दाङ, पुस ७ । नेपाल पत्रकार महासंघ दाङ शाखाले ११ बुँदे दाङ घोषणा–पत्र जारी गरेको छ । महासंघको गत साता सम्पन्न २० औं स्थापना दिवस तथा साधारणसभाले दाङ घोषणापत्र जारी गरेको हो । त्यस्तै, महासंघले स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत विभिन्न व्यक्तिलाई अभिनन्दन, पुरस्कृत र सम्मान गरेको छ ।
सो क्रममा यस वर्षको ‘पत्रकारिता प्रतिभा पुरस्कार’ नयाँ युगबोध दैनिकका सम्पादक तथा शाखा सल्लाहकार प्रताप रेग्मीलाई प्रदान गरिएको छ । कदरपत्रसहित पुरस्कारको राशी नगद १० रुपैयाँ रहेको छ । त्यस्तै, महासंघ दाङ शाखामा लामो समय क्रियाशील रहेर महत्वपूर्ण योगदान पु¥याउनुहुने पूर्वअध्यक्षहरु केबी मसाल र सुशील गौतम अनि जिल्लामा पहिलोपल्ट रेडियो स्थापना गरेर विद्युतीय सञ्चारमाध्यमको विकासमा टेवा पु¥याउनुहुने रेडियो स्वर्गद्वारीका प्रबन्ध–निर्देशक दधिराम सुवेदीलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो । त्यस्तै, पत्रकारिता गर्दागर्दै क्यान्सरबाट मृत्यु भएकी दाङकी पत्रकार शान्ता पौडेललाई मरणोपरान्त सम्मान गरिएको थियो ।
त्यस्तै, नारायणप्रसाद शर्मा पत्रकारिता पुरस्कार रेडियो प्रकृतिका स्टेशन म्यानेजर संगीत बस्याललाई, कवि–गोकुल पत्रकारिता पुरस्कार जानकी दहितलाई, खगराज लोहनी पत्रकारिता पुरस्कार शिवराज पन्थीलाई, टीकादेवी विकास पत्रकारिता पुरस्कार शरद रेग्मीलाई प्रदान गरिएको थियो । त्यस्तै पत्रकार जनक नेपाली, सविता चौधरी र थारु भाषाको लौव अग्रासन साप्ताहिक पत्रिकालाई महासंघद्वारा स्थापित प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । त्यस्तै स्थापना दिवसको अवसरमा आयोजना गरिएको फिचर लेखन प्रतियोगितामा उत्कृष्ट पत्रकारहरु खेमराज रिजाल र निशानदाजु भट्टराईलाई ५÷५ सय रुपैया“ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको साधारणसभाले पारित गरेको ११ बुँदे दाङ घोषणापत्र
संविधानसभामार्फत् संविधान निर्माण गर्ने नेपाली जनताले व्यक्त गरेको इच्छालाई मूर्तरुप दिने क्रममा हाल राजनीतिक दलहरुले स्पष्ट बाटो पहिचान गर्न नसकिरहेको अवस्थाप्रति नेपाल पत्रकार महासंघ दाङ चिन्ता व्यक्त गर्दछ । साथै जनताले त्यो चाहना पूरा गराउन गरेको संघर्षको उच्च सम्मान गर्दै संविधानमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने मार्ग सुनिश्चित गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई यो सभा हार्दिक अनुरोध गर्दछ ।
नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि पे्रस स्वतन्त्रताको पक्षमा गरिरहेको संघर्षप्रति गौरव व्यक्त गर्दै पे्रस स्वतन्त्रताविरुद्ध हुने सबैखाले प्रवृत्तिविरुद्ध दृढताका साथ उभिने प्रतिवद्धता व्यक्त गर्दछ ।
नेपाल पत्रकार महासंघले यस जिल्लामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको लागि पहल गरेको भएपनि त्यसको सन्तोषजनक परिणाम नदेखिएकाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको लागि सबै सञ्चार संस्थाहरुलाई आग्रह गर्दै सो ऐन कार्यान्वयनका लागि ठोस कदम चाल्ने निर्णय गर्दछ । साथै सबै सञ्चारमाध्यमहरुलाई समानुपातिकरुपमा विज्ञापनको व्यवस्था गर्न सम्बन्धित निकाय माग गर्दछ ।
रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष देवीप्रसाद धिताल ‘हेमराज’को हत्या भएको लामो समय भैसक्दा पनि हत्यारा पत्ता नलागेकाले अविलम्ब हत्यारा पत्ता लगाई कारबाही गर्न सभा सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।
दाङको बिग्रदो वातावरणप्रति चिन्ता व्यक्त गर्दै दाङको वातावरण बचाउनका लागि नेपाल पत्रकार महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै दाङ बचाउ अभियान सञ्चालन गर्ने निर्णय गर्दछ ।
लमही–तुलसीपुर सडकखण्डलाई सरकारले शहीद कृष्णसेन इच्छुक मार्ग नामाकरण गरिसकेकाले त्यसलाई व्यवहारिक प्रयोग थाल्न सम्बन्धित निकायलाई अनुरोध गर्दछ ।
जिल्लामा बढ्दो लोडसेडिङले सञ्चारक्षेत्र तहसनहस भएको यथार्थप्रति गम्भीर चिन्ता व्यक्त गर्दै छिमेकी जिल्लाहरुबाट उत्पादित विद्युतमा यस जिल्लाको समेत अग्राधिकार स्थापित गरी जिल्लालाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्न माग गर्दछ । साथै सञ्चार क्षेत्र र सञ्चारकर्मीहरुलाई लोडसेडिङको वैकल्पिक व्यवस्था गर्ने इन्भर्टर, सोलार, जेनेरेटर, डिजेलजस्ता प्रविधि खरिद एवं प्रयोगमा अनुदान प्रदान गर्न जोडदार माग गर्दछ ।
द्वन्द्वकालमा मारिएका एवं विस्थापित भएका सबै पत्रकारहरु तथा पत्रकारका परिवारलाई उचित राहत प्रदान गर्न नेपाल सरकारसँग माग गर्दछ ।
राप्ती अञ्चलमा रहेको एकमात्र त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसको पुरानो नाम परिवर्तन गरी शहीदको नामबाट नामाकरण गर्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै सो क्याम्पसमा स्नातक तहमा पत्रकारिता विषय अध्ययन गर्ने व्यवस्था मिलाउन माग गर्दछ ।
मूलधारमा आउन नसकेका महिला, दलित, अपाङ्ग, अल्पसंख्यक, आदिवासी जनजाति समुदायलाई पत्रकारिताको मूलधारमा ल्याउन आवश्यक नीति निर्माण गर्न राज्यसँग माग गर्दछ ।
दाङको समग्र विकासका लागि आवश्यक पर्ने घोराही, भैसाइदेखि रामपुर, सिमलतारा, हाँसीपुर हुँदै लालमटियाको चैतेसम्मको वीपी मार्ग रकम अभावका कारण देखाउँदै निर्माण कार्य रोकिएकाले तत्काल रकम उपलब्ध गराई निर्माण कार्य चालु गर्न, तुलसीपुर–पुरन्धारा–सुर्खेत सडकखण्ड कालोपत्रे र घोराही–हापुर–साइपुर बगिया हुँदै बिजौरी–रक्षाचौरसम्मको वैकल्पिक मार्गजस्ता अन्य वैकल्पिक मार्ग निर्माणको लागि आवश्यक रकम उपलब्ध गराएर निर्माण कार्यलाई पूर्णता दिन सम्बन्धित निकायसँग यो सभा जोडदार माग गर्दछ । साथै कालाकाटे–गढवा–राजपुर हुँदै बाँके जोडिने राप्ती दक्षिणको राजमार्ग चालु गर्न माग गर्दछ ।
प्रकाशित मिति : २०६९ पुस ८ गते आइतबार