गड्यौलाबाट मल उत्पादन

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 308 Views   ||

gadaula_dur1दाङ, पुस ७ । सुन्दा अचम्म लाग्न सक्छ गड्यौलाबाट पनि मल उत्पादन गरिन्छ भन्ने सुन्दा । तर, अचम्म मान्नुपर्ने केही छैन ढिकपुर गाविस–२ कटुकीका केही किसान मिलेर व्यवसायिकरुपमै गड्यौला मल उत्पादन गर्न थालेका छन् । दाङमा पहिलोपटक उत्पादन गर्न थालिएको गड्यौला मलले माटोलाई खुकुलो र उर्वर बनाई बाली उत्पादनमा वृद्धि गर्ने गर्दछ । तरकारी खेतीमा विषादीयुक्त रासायनिक मलको प्रयोग बढिरहेका बेला गड्यौला मलको उत्पादन हुन थालेको हो ।

गाई, गोरुको गोठे मलमा गड्यौला हालेर ५५ दिनमा तयार पारिने उक्त मलले रासायनिक मलको प्रयोगबाट ह्रास हुँदै गएको माटोलाई मलिलो र उर्वरायुक्त बनाउने गड्यौला मल उत्पादक अगुवा चोपबहादुर महरा बताउनुहुन्छ । तर, उक्त मलका लागि प्रयोग गरिने गड्यौला यहाँका नभई विदेशबाट ल्याउनुपर्ने उहाँले बताउनुभयो । चितवनबाट गड्यौला मल बनाउने चार महिने तालिम लिनुभएका नारायणपुरका चोपबहादुरले भन्नुभयो– ‘मल बनाउनका लागि बाहिरी देशबाट ल्याइने गड्यौला यहाँको जस्तो नभई सानो हुने र त्यसले प्रजनन कृया पनि मुखबाट नै गर्छ ।’

गड्यौलाको मल तयार पार्ने विधिबारे बताउँदै महरा भन्नुहुन्छ– ‘डुरहरुमा गोठे मल हालेर भरिन्छ, त्यसमाथि गड्यौला छोडिन्छ, गड्यौलाले मल खादै तलसम्म पुग्छ र मललाई उल्टाएर तलको माथि माथिको तल बनाउनुपर्छ, फेरि खादै जान्छ, फेरि त्यसै गर्नुपर्छ त्यही तरिकाले ५/७ पटक उल्ट्याएपछि मल तयार हुन्छ ।’ गड्यौलाले खाएर वान्ता गर्ने मल नै पोसिलो मल हुने उहाँले बताउनुभयो । मसिनो बनेको उक्त मललाई कागजमा प्याक गरी बेच्ने गरिन्छ । गड्यौलाबाट बनाइने मलको प्रयोगले माटोको प्राकृतिक उर्वराशक्ति फर्काउनुका साथै उत्पादन क्षमतामा वृद्धि ल्याउने महराले जानकारी दिनुभयो ।

करिब दुई विघा क्षेत्रफलमा गड्यौला मल उत्पादन थालेका रमेश वली, टेकबहादुर खत्रीलगायत नौ जनाले १० लाखभन्दा बढीको लगानी गरिसकेका छन् । अझै लगानी खर्च बढ्ने शेयरकर्ता रमेश वलीले बताउनुभयो । मल बनाउनका लागि अहिले १२ डुर तयार पारिएको छ, अबको करिब दुई साताभित्र मल तयार पार्न शुरु गरिने वलीले जानकारी दिनुभयो । मल बिक्रीको सम्भावना राम्रो देखिए पूरै दुई बिघा जमीनमा डुर बनाएर गड्यौला मल उत्पादन गर्ने योजना रहेको वलीले बताउनुभयो ।

मल बनाउनका लागि प्रयोग गरिने गड्यौला एकपटक थोरै मात्रामा हालेपछि त्यसले त्यही मलमा थ्रुपै बच्चा उत्पादन गर्ने भएकाले एकै पटकमा धेरै मल तयार गर्न सकिने मल बनाउने तालिम लिएका चोपबहादुर महराले बताउनुभयो । ‘उत्पादित मल मसिनो धुलो बन्ने भएकाले कागजमा प्याक गरेर किलोको हिसाबबाट पनि बिक्री गर्न सकिन्छ’– महराले भन्नुभयो– ‘गड्यौला निकै कम मात्रामा उत्पादन हुने भएकाले उत्पादित मल कृषि विकास कार्यालयले खरिद गर्ने बताएको छ ।’ गड्यौला मल बाँकेपछि पहिलोपटक दाङमा उत्पादनका लागि अभ्यास गर्न थालिएको हो ।

प्रकाशित मिति : २०६९ पुस ८ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *