नेपाली राजनीतिको प्रवृत्ति र माओवादी नेतृत्व

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 94 Views   ||

Atom mahara-[निर्मल महरा ‘एटम’]

नेपालको राजनैतिक संकटमा मुख्यगरि दुई समस्या छन्– पहिलो, नेपालको राजनीति स्वतन्त्र ढंगले चल्न नसक्नु, दोस्रो स्थिर राज्यसत्ताको निर्माण नहुनु । यी दुई मुलभूत पक्षमा सुधार नआएसम्म समग्र नेपालको उत्थान हुन मुश्किल छ ।

राजासहितको व्यवस्थामा हिजोका शासकहरुले स्थिर राज्यसत्ताको अभ्यास त गर्न खोजे तर उनीहरुले जनतालाई स्वतन्त्र हुन दिएनन्, जनतालाई रैती बनाएर शासन गरे । जसका कारण उनीहरु पतन हुनुप¥यो । स्थिर राज्यसत्ता निर्माणका लागि जनतासहितको हस्तक्षेपमा माओवादीले ठूलो आन्दोलनको नेतृत्व गर्दै नेपाललाई नै स्वतन्त्र बनाएर लैजाने प्रयास नगरेको होइन तर माओवादी सशस्त्र आन्दोलन निष्कर्षमा पुग्न सकेन । आज माओवादी पूँजीवादी गणतन्त्रलाई संस्थागत गर्ने संक्रमणको राजनीतिमा क्रियाशील छ । संक्रमणको यो घडीमा न त माओवादीले स्थिर राज्यसत्ताको अभ्यास गर्न सक्छ न त मुलुक नै स्वतन्त्र बनाउन सक्छ । परिवर्तनकारी र पश्चगमनकामीबीचको यो खिचातानीमा माओवादीले अरु नयाँ उपलब्धिका बारेमा बहस थाल्नु जरुरी छ ।

अहिले मान्छेहरु आजको लोकतन्त्रभन्दा हिजोको पञ्चायत ठिक थियो भनेर तर्क पनि गर्छन्, गणतन्त्रभन्दा बहुदल ठिक भन्ने पनि आउला तर हिजोको पञ्चायत र आजको बहुदल बुझेर मान्छेले त्यसो भनेका होइनन्, राजनीतिमा आएको विकृति र विसंगतिले मान्छेलाई निरास गराएको हो । शासन त हिजोभन्दा आजकै गणतन्त्र प्रगतिशील हो, नयाँ जनवादी गणतन्त्र झनै क्रान्तिकारी हुन्छ । बहुदलसम्म आउँदा राजादेखि सत्तासीन शासकहरुको पनि उतारचढावपूर्ण शासनहरु गरे । जनताप्रतिको शासनमा उनीहरुको रवैया निरन्तर सामन्ती र हैकमवादी देखियो तर तुलनात्मकरुपमा ०४६ भन्दा अगाडि राष्ट्रियता अलि बलियो भएको जनताले अनुभूति गरेका थिए । दुःखको कुरो के हो भने ०४६ पछि परिवर्तनको नाममा जति तीव्र र ऐतिहासिक आन्दोलनहरु भएका छन् ती आन्दोलन र उपलब्धि जनताप्रति उत्तरदायी रहँदारहँदै पनि राष्ट्रियता कमजोर बन्दै गएको छ । आर्थिक विकास र जनतन्त्रको नाममा पछिल्ला राजनैतिक नेताहरु नै अलि बढी विदेशी शक्तिको गुलाम बन्दै गएको देखिएको छ । जब देश स्वतन्त्र र स्वाभिमान बन्दै समृद्ध्र बन्न खोज्छ शासकहरु जनविरोधी बन्ने, जब नेताहरु जनताको रोजाइबाट सत्तामा पुग्छन् देश डुब्दै जाने बिडम्बनाबाट नेपाल र नेपालको राजनीति अगाडि बढिरहेकोे छ । यिनै तथ्यको पृष्ठभूमिमा विकास भएको नेपालको पछिल्लो राजनैतिक घटनाक्रमको परिणाम आज हामीले भोगिरहेका छौं । देशले आज भोगिरहेको प्रसव संकट नयाँ नेपालको शुभारम्भ पनि हो । नेपालको राजनीतिमा सदियांै बर्षदेखिको सामन्ती राजतन्त्रको अन्त्यदेखि ठूला राजनैतिक उपलब्धिहरुको एकैपटक संस्थागत गर्नुपर्ने आवश्यकताको पनि आजको राजनैतिक संकटका रुपमा अभिव्यक्त भएको छ । किनभने उपलब्धिलाई संस्थागत गर्ने र उपलब्धिमाथि धावा बोल्ने शक्तिहरुबीच अहिले पनि बाझाबाझको अवस्था रहेकाले नेपाल कि त छिट्टै स्वतन्त्र, समृद्ध सक्षम हँुदै अगाडि बढ्ने सम्भावना देखिन्छ भने अर्कोतिर अत्यन्त भयावह संकटग्रस्त दुर्गतितिर जाने खतरा पनि उत्तिकै छ ।

अहिले नेपालको राजनीति बिषम संक्रमणबाट गुज्रिरहेको छ । न्यायालय, अख्तियार, निर्वाचन आयोग, लोकसेवा लगायत दर्जनांै संवैधानिक निकायहरु खाली हुँदै गइरहेका छन् । यो अस्थिरतामा नकारात्मक प्रवृत्ति बढी उत्पन्न हुने गर्छ, जसको असर अहिले हामीले भोगिरहेका छौं । नेपालको हकमा राजनैतिक स्थिरता कायम गर्न देशका राजनैतिक नेताहरुले मात्र सकेनन् भन्ने कुरा त दिनको घामजस्तै छर्लङ्ग भइसकेको छ । तर, अन्तर्राष्ट्रिय शक्ति गुहार्न पनि नेपाली नेताहरुको नैतिकता सीमाभन्दा बाहिर देखिदै आएको छ । अन्तर्राष्ट्रिय सम्बन्धको आवश्यकता र मर्यादालाई ठिक तरिकाले अंगाल्ने नीति र नेतृत्वको आवश्यकता खड्किएको छ । नेपालको राजनीतिलाई सिधा नजरले हेर्ने छिमेकी चीन र भारत नै हुन् । भलै हेर्ने तरिकामात्र यिनको फरक छ । तेस्रोमा अमेरिका पनि पर्छ । त्रिकोणात्मक शक्तिकेन्द्रको असर नेपालमा छ भन्ने कुरा हामीले प्रष्टसँग बुझ्न जरुरी छ । ब्रम्हाण्डमा उदियमान यी शक्ति राष्ट्रसँग लाचारी र घमण्डी पाराले होइन कुटनैटिक मर्यादाले विजय हासिल गर्दै नेपालभित्रको आफ्नो मामिला आपसी मेलमिलापबाट हल गर्ने कोशिश गर्नुपर्छ । भारत र चीनको नीतिलाई विश्लेषण गर्दै हिजो पृथ्वीनारायण शाहले नेपाल दुई ढुङ्गाबीचको तरुल भनेर विश्लेषण गरे । कतिपयले दुई किनारबीचको पुल भनेर चित्रण गरे र माओवादीले दुई ढुङ्गाबीचको डाइनामाइट हो नेपाल भनेर विश्लेषण ग¥यो । भिन्नाभिन्नै सन्दर्भका यी विश्लेषणहरु सही नै छन् । यदि आफ्नो देशको कुटनैतिक मर्यादा र स्वाभिमानलाई पहिलो प्राथमिकतामा राखेर हामीले कार्य गर्ने हो भने माथिका सबै विश्लेषणहरुमा हामी सफल हुन्छौं । दक्षिणतिर ढल्कदा उत्तर भुल्ने उत्तरतिर ढल्कदा दक्षिण बिर्सने दक्षिण र उत्तर विचारै नगरी पश्चिम ताक्ने नेपाली राजनीतिका अगुवाहरुको बानीले नेपालको राजनीतिक संकटमा कुनै न कुनै तरिकाले प्रभाव पारिरहेको छ । भौगोलिक र साँस्कृतिकरुपले दुवै छिमेकी मुलुकसँग जुन मर्यादामा हामीले सम्बन्ध स्थापित गर्नुपर्ने हो, निष्ठाको राजनीति अगाल्न नसक्ने नेपाली राजनीतिक नेताहरुका कारण हामी असफल भइरहेका छौं ।

नेपालको राजनीतिमा यतिबेला एकीकृत नेकपा माओवादी जिम्मेवारीको हिसाबले केन्द्रबिन्दुमा छ । माओवादी पार्टी र अध्यक्ष प्रचण्डले गरेका राजनीतिक पहलहरुलाई नेपालले मात्र होइन विश्व राजनीतिले समेत अध्ययन गरिरहेको छ । १२ बुँदे सहमतिपछिको राजनैतिक विकास तथा गिरिजाप्रसाद कोइरालाको निधनपछि प्रचण्डका सक्रियताले महत्वपूर्ण भूमिका निर्वाह गरेपनि त्यसलाई षड्यन्त्र र जालझेल भन्नेहरु धेरै छन् । वास्तवमा प्रचण्डको मेहनत र समर्पण नेपालको राजनीतिमा त्याग, सन्तुलन र हस्तक्षेपको नयाँ आयाम बन्दै आइरहेको छ । परिवर्तनको नेतृत्व गर्ने राजनैतिक नेताले कहिल्यै पनि यथास्थितिवादी प्रवृत्ति अंगाल्न सक्तैन । प्रचण्डका विशेषता र प्रवृत्तिहरु समय सापेक्षित र चलायमान छन् जसलाई परिवर्तन नचाहने र परिवर्तनलाई जडमा बुझ्ने हरेक प्रकारका यथास्थितिवादीहरुले बोलीको ठेगान नभएको नेता भनेर आरोप लगाइरहेका छन् । माओवादीले आफ्नो प्रवृत्तिमा त्याग गर्दै सबैको अस्तित्वमा राजनैतिक निकास निकाल्ने कार्यनीतिको बिकास गरेको हो । त्यसैले नै मुलुकमा संविधानसभाको निर्वाचन सम्भव भएको हो र आजको परिवर्तन सुनिश्चित भएको हो । माओवादीकोे विशेषता आफ्नै सशस्त्र शक्तिको बलमा राज्यसत्ता नियन्त्रण गर्ने हो, जसलाई मालेमावादी विचारको रुपमा ग्रहण गरिएको छ । आज पनि यो सच्चाइ भुल्नु हुँदैन कि एकीकृत माओवादीले लिइरहेको नीति र विशेषताहरुलाई पार्टीहरुले अवसरको रुपमा ग्रहण गर्न सकेनन् भने सबै परिस्थितिमा नरम र गरम बनेर देशको चिन्ता गर्ने प्रचण्डजस्ता बहुआयामिक नेता इतिहासमा बिरलै मिल्नेछन् । यदि सबैको प्रवृत्तिलाई स्वीकार गर्ने नेता कोही जन्मिएको हुन्थ्यो भने ०१७ सालमै संविधानसभाको चुनाव हुन्थ्यो र देश नयाँ मार्गमा प्रवेश गर्दथ्यो । सर्वहारावर्गको सिद्धान्तमा सशस्त्र विद्रोहको राजनीति गरिरहेको पार्टी सबैको अस्तित्वलाई मिलाएर देशलाई नयाँ निकास दिन तयार हुनु सानो त्याग होइन ।

आज कांग्रेस, एमालेलगायतका दलहरु माओवादी सत्ता कब्जाको रणनीतिमा लागेको आरोप लगाइरहेका छन्् । माओवादी आदर्शको दृष्टिकोणबाट सेना समायोजनको मुद्धासम्म आउँदा माओवादीले निकै ठूलो त्याग गरिसकेको छ, अब उनीहरु कम्युनिष्ट सिद्धान्तबाट च्यूत गर्न चाहन्छन् । माओवादी आन्दोलनका मान्यताहरुमा एकीकृत नेकपा माओवादीले व्यापक हेरफेर ल्याए पनि त्यो पार्टी र त्यसका कुनै पनि क्याडरहरु गैरकम्युनिष्ट हुन सक्तैनन् । हतियार, सेना माओवादी आन्दोलनका साधन थिए साध्य होइन, तिनलाई समायोजन गरेर राष्ट्रलाई निकास दिउ भनेको हो । हामीले कहिल्यै पनि विचार र सिद्धान्तलाई सम्झौतामा टुंग्याउन सक्तैनौं । यदि यसलाई कमजोरीको रुपमा कसैले लिन्छ भने त्यो दिवास्वप्न मात्र हुन जान्छ । किनभने कम्युनिष्टको अन्तिम लक्ष्य समाजवाद र साम्यवादमा पुग्नु नै हुन्छ त्यहाँ पुग्न उसले जुनसुकै साध्य र साधनको विकास गर्न सक्छ । संविधानसभाको चुनावदेखि गणतन्त्र नेपालको घोषणासम्म कांग्रेस, एमालेलगायत यथास्थितिवादी दलहरुलाई घिसार्दै ल्याउने काम नै एकीकृत नेकपा माओवादी र यसको नेतृत्वले गरेको हो । कांग्रेस एमालेहरुकै नारा र एजेण्डालाई एकीकृत माओवादीले आफ्नो आन्दोलनमार्फत् स्थापित गरेर पूरा गरिदिएको मात्र हो । आज पनि एकीकृत माओवादीको दृष्टिकोणमा देशले आंशिक उपलब्धि मात्र हासिल गरेको छ समग्र हैन । यो परिस्थितिमा आंशिक उपलब्धिहरुको संस्थागत विकास गर्दै नेपाली क्रान्तिको अरु बाँकी कार्यभार सम्पन्न गर्नु माओवादीकै दायित्वभित्र पर्छ । हामी आफैले जन्माएको उपलब्धिलाई बीचमै छाडेर अर्को कार्यनीतिको निर्माण गर्नु स्वयम् क्रान्तिकै लागि घातक हुने निश्चित छ । आज यो तथ्यको कडीलाई नबुझ्दा एकथरी साथीहरु पार्टीको मुलप्रवाहबाट अलग हुनुभएको छ  । यसबाट उहाँहरु समाप्त हुने निश्चित छ । संक्रमणकालीन राजनीति पनि निकै जटिल मोडमा आइपुगेको छ । जसरी पनि राष्ट्रिय सहमति कायम गरि नयाँ संविधानसभाको चुनावमा नगए देश अझ भयानक तरिकाले प्रतिगामीहरुको हातमा जाने निश्चित छ । कमरेड प्रचण्डको नेतृत्वमा बृहत राजनैतिक संयन्त्र खडा गरि नेपाली कांगे्रसको नेतृत्वमा चुनावी सरकार गठन गरि निर्वाचनमा जानुको विकल्प अब छैन ।

प्रकाशित मिति : २०६९ पुस ८ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *