जहाँतही शव जलाउन नपाइने

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 98 Views   ||

दाङ, पुस ७ । घोराही–१० स्थित कटुवाखोलामा अब जहाँतही शव जलाउन नपाइने भएको छ । शवदाहस्थल व्यवस्थापन समितिले शनिबार कटुवाखोलामै पत्रकार सम्मेलन गरि जहाँतही शव जलाउँदा पानी दुषित हुनुका साथै वातावरण प्रदुषण भएको भन्दै निश्चित ठाउँमा मात्रै शव जलाउन पाउने व्यवस्था गरेको जनाएको छ ।

शवदाहस्थल व्यवस्थापन समितिकी अध्यक्ष गोमा महराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सचिव नारायण भुसालले खोलामै शव जलाउँदा पानी र वातावरण प्रदुषण बढेको भन्दै तत्काल निश्चित दुई ठाँउमा शव जलाउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । शव जलाउनका लागि खोलाको छेउमा दुइवटा शवदाहस्थल निर्माण गरिएको छ । गौतम नगर टोल विकास संस्थाले तिहारमा भैलो खेलेर जम्मा गरेको ३१ हजार १ सय ५८ रुपैयाँ र अस्पताल टोल विकास संस्थाले दिएको ५ हजार गरि जम्मा ३६ हजार १ सय ५८ रुपैयाँको लागतमा दुइवटा शवदाहस्थल निर्माण गरिएको सचिव भुसालले जानकारी दिनुभयो ।

२०५८ सालमा १ लाख ३६ हजार रुपैयाँको लागतमा एउटा पक्की शवदाहस्थल बने पनि पानी पु¥याउन नसक्दा प्रयोगविहीन अवस्थामा रहेको छ । त्यसलाई पनि छिट्टै सञ्चालनमा ल्याइने समितिले बताएको छ । ‘जथाभाबी शव नजलाई सभ्य नागरिकको परिचय दिऔं, शवदाहस्थलमा शव जलाऔं, वातावरणको संरक्षण गरौं’ भन्ने नाराका साथ शवदाहस्थललाई व्यवस्थित गर्न थालिएको अध्यक्ष महराले बताउनुभयो ।

समितिले शव जलाउँदा चार सय रुपैयाँ शुल्क लिने र विपन्न वर्गका लागि भने शुल्क नलिने बताएको छ । समितिको हालै बसेको बैठकले ती दुई शवदाहस्थलबाहेक चौघेराको झोलुङ्गे पुलदेखि जोर पीपलसम्मको क्षेत्रमा कहीकतै शव जलाइएको पाइएमा जरिवाना गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष नुमानन्द आचार्यले समितिसँग रकम नहुँदा शवदाहस्थलहरुलाई व्यवस्थित गर्न गाह्रो भएको बताउनुभयो । यसअघि कटुवाखोलमा शवदाह भएपनि जहाँतही शव जलाउने गरिएको थियो । पत्रकार सम्मेलनको सहजीकरण मधु रिजालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०६९ पुस ८ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *