दाङबाटै माछाका भुरा उत्पादन गर्ने तयारी

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 212 Views   ||

fish_tal_webदाङदेउखुरी, पुस २२ । व्यवसायिक माछापालनका लागि अनुकूल ठाउँ मानिदै आएको दाङको देउखुरीमा अबदेखि माछाका भुरा पनि उत्पादन गरिने भएको छ । माछाका अण्डा फुटेर निस्कने साना भुरादेखि तिनलाई हुर्काउने नर्सरीको व्यवस्थासहित जिल्लामा पहिलोपटक माछा उत्पादन ह्याचरी शुरु गरिन थालेको हो ।

माछाका भुरा उत्पादन गर्ने उक्त ह्याचरी खोल्ने तयारी थाल्नुभएको छ सोनपुर–६ कान्तिपुर (बनकट्टी) का शरद गौतमले । विगत २५ बर्षदेखि माछापालन व्यवसाय अंगालिरहनुभएका गौतमले त्यसलाई नै आफ्नो रोजगारीको पेशा बनाउदै आउनुभएको छ । माछापालन व्यवसायलाई बिस्तार गर्दै माछा उत्पादन ह्याचरीसमेत खोल्न तयारीमा रहनुभएका गौतमले आगामी चैतसम्ममा यहीबाट भुरा उत्पादन गर्ने माछा बिक्रीबाट बार्षिक १२/१३ लाखको आम्दानी गर्ने बताउनुहुन्छ ।

तीन कठ्ठा जमीनबाट माछापालन शुरु गरेको बताउने गौतमले अहिले चार विघा जमीनमा करिब १७ वटा पोखरी निर्माण गरी भुरा हुर्काउने र माछापालन गर्न थाल्नुभएको छ । बर्षमा ६ देखि ७ लाख माछाका बच्चा बिक्री गर्दै आउनुभएका गौतमले त्यति नै संख्यामा उत्पादित भुरा माछा बिक्री गर्र्न सकिने बताउनुहुन्छ । ‘अण्डाबाट निस्किएका साना भुरालाई नर्सरी पोखरीमा करिब डेढ महिना हुर्काएर औंला जत्रा भएपछि पाल्नका लागि बाहिर बिक्री गरिन्छ’– माछा व्यवसायी शरदले भन्नुभयो । अहिले उत्पादित माछाका भुराहरु भैरहवाबाट ल्याउने गरिन्छ ।

चार/पाँच बर्ष यतादेखि भैरहवाबाट भुरा माछा ल्याएर नर्सरीमा हुकाइ दाङ, रोल्पा, सल्यान र प्यूठानमा बच्चा बिक्री गरिरहेका गौतमले डेढ विघा जग्गामा बनाइएको एउटा पोखरीमा २५ हजार माछा राखेर ठूला बनाइ बिक्री गर्ने बताउनुभयो । ‘खाने भएका पोखरीका माछा तिहारअघि नै सकिइसके, अब माछा हालेर चैत, वैशाखमा खाने बनाउने हो’ गौतमले भन्नुभयो । माछापालन व्यवसायबाट सन्तुष्ट र आम्दानी पनि राम्रो रहेको बताउनुहुने गौतमले घरमै माछा ल्याउन आउने ग्राहकलाई समेत पु¥याउन नसकिरहेको बताउनुभयो । माछापालन व्यवसायलाई विस्तार गर्दै आउनुभएका सोनपुर–६ कान्तिपुर निवासी शरद गौतमले त्यसबाहेक घरमा गाई र बँदेल पनि पाल्दै आउनुभएको छ । माछाको आहार मल हुने भएकाले बँदेल र गाइपालन पनि सँगसँगै गर्दै आइरहेको गौतमले बताउनुभयो । ‘अन्य व्यापारजस्तो कुरेर बस्नुपर्दैन सबै काम घरबाटै हुन्छ’ उहाँले भन्नुभयो ।

fish_home webघरमा चार जना काम गर्ने सहयोगीसहित आफू पनि बिहानदेखि साँझसम्म काममा व्यस्त रहने उहाँले बताउनुभयो । पछिल्लो चरण ३५ देखि ४० लाखसम्मको लगानी थप गरेर नर्सरी र भुरा माछा उत्पादनको तयारी थाल्नुभएका गौतमले अहिले माछा उत्पादन घर निर्माण गरिरहनुभएको छ । मौसम र तापक्रमअनुसार पोथी माछाले अण्डा पारेको ७२ घण्टामा भुरा निस्कने र ती भुरालाई पाँच÷छ दिन छुट्टै नर्सरीमा राखी डेढ महिना पोखरीमा राखेर फिङ्गर साइजका भएपछि मात्र बिक्री गरिने पनि गौतमले जानकारी गराउनुभयो । एउटा पोथी माछाले एकपटकमा एकदेखि डेढ लाखसम्मका अण्डा निकाल्ले भएपनि भालेबाट जतिसम्म फर्टिलाइजर हुन्छ त्यतिसम्म मात्र भुरा निस्कने गर्छ ।

प्रकाशित मिति : २०६९ पुस २२ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *