‘डुबाउने भो सडक डिभिजनको अवधारणाले’

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 87 Views   ||

peedit-[जनक नेपाली]
दाङ, पुस २३ । घोराही नगरपालिकाले १५ मिटर अवधारणा अनुसार घर नक्सापास इजाजत पत्र दिएपछि घर बनाउन शुरु गरेका घोराही–१० ट्राफिकचोकका तुला राना अहिले भने अप्ठ्यारोमा पर्नुभएको छ  । सडक डिभिजन कार्यालयले २१ मिटरको अवधारणाअनुसार घर बनाउन सूचना जारी गरेपछि राना अप्ठ्यारोमा पर्नुभएको हो । जग्गा खरिद गर्दा १५ मिटरको अवधारणाअनुसार गरेका राना सडक डिभिजन कार्यालयले भनेबमोजिम गरे आफू सुकुम्बासी हुने बताउनुहुन्छ । ‘श्रीमानले विदेशबाट कमाएर पठाएको २÷४ पैसा र साहुऋण गरेर सानो घर बनाउँदैछु, यही घर भत्कने भयो भने हाम्रो त बिचल्ली हुन्छ ।’

तुला रानामात्र होइन सडक डिभिजनको अवधारणाअनुसार सडक बिस्तार गरेमा घोराही बजारको मुख्य सडक वरपरका अधिकांश घरहरु भत्किन्छन् । पहिले नै नगरपालिका र सडक डिभिजन कार्यालयले यसबारेमा सचेत भएर २१ मिटर बाटोको लागि जग्गा छाड्नुपर्ने सूचना नगर्दा अहिले यस्तो समस्या आएको पीडितहरुको भनाइ छ ।

मध्यपश्चिम सडक डिभिजन कार्यालय नं. २ दाङले सार्वजनिक सडक ऐन २०३१ मा रहेको व्यवस्थाअनुसार लमही–घोराही–तुलसीपुर सडकखण्डमा १५/१५ मिटर गरी ३० मिटर जग्गा सडक सीमा तोकेको भन्दै आफूले त्यही अवधारणाअनुसार घर बनाउन लागेको रानाले बताउनुभयो । सर्वसाधारणका घरटहरा भत्काएर, सुकुम्बासी बनाएर विकास नहुने उहाँको तर्क छ । तोकिएको सडक सीमाबाट दायाँ बाँया ६/६ मिटर छोडी पक्की घरटहरा निर्माण गर्नुपर्ने सडक डिभिजनकै होडिङ बोर्डमा रहेको बताउदै रानाले आफूले घर बनाउँदा कानूनी दायरामै रहेर निर्माण गरेको र २१ मिटर अवधारणाअनुसार घर भत्काउन खोजे आन्दोलनमा उत्रिनेको विकल्प नभएको बताउनुभयो । सडक डिभिजनले जबर्जस्ती सडक भत्काए त्यसको क्षतिपूर्ति राज्यले दिनुपर्ने पीडितहरुको माग छ ।

रानाजस्तै मानपुर–९ बघौसीबाट बसाई सरी घोराही–४ हरिद्वारमा बस्दै आउनुभएका रामकृष्ण रिजालले पनि नगरपालिकाले भनेबमोजिम घर निर्माण गरेको बताउनुहुन्छ । बघौसीमा रहेको पुख्र्यौली सम्पत्ति बेचेर हरिद्वारमा तीन कोठे घर बनाएको बताउनुभयो । नगरपालिकाले दिएको इजाजत–पत्र देखाउँदै रिजालले भन्नुभयो– ‘सडक फराकिलो पार्ने भन्छन्, घर भत्काइन्छ कि भन्ने डर छ । भत्काउने नै हो भने नगरपालिकाले किन इजाजत दिएको त ?’ २०५५ सालको नगरपरिषद्को निर्णय अनुसार आपूmले इजाजत पाएको भन्दै रिजालले सम्पत्तिको नाममा रहेको त्यही घर मात्रै कुनै पनि हालतमा भत्काउन नदिने बरु सडकको स्वामित्व नगरपालिकालाई दिनुपर्ने बताउनुभयो ।

उसो त बिजौरी–३ मनिकापुर निवासी मधुसूदन वलीले १५ मिटरको अवधारणाअनुसार नगरपालिकाले इजाजत–पत्र दिएपनि आफूले १८ मिटरमा घर बनाउन लागेको बताउनुभयो । घोराही– ११ रतनपुरमा ३० लाखको लागतमा घर बनाउन लागेको भन्दै वलीले २१ मिटर छाडेर घर बनाउँदा आफ्नो छाक, बास जाने बताउनुहुन्छ । बाबुबाजेको सम्पत्ति बेचेर घर बनाउन लागेको भन्दै वलीले सडक डिभिजनले क्षतिपूर्ति दिए आपूmले २१ मिटरको अवधारणा अनुसार घर निर्माण गर्न तयार हुने बताउनुभयो । उहाँले सडक सबैलाई आवश्यक पर्ने भएकाले त्यसको विरोध गर्नुभन्दा वैकल्पिक व्यवस्था खोज्नुपर्छ भन्नुभयो ।

तुला राना, रामकृष्ण र मधुसूदनमात्र होइन, सडक विस्तारविरुद्ध सडक नजिक भएका स्थानीय बासिन्दाहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका छन् । समितिको तर्फबाट उनीहरुले अहिलेसम्म जिल्ला प्रशासन कार्यालय, घोराही नगरपालिका, सडक डिभिजन कार्यालय लगायत स्थानीय निकायहरुमा सडक विस्तार रोक्न माग गर्दै ज्ञापनपत्र बुझाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *