१० नयाँ सहर घोषणा

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 86 Views   ||

काठमाडौं । सरकारले पाँच विकास क्षेत्रका दश स्थानमा नयाँ सहर विकासको अभियान अगाडि बढाएको छ । निर्माणाधीन पूर्वपश्चिम मध्यपहाडी लोकमार्गको छेउमा विकास गर्न लागिएको १० वटा नयाँ सहरको भौतिक पूर्वाधार निर्माण कार्य शुरु भएको छ ।

यातायातको सुगमता, जमीनको उपलब्धता, खानेपानीको स्रोत उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अवस्थिति, जनसंख्या आदिको आधारमा प्रस्तावित सहरको २० बर्षे गुरुयोजना एवं आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गरी चरणबद्ध रुपमा आधुनिक सहरको निर्माण गर्न कार्य थालनी भइसकेको छ । छनोट परेका स्थानमा पाँचथरको फिदिम, ताप्लेजुङको बसन्तपुर, सिन्धुलीको खुर्कट, धादिङको बैरेनी–गल्छी, तनहँुको डुम्रेभन्सार, बाग्लुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन रहेका छन् । प्रत्येक सहरको आयोजना स्थलमा मध्यपहाडी नयाँ सहर आयोजना कार्यालय पनि स्थापना गर्ने तयारी भइरहेको छ ।

नयाँ सहर विकास आयोजना प्रमुख कृष्णराज पाण्डेका अनुसार रुकुमको चौरजहारी र अछामको साँफेबगरमा मुख्य–मुख्य भौतिक पूर्वाधार निर्माणको काम शुरु भइसकेको छ । यसैगरी, सामान्य रुपमा बसन्तपुर र धादिङको बैरेनीमा पनि भौतिक निर्माणको काम शुरु भएको छ । १० स्थानमध्ये राप्तीमा पर्ने रुकुमको चौरजहारी हवाइ यातायात तथा सुर्खेत–सल्यान सडक यातायातले जोडिएको छ । विजयेश्वरी गाविसमा पर्ने यो नयाँ सहरमा हाल तीन सय व्यक्ति प्रतिवर्गकिलोमिटर जनघनत्व छ । सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा राखेको यस स्थानमा सडक निर्माणको लागि डिपीआरसमेत तयार गरिसकिएको छ । आयोजना प्रमुख पाण्डेका अनुसार डिपीआर तयार गर्न गत आर्थिक वर्षमा रु. ५० लाख खर्च भइसकेको छ । प्रत्येक सहरमा भौतिक सुविधा निर्माणका लागि तीनदेखि पाँच अर्बसम्म खर्च लाग्ने बताइएको छ ।

सहर निर्माणका लागि पहिलो चरणमा गुरुयोजना तयार पार्नुपर्ने र आगामी आर्थिक वर्षभित्रमा गुरुयोजना तयार भइसक्ने आयोजना प्रमुख पाण्डेले जानकारी दिनुभयो । अहिले ट्रयाक खोल्ने काम भइरहेको एक हजार ७ सय ७६ किलोमिटर पूर्वपश्चिम मध्यपहाडी लोकमार्गको छेउमा पर्न ती ठाउँमा नयाँ सहर निर्माणका लागि मुख्य–मुख्य पूर्वाधारको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०६९ पुस १ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *