बाँके राष्ट्रिय निकुञ्ज विवाद संवादबाट टुङ्ग्याउनुपर्ने निचोड

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 93 Views   ||

दाङ, पुस २३ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दाङको पुरन्धारा, गोल्टाकुरी र पञ्चकुलेका प्रभावित नागरिकहरुको समस्या समाधानका लागि आन्दोलनभन्दा संवादको माध्यमबाट निकास खोज्नुपर्ने निष्कर्ष निकालिएको छ । बाँके राष्ट्रिय निकुञ्जविरुद्ध गठित संघर्ष समितिअन्तर्गत दाङका प्रभावित नागरिकहरुले शुक्रबार पञ्चकुले मलैमा आयोजना गरेको निकुञ्जले पार्ने प्रभाव र उपाय’ बिषयक बृहत छलफलमा यस्तो निष्कर्ष निकालिएको हो ।

संघर्ष समितिका संयोजक नोखिराम बस्नेतको अध्यक्षता एवं सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रीय अध्यक्ष अप्सरा चापागाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने प्रभावित नागरिकहरुले निकुञ्जको मध्यवर्ती क्षेत्रले आफूहरुलाई त्रासको वातावरणमा पारेको भन्दै क्षेत्र फिर्ताको माग गरेका थिए । मध्यवर्ती क्षेत्रले गोल्टाकुरी, पञ्चकुले र पुरन्धाराका केही नागरिकहरुको चरिचरण, घाँसदाउरा ल्याउनमा अप्ठ्यारो पर्ने र वन्यजन्तुको आक्रमणको शिकार बन्न सक्ने भन्दै तत्काल सो क्षेत्र फिर्ताको माग गरेका हुन् । तर, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विरेन्द्र कँडेलले नागरिकहरुलाई सो मध्यवर्ती क्षेत्रले कुनै असर नगर्ने भन्दै आन्दोलनभन्दा पनि वार्ता र संवादको माध्यम खोज्न आग्रह गर्नुभयो । २०६७ सालमा निकुञ्ज र मध्यवर्ती क्षेत्र घोषणा भैसकेर काम धेरै अगाडि बढेको भन्दै नागरिकहरुमा छाएको जस्तो त्रास केही नरहेको र चोरी शिकारी तस्करी भने ठप्प हुने बताउनुभयो । उहाँले अन्य चरिचरन र स्थानीय नागरिकको आम्दानीमा कुनै फरक नपर्ने दावी गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वन महासंघकी केन्द्रीय अध्यक्ष अप्सरा चापागाइले वन र जीवजन्तु जोगाउन समुदाय र सामुदायिक वनजस्तो निकुञ्ज तथा आरक्षणको नभएको दावी गर्नुभयो । सरकारले वन जोगाउने नाममा निकुञ्ज घोषणा गर्ने निर्णय गर्नु गलत भएको भन्दै उहाँले वन संरक्षणको पुरानो संरचनालाई रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । कानून र कार्यान्वयन तहमा सुधार पनि आवश्यक रहेको भन्दै उहाँले त्यहाँका नागरिकहरु सहज तरिकाले बस्न पाउने अधिकार सिर्जना गर्न सरकारसँग माग गर्नुभयो । कार्यक्रममा महासंघका केन्द्रीय पदाधिकारी, जिल्लाका पदाधिकारी, वन अधिकृत, राजनितिक दल, पत्रकार, नागरिक समाजलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *