भत्काउनै प¥यो भने सबैसँग छलफल गरेर अघि बढ्छौं

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 99 Views   ||

Rishiram-[ऋषिराम शर्मा] (इञ्जिनियर),
मध्यपश्चिम सडक डिभिजन कार्यालय नं. २ घोराही दाङ

यहाँ मध्यपश्चिम सडक डिभिजन कार्यालयको इञ्जिनियर हुनुहुन्छ, के गर्दै हुनुहुन्छ आजभोलि ?
फुर्सद छैन । गत साल टेण्डर भएका ठेक्काहरुको कामको रेखदेख गर्दैछु । अब आगामी वर्षमा कजवे भएका ठाउँमा पुलहरु बनाउने भन्ने विषयमा पनि लागिरहेको छु ।

शहीद कृष्ण सेनमार्ग (लमही–घोराही–तुलसीपुर)लाई फराकिलो बनाउने चर्चासँगै निकै क्रिया–प्रतिक्रिया आइरहेका छन्, कामचाहिँ के कति भइरहेको छ ?
हल्ला धेरै भएको छ । मान्छेहरुले नबुझेर पनि केही समस्या आएको हो । खासमा लमही–तुलसीपुर सडकलाई चौडा गराउँदा धेरै घरहरु क्षति हुन जाने भएकाले वैकल्पिक मार्ग कहाँबाट, कसरी र कसले निर्माण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

त्यसो भए वैकल्पिक मार्ग बन्छ ?
हामीले अनौपचारिक रुपमा छलफल गरेका छौं । यही कुरालाई लिएर डिभिजन प्रमुख, घोराही नगरपालिका र तुलसीपुर नगरपालिकासहित बसेर छलफल गर्नेछौं ।

सडक किनाराका बासिन्दाले सडक फराकिलो बनाउन नदिने भनी संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका छन्, सडक बिस्तार कसरी हुन्छ त ?
सडकमा हुने दुर्घटना न्यूनीकरण गर्न सडकदेखि टाढा रहनको लागि सूचना गरेको हो । सडक ऐन २०३१ मा उल्लेख भएको व्यहोरा हामीले भनेका हौं । बाटो जनताका लागि हो । जनताको छाकबास उठाएर बाटो बनाउनु पनि राम्रो होइन । यसको लागि छलफल भइरहेको छ ।

सडक मिचेर यति ठूला भौतिक संरचना निर्माण हुँदासम्म पनि पहिले सडक डिभिजन कार्यालयले किन चासो देखाएन, अहिले आएर सडक चौडा बनाउने कुरा चल्दैछ, के यसमा सडक विभागको कमजोरी छैन र ?
ऐनमा उल्लेख भएको कुरा भनिरहनु पर्दैन । काठमाडौंमा सडक विस्तार भइरहेको छ । यहाँ पनि त्यस्तो हुन सक्छ भनेर जनमानसमा जानकारी दिएको हो । यसमा के कमजोरी भन्ने ?

अनि यहाँकै कार्यालयको पर्खाल पनि मापदण्डअनुरुप छैन भन्छन् ।
हो, सडक विभागअन्तर्गत यान्त्रिक कार्यालयको पर्खाल मापदण्डविपरीत छ । अभियान चलेपछि सबैभन्दा पहिले त्यहींबाट शुरु गछौँ ।

संरचना भत्किसकेपछि सर्वसाधारणले क्षतिपूर्ति पाउँछन् ?
सडक बिस्तार गर्ने भन्दैमा जनताका घरजग्गा भत्काउने पक्षमा छैनौं । त्यस्तो अवस्था आयो भने सडक ऐनमा व्यवस्था भएअनुसार क्षतिपूर्ति पनि दिन सकिन्छ । भत्काउनै प¥यो भने सबैसँग छलफल गरेर मात्र अगाडि बढ्नेछौं ।

पेट्रोल पम्पहरु पनि सडक विभागको नियमभित्र राखिएका छैनन् भनिन्छ, पम्पहरु पनि हटाउनुहुन्छ ?
सीमाक्षेत्र मिचेर बनाएका पेट्रोल पम्पहरु पनि हटाउने व्यवस्था गर्नेछौँ ।

पछिल्लो समयमा दाङमा सवारी चाप, दुर्घटना निकै बढेको छ, त्यसको न्यूनीकरणका लागि के गर्न सकिन्छ ?
सवारी दुर्घटना न्यूनीकरण गर्न सडकको छेउछाऊमा वालुवा गिट्टी, इटा, ढुङ्गालगायतका सामान थुपार्न हुँदैन, विभिन्न किसिमका निर्माण सामग्री राख्ने ठाउँ सडकलाई बनाउनुहुँदैन । सडक मिचेर व्यापार व्यवसाय गरी लाभ उठाउन खोज्नु हुँदैन । गाडी पार्किङ गर्नुहुँदैन । यत्तिमात्रै गर्ने हो भने सवारी दुर्घटना कम हुन्छ ।

दाङको मुख्य सडकमा समेत पैदल यात्रु, साइकल लेन र ठूला सवारी साधनहरुको अलग–अलग व्यवस्था गर्नेतर्फ केही सोच्नुभएको छैन ?
फुटपाथ बनाउने सोच गरिएको छ ।

अलिकति फरक प्रसंग, सरकारले लमही–घोराही–तुलसीपुर सडकलाई कृष्ण सेन इच्छुक मार्ग घोषणा गरिसक्दा पनि खासै प्रचलनमा आएको छैन, त्यसका लागि यहाँले केही पहल गर्न सक्नुहुन्छ ? (जस्तै, कार्यालयका कागजातहरुमा मिलाउने, होडिङबोर्ड राख्ने, सञ्चारमाध्यमलाई अनुरोध गर्ने वा अरु केही)
यसका लागि योजना आयोगबाट सडकको नाम परिवर्तन गरी बजेटको व्यवस्था भए हामी गर्न सक्छौँ ।

तुलसीपुर–सुर्खेत, दाङ–सल्यान–रुकुम, घोराही–होलेरी–घर्तीगाउँ लगायतका पहाडी क्षेत्रका सडकहरुको स्तरोन्नति र कालोपत्रे गर्नेतर्फ के कस्तो पहल भइरहेको छ नि ?
तुलसीपुर–सुर्खेत सडकको लागि बजेटको माग भएको छ । दाङ–सल्यान–रुकुम, घोराही–होलेरी–घर्तीगाउँ सडक कालोपत्रे हुन शुरु भइसकेको छ ।

सडकको निर्माणका लागि ठेक्कापट्टामा धेरै रकम जाने तर काम थोरै हुने, त्यही पनि पीच गरेको केही समयमै खाल्डाखुल्डी हुने समस्या जहाँकही देखिन्छ, सडक निर्माणको गुणस्तरीयता किन खस्किरहेको छ ?
कुनै योजनाको काम गर्दा ठेक्कापट्टाबाट मात्र काम गर्ने भन्ने सरकारको नीतिअनुरुप हामीले काम गराएका छौं । पिच गर्दा तापक्रम मिलेन भने पानी प¥यो भने पिच उम्कन सक्छ । पिच गर्दा ध्यान दिएन भने यस्तो हुन्छ ।

जनउभारमार्फत् आम पाठकलाई के भन्न चाहनुहुन्छ ?
हाम्रा समाचारहरु नौलो जनउभार साप्ताहिकमार्फत् जनमानसमा पु¥याएकोमा नौलो जनउभारलाई धन्यवाद दिन्छु । आमपाठक र सरोकारवालाहरुलाई सडक ऐनको कुरा आउँदैमा बिचलित नहुन अनुरोध गर्दछु । त्र

प्रस्तुति : गोविन्द खड्का
प्रकाशित मिति : २०६९ पुस ८ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *