किन यसरी बढ्दैछ महिलामाथिको हिंसा ?

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 95 Views   ||

Aastha_kc-[आस्था केसी]

  • मकवानपुरको उत्तरी गोगने–५ का प्रेम बहादुर मोक्तानले यौनसम्पर्क गर्न नपाएको रिसमा पत्नी बिबिमायाको विभत्स हत्या गरे । सँगै मर्ने, बाँच्ने कसम खाएका दुःखसुखका साथी भन्नेले नै यौनसम्पर्क गर्न नदिएको झोंकमा कपालमा समातेर भुँईमा टाउको ठोकी–ठोकी हत्या गरेर मात्र नपुगी श्रीमतीको लासलाई डोकोमा बोकी भीरबाट फालिदिए ।
  • देशैभरि महिला हिंसाविरुद्ध आन्दोलन चलिरहेको बेला पुस १९ गते बिहीबारका दिन झापाको दमकस्थित चिया बगानमा एक युवती सामूहिक बलात्कारको शिकार भइन् ।
  • तीन बर्षअघि घरेलु कामदारको रुपमा साउदी अरब पुगेकी भोजपुरकी युवती गत मंसिर ४ गते काठमाडौंको अति व्यस्त बागबजारस्थित लजमा बर्दीधारी सिपाहीबाट पटक–पटक बलात्कृत भइन् । उनले विदेशबाट कमाएर ल्याएको रकमसमेत अध्यागमनका कर्मचारी मिलेर लुटिदिए ।
  • बर्दियाकी शिवा हासमी आफूले प्रेम गरेको युवकसँग बिहे गर्न पाउनुपर्ने अडानकै कारण आफ्नै बुबा र दाजु भनाउँदा आफन्तहरुबाट ज्यूँदै जलाइन पुगिन् । बाँच्नको लागि अस्पतालको बेडमा जीवन र मृत्युसँग संघर्ष गर्दागर्दै अन्ततः केही दिनपछि उनी जीवनसँग हारिन् । उनको मृत्यु हुन पुग्यो ।
  • बाराकी विन्दु ठाकुरको जलाएर बिभत्स तरिकाले हत्या गरियो । एसएलसीको तयारी गरिरहेकी बिन्दुलाई आफ्नै बुवाले हत्या गरेको भन्ने कुरा बाहिर आएको छ । उनको हत्या किन गरिएको हो भन्ने कारण अझै खुल्न सकेको छैन ।
  • यो आलेख लेख्दै गर्दा बारामै छ बर्षीया बालिका एक युवकद्वारा बलात्कृत भएको खबर सञ्चारमाध्यमहरुमा आइरहेको छ ।

यी सबै घटना त चर्चामा आएका केही प्रतिनिधि घटनामात्र हुन् । यी घटनाहरुलाई हेर्दा मात्र थाहा हुन्छ कि महिलामाथिको हिंसा घट्नुको साटो झन–झन बढ्दै गइरहेको छ । हाम्रो समाज महिलामाथि कति बर्बर र निर्दयी बन्दैछ भन्ने कुरा माथि उल्लेखित घटनाक्रमहरुले पनि पुष्टि गर्दछन् । महिलामाथि परको व्यक्तिले मात्र होइन आफ्नै घरका बुबा र दाजुहरुले समेत अमानवीय ढंगले हिंसा गरिरहेका छन् । देशैभरि दिनहुँजसो कतै न कतै महिलाहरु प्रताडित भइरहेका छन् । कतै श्रीमान्लाई रक्सी नखाऊ भनेकै आधारमा श्रीमतीहरु जलाइएका छन् त कतै यौनसम्पर्क गर्न नमानेकै कारण सनकका भरमा श्रीमानबाटै अनाहकमा जलाइएका छन् । सामूहिक बलात्कारको त कुरै छाडौं आफ्नै दाजु, बाबु वा नजिकका आफन्तहरुबाटै ललाईफकाई यौन शोषणको शिकार हुनेहरु १६ बर्षमुनिका बालिकाहरु धेरै रहेका छन् ।

प्रत्यक्षजसो यौनशोषण र विभिन्नखाले ज्यादतीहरु भोग्नेहरु जति छन् तिनको तुलनामा त्यस्तैखाले हिंसा सहन नसकेर बिषसेवन गरेर वा झुण्डिएर आफूले आफैलाई सिध्याउने अर्थात् आत्महत्या गर्नेहरु पनि कम छैनन् ।

दाङकै घोराही–४ चौघेराकी गीता मगर (नाम परिवर्तन) यसकै एक उदाहरण हुन् । बीए पहिलो बर्षमा अध्ययनरत गीताका परिवार र साथीहरुका अनुसार उनी असाध्यै मिलनसार र मेहनती थिइन् । स्थानीय विद्यालयकी शिक्षिकासमेत रहेकी उनी छिमेककै माइजु नाता पर्ने महिलाले लगाएको चरित्रहीनको आरोप सहन नसकेर बिषसेवन गरी आत्महत्या गरिन् । गत फागुनमा सदरमुकामको नाकै मुनि भएको एउटी युवतीमाथिको त्यसप्रकारको हिंसा र अत्याचारको विरोध गर्ने र दुई शब्द बोलिदिने फुर्सद कुनै महिला अधिकारवादी संघसंस्था वा मानवअधिकारवादीहरुलाई भएन । किनकि सबैलाई शहरमा १ सय २ आंै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यतापूर्वक मनाउने चटारो थियो ।

नेपाली समाजमा दिनहुँजसो हुने र भइरहेका महिलामाथिका विभिन्नखाले हिंसाका घटना र ती घटनाविरुद्धमा नेपाली समाजले साँधेको मौनता पीडकहरुको लागि हौसला बन्न पुगेको छ । यही पुस १ गते छिमेकी राज्य भारतको नयाँ दिल्लीमा गुडिरहेको बसमा एक छात्रामाथि भएको सामूहिक बलात्कारको घटनाले सिङ्गो भारतभरि जुन खालको जनलहर सिर्जना भयो, यसले भारत सरकारलाई नै अप्ठ्यारोमा पारेको छ । दुनियाँभरका सारा मानिसहरुको सहानुभूति र भारत सरकारको पीडितप्रति र घटनाप्रतिको संवेदनशीलताका बाबजुद बलात्कृत छात्राले घटनाको १३ दिनपछि सिंगापुरमा ज्यान गुमाउन पुगिन् भने बलात्कारीप्रतिको विद्यमान कानूनलाई परिमार्जन गर्ने र बलात्कारीलाई मृत्युदण्ड दिनेसम्मको नजीर बनाउने आश्वासन दिएर तत्कालका लागि आन्दोलनलाई मत्थर बनाउन भारत सरकार सफल भएको छ । यो घटनाबाट हामी नेपालीहरुले पनि शिक्षा लिन जरुरी छ ।

‘एक थुकी सुकी सय थुकी नदी’ भन्ने नेपाली उखानको सार पनि सायद यहीं हो । आज हाम्रा छोरीचेलीहरु कतै पनि सुरक्षित छैनन् । एक जनाले बोलेर केही पनि हुँदैन । महिलामाथि दिन दुगुणा रात चौगुणा बढ्दै गएका अत्याचार र बलात्कारहरुको तत्कालै उचित सम्बोधन गर्नका लागि वर्तमान सरकारलाई दबाब दिन आवश्यक छ । त्यसका लागि राजनैतिक दलका भातृ संगठनहरुले बेग्लै, महिला अधिकारवादी संघ, संस्थाहरुले बेग्लै र नागरिक समाजले बेग्लै आन्दोलन गरेर हुँदैन । सम्पूर्ण नागरिक समाज, शिक्षक, बुद्धिजीवी, कर्मचारी, विद्यार्थी, महिला सबै–सबै मिलेर एउटा सशक्त आन्दोलनको सिर्जना गर्नुपर्दछ । जुन आन्दोलनले बलात्कारी र महिलामाथि हिंसा गर्नेहरुमाथि कडाभन्दा कडा सजाय हुने कानूनको ग्यारेन्टी गर्न सरकार बाध्य होस् ।

अहिले देश राजनैतिक अस्थिरताबाट गुज्रिरहेको छ । कामचलाउ सरकारले देश चलाइरहेको अवस्था एकातिर छ भने अर्कोतिर दलहरुबीचको असमझदारीका कारण लामो समयसम्म पनि संविधानसभाका लागि चुनाव हुने वातावरण बन्न सकिरहेको छैन । औपचारिकरुपमा देश कानूनविहीनजस्तै बन्न पुगेको छ । अन्तर्यमा जे भएतापनि रुपमा देख्दा सत्ताको छिनाझप्टीमा नै दलहरु व्यस्त देखिन्छन् । यस्तो संवेदनशील अवस्थामा विभिन्नखाले स्वार्थ बोकेका शक्तिहरु सतहमा आएका छन् । जनताका गाँस, बास र कपास तथा स्वास्थ्य, शिक्षा र रोजगारजस्ता आधारभूत आवश्यकताहरु पूर्ति हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा देशव्यापीरुपमा पूर्व झापादेखि पश्चिम धनगढीसम्ममात्र होइन देशको मुटु मानिने राजधानीमै दिनदहाडै महिलाहरु बलात्कृत हुनु सामाजिक बर्बरताको पराकाष्ठा हो । सबैभन्दा उदेकलाग्दो कुरा त यो छ कि देशको सुरक्षाको जिम्मेवारी लिएका बर्दीधारीहरु नै बढीजसो बलात्कार काण्डमा मुछिएका छन् । भलै त्यस्ता कति घटनाहरु अझै पनि बाहिर आउन सकिरहेका छैनन् । विडम्बना ! सकेसम्म त्यस्ता केशहरु गुपचुपमै मिलाउने गरिएको छ ।

हिजो युद्धकालमा सुरक्षा निकायबाट जति पनि महिलाहरु गिरफ्तार गरिए ती सशस्त्र जनयुद्धमा सहभागी होऊन् वा नहोऊन् सबैजसो महिलाहरुलाई एकल वा सामूहिकरुपमा बलात्कार गर्नु तत्कालीन सरकारी बर्दीधारीहरुको पहिलो र गौरवशाली काम थियो । माथिल्लो स्तरदेखि लिएर तल्लो तहसम्म यहीखाले क्रियाकलापबाट गुज्रेर आएका कतिपय सुरक्षाकर्मीहरुले अहिलेसम्म पनि त्यो गलत हर्कतबाट मुक्त भएको देखिएन ।

महिला हिंसाविरुद्धमा यो आलेख लेख्दै गर्दा पनि महिलाहरु बलात्कृत भएका समाचारहरु आइरहेका छन् । बिहीबार झापाको चिया बगानमा एउटी युवती बलात्कारको शिकार भइन् । त्यसैगरी बुटवल र काठमाडौंमा बालिकाहरु यौन दुव्र्यवहारको शिकार भए । के गरिरहेको छ यो देशको सरकार ? किन यी बर्बर श्रृंखलाहरु रोकिएका छैनन् ? किन प्रभावकारी कदम चालिरहेको छैन सम्बन्धित निकाय ? हामी सम्पूर्ण सचेत मान्छेहरुका लागि यो लाजमर्दो बिषय बनेको छ । सम्पूर्ण सरोकारवाला, महिलाअधिकारकर्मी र जनसमुदाय अब जाग्नुपर्ने बेला आएको छ । कोठे सेमिनार र भाषणबाजीबाट बाहिर निस्केर व्यवहारिकरुपमा कानूनी राज बनाउन हामी सबै दत्तचित्त भएर लागि परौं ता कि आउने दिनमा कुनै पनि महिलाले छोरी भएर जन्मेकोमा हिनताबोधको महशुस गर्नु नपरोस् ।

प्रकाशित मिति : २०६९ पुस २२ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *