थारु समुदायका महिलाहरुले विभिन्न हस्तकला बनाउँदै आएका छन् । ती हस्तकलामध्ये थारु संस्कृतिमा ‘डेल्वा’ को धेरै महत्व रहदै आएको छ । डेल्वा बनाउनका लागि थारु भाषामा ‘कसुन्ना’ भन्ने एक प्रकारको नरम घाँस र काँचो खरलाई सुकाएर हातले बुनेरढकियाको रुपमा तयार गरिन्छ । विभिन्न किसिमका कपडा, मयूरका प्वाँख, सुटहीले सिंगारेर रंगीचंगी बनाएको ढकियालाई थारु भाषामा ‘डेल्वा’ भन्ने चलन छ ।
यो ढकिया थारु समुदायमा सबैभन्दा बढी प्रयोग गरिने हस्तकला हो । खासगरी चाडपर्व, विशेष कार्यक्रम, बिहेमा सजावटका लागि र कपडा, गरगहना र बहुमूल्य सामग्री राख्नका लागि थारु जातिले ‘डेल्वा’ को प्रयोग गर्दछन् । त्यति मात्र नभएर विभिन्न पूजापाठको बेला पनि ‘डेल्वा’ को प्रयोग गरिन्छ । अन्य समुदायमा काँच र पितलको भाँडालाई जति चोखो रुपमा मान्छन् त्यति नै थारु समुदायले ‘डेल्वा’लाई चोखो रुपमा लिने गर्दछन् ।
‘डेल्वा’ लाई थारु समुदायको बिहेमा अनिवार्यरुपमा प्रयोग गर्दै आएको घोराही– २ गुलरियाका गुदासी चौधरी बताउनुहुन्छ । विवाहका बेला पुरुषको तर्फबाट जन्ती जाँदा चार/पाँच जना थारु महिलाहरु ‘नकोण्डी’ले दुलहीको लागि कपडा, गरगहना डेल्वामा बोकेर जाने चलन रहेको चौधरीले बताउनुभयो । उहाँका दुलहीको तर्फबाट आउने ‘नकोन्डी’ हरुले पनि दुलाहाका लागि लुगा र अन्य सरसमान डेल्वामा राखेर ल्याउने चलन छ ।
थारु समुदायले प्रयोगमा ल्याउने गरेका हस्तकलामध्ये सबैभन्दा बढी प्रयोग गरिने डेल्वा नै भएको चौधरीको भनाइ छ । उसो त ‘डेल्वा’ अहिले अरु समुदायले पनि प्रयोग गर्न थालेका छन् । सफा र सुन्दर देखिने डेल्बालाई आजभोली बैठक तथा सुत्ने कोठाको सजावटको लागिसमेत प्रयोग गरिन्छ । ‘थारु समुदायमा डेल्वाको प्रयोग नहुने कुनै घरै हुँदैन, गुदासी चौधरीले भन्नुभयो– ‘हिजो आज त्यति कसुन्ना, खर, सुटही, मयुरका प्वाँख सजिलै नपाइने भएकाले डेल्वा पनि कमै बनाइन्छ ।’
कुनै बेला थारु समुदायले मात्र प्रयोग गर्ने डेल्वा अहिले देशविदेशमा समेत निकै राम्रो सजावटको वस्तु बनेको देउखुरीकी सुनिता चौधरीले बताउनुभयो । आफ्नो समुदायको संस्कार र हस्तकलाको सामग्रीले राम्रो बजार पाउँदा आफूहरुलाई निकै खुसी लाग्ने गरेको उहाँ बताउनुहुन्छ । थारु समुदायले उत्पादन गर्ने विभिन्न हस्तकलाका सामानहरुको उद्योग सञ्चालन गरिरहेको भन्दै सुनिताले आफूले सबैभन्दा बढी डेल्वा नै बिक्री गर्ने गरेको बताउनुभयो । डेल्वाको माग सबैतिर भएको भन्दै उहाँले सानो, ठूलो आकार हेरेर एक हजार पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । थारु संस्कार संस्कृतिका हस्तकलाका सामान अहिले सबैको घरमा भित्रिदा आयस्रोत पनि बढेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।