्वन्द्वपीडित पत्रकार कल्याण कोष र कृष्ण सेन पत्रकार कल्याण कोष स्थापना गरियोस् ।
११. संचारमाध्यम र संचारकर्मीको सुरक्षाका लागि जिल्लास्तरसम्म प्रभावकारी सुरक्षा संयन्त्र निर्माण गरियोस् । संचार क्षेत्रमाथि हालसम्म भएका आक्रमणका दोषीमाथि कारवाही र पीडितलाई राहत प्रदान गरियोस् ।
१२. संचार क्षेत्रलाई राष्ट्रिय सेवामूलक उद्योगसरहको मान्यता दिइयोस् । संचारमाध्यमलाई विद्युत र टेलिफोन शुल्कमा छुटको व्यवस्था गरियोस् ।
१३. सरकारी संचारमाध्यमको पुनर्संरचना गरियोस्, गोरखापत्र र राससलाई सहकारीकरण तथा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक संचारमाध्यमका रुपमा संचालन गर्ने व्यवस्था गरियोस् ।
१४. प्रेस काउन्सिलको पुनर्संरचना गरी पूर्ण स्वायत्तता र स्वतन्त्रता प्रदान गरियोस् ।
१५. प्रेस रजिष्टारको कार्यालय स्थापना गरियोस् ।
१६. रेडियो, अनलाइन, छापामाध्यम र टेलिभिजन क्षेत्रका समस्याहरुवारे अध्ययन गरी समस्या समाधान गरियोस् ।
१७. प्रसारप्रचार र विज्ञापन प्रयोजनका लागि सार्वजनिक स्थलमा राखिएका होडिङ बोर्डहरु तत्काल हटाइनु पर्दछ । विज्ञापन आचारसंहिता निर्माण र त्यसको अनुगमन गर्ने व्यवस्था मिलाइयोस् ।
१८. सूचना विभागबाट वितरण भएको प्रेस पास गैरपत्रकारहरुले समेत प्रयोग गरिरहेको पाइएकाले प्रेस पास उपलब्ध गराउ“दा सम्वन्धित संस्थाको शिफारिसका साथै पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संघ सहितका संघ संगठनको शिफारिस हुनुपर्ने व्यवस्था गरियोस् ।
१९. संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात् संचार क्षेत्रको पूर्नसंरचनाका विषयमा विस्तृत अध्ययन नभएकाले यसको विस्तृत अध्ययन गरी अवधारणा तयार गर्न उच्चस्तरको संचार पूर्नसंरचना आयोग गठन गरियोस् । साथै विगतमा सरकारले गठन गरेका मिडिया समावेशी आयोगलगायतका समितिहरुमा क्रान्तिकारी पत्रकार संघको प्रतिनिधित्व नगराइएकाले प्रतिनिधित्वको व्यवस्था मिलाइयोस् । संचारगृह र त्यहावाट प्रवाह हुने संचार सामग्री समावेशी बनाउन पहल गरियोस् ।
२०. संचारसम्बन्धी विद्यमान ऐननियममा के–के परिमार्जन हुन जरुरी छ, त्यसबारे आवश्यक छलफल गरि समयानुकूल परिमार्जन गरियोस् ।
२१. मुलुक संघीयतामा प्रवेशस“गै संचारको संघीय अवधारणासमेत तय गरियोस् ।
२२. सूचनाको हकसम्वन्धी ऐन कडाइका साथ लागू गरियोस् ।
२३. संचारमाध्यमलाई दिइने लोककल्याणकारी रकममा दोब्बर वृद्धि गरियोस् । यस्तो विज्ञापन सबै प्रकारका संचारमाध्यमलाई दिइयोस् । एफएम रेडियोबाट लिइने रोयल्टीलगायत दोहोरो करप्रणाली खारेज गरियोस् ।
२४. मारिएका र बेपत्ता पत्रकारहरुको सम्झनामा स्मृति स्तम्भ निर्माणका लागि आवश्यक पहल गरियोस् ।
२५. क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य नवीन रिजालमाथि दैलेखमा नेकपा–माओवादीका कार्यकर्ताले सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएकाले उहाँका आक्रमणकारीमाथि कानूनी कारवाही र वीर अस्पतालमा उपचारत घाइते पत्रकार रिजालको उपचारको व्यवस्था मिलाइयोस् ।
२६. देशका ८ देखि १० स्थानमा श्रमजिवि पत्रकारहरुको लागि सुविधा सम्पन्न तालिम केन्द्रहरुको स्थापना गरियोस् । पत्रकारहरुलाई अध्ययन, अनुसन्धान र अवलोकनका लागि देश विदेशमा भ्रमण गराउने ब्यवस्था मिलाइयोस् । पत्रकारका लागि विमा गरियोस् साथै यातायात र हवाई भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरियोस् ।
२७. पच्चीस वर्ष काम गरेका वरिष्ठ पत्रकारहरुलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरियोस् ।
२८. संघीयतासहितको गणतान्त्रिक संविधान निर्माणको सुनिश्चितता गरियोस् । आगामी सविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरियोस् ।
२९. बढ्दो लोडसेडिङले सञ्चार क्षेत्र धराशायी हुने अवस्थामा पुगेको छ भने श्रमजीवी पत्रकारहरु निकै मारमा परेका छन्, त्यसैले लोडसेडिङको मारबाट मुक्त गर्दै सञ्चारमाध्याम र सञ्चारकर्मीका लागि विद्युतको वैकल्पिक व्यवस्था गर्न र जेनेरेटर तथा इन्धन, सौर्य ऊर्जा आदिमा अनुदानको सहुलियत प्रदान गरियोस् ।
३०. भालुवाङमा रहेको सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’को पुख्र्यौली घरको संरक्षण गर्दै उक्त क्षेत्रको आसपासमा बनाउने भनिएको सहिद पार्क निर्माण कार्य ओझेलमा परेकाले तदारुकताका साथ उक्त कार्य शुरु गरियोस् । साथै सेनको सम्झना र सम्मानमा लमही–घोराही–तुलसीपुर सडकखण्डलाई मन्त्रिपरिषद्को २०६८ पुस ५ गते बसेको बैठकले ‘कृष्णसेन इच्छक मार्ग’ नामाकरण गरे पनि उक्त नाम प्रचलनमा आउन नसकेकाले त्यसलाई प्रचलनमा ल्याउन विशेष निर्देशन जारी गरियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *