नयाँ सहर रुकुम चौरजहारी

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 204 Views   ||

Chaurjahari_Rukum_new_twon-[मेगराज खड्का]

रुकुम । सरकारले घोषणा गरेका नयाँ दश सहरमध्ये मध्यपश्चिमको पहाडी जिल्ला रुकुममा पर्ने चौरजहारी एक हो । निर्माणाधीन मध्यपहाडी लोकमार्गको छेउमा पर्ने चौरजहारी यातायातको सुगमता, जमीनको उपलब्धता, खानेपानीको श्रोेत उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अवस्थिति, जनसंख्या आदिको आधारमा दश मुख्य सहरमा छनोट हुन पुगेको हो ।

सरकारले नयाँ दश सहरको घोषणासँगै ती क्षेत्रको भौतिक पूर्वाधारको निर्माण पनि अगाडि बढाउने भएको छ । प्रस्तावित सहरको २० बर्षे गुरुयोजना एवं आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गरी चरणबद्धरुपमा आधुनिक सहरको निर्माण कार्य थालनी गरिने भएको छ । चौरजहारीसँगै पाँचथरको फिदिम, ताप्लेजुङको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहँुको डुम्रे भन्सार, बाग्लुङको बुर्तिवाङ, दैलेखको राकम, कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन पनि छनोटमा परेका छन् ।

सरकारले नयाँ सहर बनाउने योजनाअनुसार छनोट गरेका दश सहरमध्ये चौरजहारी र अछामको साँफेबगरमा मुख्य भौतिक पूर्वाधार निर्माणको काम छिट्टै शुरु हुने भएको छ । जसमा प्रत्येक सहरको आयोजना स्थलमा मध्यपहाडी नयाँ सहर आयोजना कार्यालय पनि स्थापना गरिने जनाइएको छ । प्रत्येक सहरमा भौतिक सुविधा निर्माणका लागि करिब ३ देखि ५ अर्बसम्मको खर्च लाग्ने अनुमान गरिएको छ । सोही कार्ययोजनाअनुसार चौरजहारी बजार क्षेत्रको सडक ग्राभेल गर्ने कार्य अन्तिम चरणमा पुगेको छ भने सर्वसाधारण स्थानीयबासी उत्साहित बनेका छन् ।

खुसी छन् रुकुमेली

चौरजहारी मुख्य दश सहरमा छनोट भएपछि जिल्लाको पश्चिम भेगका सर्वसाधारणमा खुसी छाएको छ । सरकारले गर्ने आधुनिक सहरको विकाससँगै स्थानीय बासिन्दालाई रोजगारी तथा व्यवसाय सञ्चालनको ढोकासमेत खुल्ने रुकुमेली सर्वसाधारण एवम् सरकारी निकायका प्रतिनिधिहरु बताउँछन् । स्थानीय बिकास अधिकारी भरतकुमार शर्माले मध्यपहाडी लोकमार्गअन्तर्गत चौरजहारी देशकै मुख्य दश सहरको रुपमा छनोट हुनु रुकुमेलीहरुको गौरवको कुरा भएको बताउनुभयो । आफ्नो क्षेत्रमा रोजगारीको सम्भावना छैन भनेर बर्षेनी भारतलगायत अन्य देशहरुमा जाने युवाहरुलाई यो गुरुयोजनाले केही हदसम्म रोक्ने उहाँको अनुमान छ । स्थानीय गोपाल रेग्मीका अनुसार जिल्लाको पश्चिमी क्षेत्रबाट बर्षेनी हजारौं युवा तथा अन्य उमेर समूहका मानिसहरु रोजगारीका लागि भारत जाने गरेका छन् ।

कस्तो छ चौरजहारी ?

रुकुम सदरमुकाम मुसिकोट खलंगापछि दोस्रो व्यापारिक केन्द्रको रुपमा चौरजहारीलाई चिनिन्छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने जाजरकोट र सल्यान जिल्लाको सिमानामा पर्ने विजयश्वरी गाविसमा रहेको छ चौरजहारी । हाल चौरजहारीमा तीन सय व्यक्ति प्रतिवर्गकिमि जनघनत्व रहेको छ । चौरजहारीलाई पहाडी क्षेत्रको उपत्यकाको रुपमा समेत लिन सकिन्छ ।

चारैतिर पहाडले घेरिएको र भेरी नदीले जाजरकोटको सिमाना छुट्याएर बीचमा समथर फाँट रहेको चौरजहारी बजार अवस्थित छ । दुइटा निर्वाचन क्षेत्र रहेको रुकुममा चौरजहारी दुई नम्बर निर्वाचन क्षेत्रमा पर्छ । विजयश्वरी गाविसको छिमेकी गाविसमा कोटजहारी, पूर्तिमकाँडा, सिम्ली, खोलागाउँ र नुवाकोट पर्दछन् । चौरजहारी रुकुमको मात्र नभएर सल्यान र जाजरकोटको समेत व्यापारिक केन्द्र बन्दै आएको छ । चौरजहारीबाट जाजरकोटको सदरमुकाम खलंगा पुग्न २ घण्टामात्र लाग्छ  । त्यस्तै जाजरकोटका खलंगा, जक्तिपुर गाविस र सल्यानको कालागाउँ गाविस चौरजहारीसँग जोडिएका छन् । चौरजहारीमा समथर भू–भाग रहेका कारण कृषि तथा अन्य व्यवसाय गर्नका लागि अनकूल ठाउँ रहेको छ ।

सेवा सुविधा

रुकुमको चौरजहारी हवाइ तथा स्थल यातायातले जोडिएको क्षेत्र हो । यहाँ कच्ची विमानस्थल छ । विशेष गरी चौरजहारी विमानस्थलको सुविधा पश्चिम रुकुम, सल्यान र जाजरकोटका जनताले बढी प्रयोग गर्दै आएका छन् । चौरजहारीबाट काठमाण्डौं तथा नेपालगञ्ज हवाइयात्रा गर्न सकिन्छ ।

त्यस्तै चौरजहारीमा कच्ची सडक यातायातको पनि विकास भएको छ । सदरमुकामबाट चौरजहारीसम्म जान सोलावाङ चौरजहारी सडकखण्डमा यातायात सञ्चालनमा छ भने सल्यान थारमारे–चौरपानी–चौरजहारी सडकखण्ड सञ्चालनमा छ । त्यस्तै, नेपालगञ्ज–सल्लीबजार–चौरजहारी सडक पनि सुचारु छ । कच्ची सडक भएका कारण बर्षातमा केही महिना यातायात बन्द हुने गरेको छ । चौरजहारीमा यस क्षेत्रकै नमूना मानिएको मिसन अस्पताल पनि रहेको छ । ४० शैया रहेको उक्त अस्पतालमा जिल्ला अस्पतालको भन्दा बढी सेवा सुविधा तथा अनुभवी डाक्टरहरु रहेको बिरामीहरु नै बताउँछन् । सदरमुकामस्थित जिल्ला अस्पताल १५ शैयाको मात्र रहेको छ । यस अस्पताल छिमेकी जिल्ला सल्यान र जाजरकोटका बासिन्दाहरुका लागि सहज पहुँच बनेको छ । त्यस्तै यहाँ शीतल क्याम्पसमार्फत् उच्च शिक्षाको लागि बिएड सम्मको पढाइसमेत सञ्चालनमा रहेको छ ।

चौरजहारीको सबैभन्दा ठूलो समस्या बिजुली समस्या हो । खेतमा सिंचाइ गर्न नहरबाट बिजुली निकालिएको छ । जसका कारण सिंचाइ गर्दा बिजुली सञ्चालन गर्न सकिदैन । १ सय ५० किलोवाट मात्र क्षमता रहेकाले चौरजहारी क्षेत्रका बासिन्दाहरुलाई बत्ती बाल्न निकै कठीन छ । जसमा विभिन्न कारणले बर्षामा ५÷६ महिनामात्र स्थानीय बासिन्दाले बिजुली बाल्न पाउँछन् ।

द्वन्द्वको अवशेष

रुकुम दश बर्षे सशस्त्र जनयुद्धको उद्गम थलोको रुपमा चिनिन्छ । त्यस क्रममा रुकुममा सयौंको ज्यान गएको छ भने हजारौं घाइते, अपाङ्ग र बेपत्ता भएका छन् । त्यस्तै, लाखां मूल्यबराबरका भौतिक संरचनाहरु ध्वस्त भएका छन् । त्यसको अंशियारी चौरजहारी पनि हो । द्वन्द्वका क्रममा क्षति भएका विभिन्न सरकारी कार्यालयहरु पुनःर्निर्माण हुन सकेका छैनन् । संरचनाहरु पुनःनिर्माण नहुँदा सरकारी कार्यालयहरु अहिलेसम्म अलपत्र अवस्थामा रहेका छन् । मर्मत सम्भार नभएपछि जिल्लाको सेवा केन्द्र चौरजहारी, चौरजहारी सिंचाई प्रणाली, इलाका कृषि, महिला विकास शाखालगायतका एक दर्जन सरकारी कार्यालय पुनःस्थापना हुन सकेका छैनन् ।

२०५७ तिर माओवादीको त्रासले सदरमुकाम मुसिकोट खलंगामा विस्थापित भएका कार्यालयहरु पुनःस्थापना नहँुदा यस्तो समस्या आएको हो । इलाका सेवा केन्द्रहरु अझैसम्म पनि पुनःस्थापना नहुँदा सानो काम गर्न पनि सदरमुकाम जानुपर्ने बाध्यता स्थानीयबासीको रहँदै आएको छ ।

उता द्वन्द्वकै समयमा विस्थापित बैंकहरु ११ बर्ष बितिसक्दा पनि पुनःस्थापना हुन सकेको छैनन । बैंक पुनःस्थापना नहुँदा स्थानीयलाई आर्थिक कारोबारका लागि समस्या हुँदै आइरहेको छ । २०५८ पुसमा चौरजहारीबाट विस्थापित भएका कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकहरु दाङको तुलसीपुरमा गाभिएको छ । स्थानीय कारोबारका लागि कि त छिमेकी जिल्ला जाजरकोट पुग्नुपर्छ कि त सदरमुकाम मुसिकोट आउनुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : २०६९ पुस ८ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *