औचित्यहीन पार्टी फुट र ‘पिसाबको न्यानो’

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 111 Views   ||

Shyam_budha-[श्यामकुमार बुढामगर ‘चिन्तन’]

बोल्न त सजिलो हुन्छ तर गरि पु¥याउने कुरा बेग्लै महत्वको हुन्छ । त्यो धेरै गाह्रो र कठीन विषय पनि हो । हामी पार्टी र क्रान्तिका लागि भनेर जीवन जनयुद्धको आँधीबेहरीमा होमेका थियौं तर बाँचेर आजको दिनसम्म आइपुग्ने कुराको हामीले कुनै कल्पनामा पनि चिताएका थिएनौं । न आजको जस्तो लोभी पापी संसारमा फर्केर यस्तो दुर्दशा भोग्नुपर्ला भनेर नै चिताएका थियौं । हिजो लडाईं लड्दा हाम्रो प्रशंसा गर्ने आफन्तहरुको हामी आजको अवस्थासम्म टिकेर आइपुग्न कम महत्वको भूमिका रहेको छैन ।

तर, आज भने पार्टी फुटेको छ । क्रान्तिको सपना अधुरै ‘भञ्ज्याङमा बास बसेको सपना’ झैं भएको छ । यस्तो स्थितिमा आज हाम्रा आफन्तहरु समेत हामीसँग चिढिने स्थिति छ । न सरकारमा हुँदा कुनै काम गरेर ती आफन्तजनको सहयोग गर्न नै सकिएको छ न उनीहरुको चित्त बुझ्ने प्रकारले पार्टीको गतिविधि नै अघि बढ्न सकेको छ । यस्तो स्थितिमा ती आफन्तजनहरु चिढिनु स्वभाविक पनि हो । तर, पार्टी फुटको दोष हाम्रो थाप्लोमा बोकाएर बुर्कुसी मार्नु भने किमार्थ मिल्दैन । संसारको चल्ने आफ्नै नियम हुन्छ, जुन कुरा हाम्रो इच्छाभन्दा बाहिरको कुरा हो । हाम्रा नेताहरुको विचार मिलेन र फुटे । जसको हामीसँग रमिते हुनुसिवाय अरु कुनै साइनो छैन । पार्टीमा विवाद भयो, हामीलाई विवादमा सहभागी गराइयो । हामीले त्यस्तो विवादमा भाग लिदा हाम्रा नेताहरुले परिभाषा गरेअनुसार पार्टी जीवनकै रक्षार्थ गरेका थियौं । कार्यकर्तापंक्तिले कतै पनि फुटको पक्षपोषण गरेको थिएन । तर, दुर्भाग्यवश पार्टी फुटिहाल्यो । फुटिसकेपछि हाम्रो सामु त्यसको सामना गर्नुबाहेक अर्को विकल्प नै थिएन । आज हामीले गरिरहेका कुराहरु यतिमात्रै हो ।

अब सवाल यो छ कि पार्टी किन फुट्यो त ? यो सवाल वास्तवमा धेरै चर्चा भइसकेको विषय हो । तथापी पार्टीमा विषयलाई बुझ्ने र आत्मसाथ गर्ने दृष्टिकोणको अन्तर पर्नु नै पार्टी फुटको कुञ्जी हो । यद्यपि यसमा दुश्मन खेल्यो पनि होला तर मुख्य कुरा आपजको समय र परिवेशलाई हेर्ने, बुझ्ने र बदल्ने विषयमा देखापरेको दृष्टिअन्तर नै मुख्य र आन्तरिक पक्ष हो । एउटै विषयलाई फरक–फरक ठाउँबाट हेर्दा फरक देखिन्छ नै । घोराही बजारलाई वुटवलबाट हेर्दा पश्चिम देखिन्छ तर नेपालगञ्जबाट हेर्दा पूर्व देखिन्छ । त्यस्तै, हाम्रो पार्टीले अंगिकार गरेको वर्तमानमा कार्यान्वयन भइरहेका कार्यनीतिहरु र वर्तमान उपलब्धिहरुलाई हेर्ने, बुझ्ने र स्वीकार गर्ने सवालमा आएको मतभिन्नता र स्वीकार एवम् अस्वीकार नै फुटको लागि जिम्मेवार छन् । ठीक यहीँनेर एउटै आन्दोलनको मोर्चामा डटेका सहयोद्धाहरुको बीचमा वर्तमानलाई फरक–फरक ठाउँमा बसेर हेर्ने, बुझ्ने र आत्मसाथ गर्ने अवस्था कसरी उत्पन्न भयो ? यो पनि कम महत्वको विषय होइन । यसको बारेमा कुनै दिन चर्चा गरौंला । तर, अहिलेको मुल कुरा भनेको फुट्नुमा मुख्य भूमिका दृष्टिकोणमा आएको अन्तर नै जिम्मेवार छ । त्यो अन्तर अन्यत्र देखापर्नुले त्यति ठूलो असर गर्न सक्दैनथ्यो तर पार्टीका मुख्य नेतृत्वपंक्तिमा आएको अन्तरले गर्दा आजको अवस्था आएको हो । यसर्थ हामी यो पार्टी फुटका लागि मुख्य जिम्मेवार पक्ष होइनौं । यो कुरा हाम्रा प्यारा आफन्तजनहरुले बुझ्न जरुरी छ । यसरी पार्टी फुटाएर बाहिरिने नेता साथीहरुले ‘भाइ फुटे, गवाँर लुटे’ भनेझैं हाम्रा शत्रुवैरी हँसाउने काम गर्नुभयो ।

अब सवाल उठ्छ, फुट्ने साथीहरु आगामी दिनमा के गर्नुहोला ? यो प्रश्नको जवाफ अनुत्तरित नै छ । उहाँहरु लडाईंमा जानैपर्नेछ अन्यथा फुट्नुको कुनै औचित्य छैन । परन्तु, जति लडे पनि एउटा बिन्दुमा वार्ताको टेबलमा त आउनु नै पर्दछ । यो कुरा संसारका धेरै क्रान्तिहरुको सामु आएको देखिन्छ । त्यसबेला क्रान्तिकारी पार्टीको पक्षमा राजनैतिक सन्तुलन बन्ने वा नबन्ने भन्ने कुराले धेरै ठूलो महत्व राख्दछ । यस्तै मोडमा नै कोरिया दुइटा भयो । भियतनाम दुइटा भयो । माओले राजनैतिक परामर्श सम्मेलनमा बोलाउँदा आफ्नो पक्षमा सन्तुलन कायम गर्नुभयो तर लडाईं त्यतिखेर पनि टुंगिएको थिएन । यसर्थ शान्तिवार्ताको बाटोबाट अघि बढ्ने र क्रान्तिको नौलो बाटो खोज्ने अहिले हाम्रो सामु जुन मोड आयो, यही मोड फुटेर जाने साथीहरु फेरि युद्धमा गए पनि आउने नै देखिन्छ । त्यसबेला आजको नेतृत्वले भड्खालोमा हालेको आरोप साथीहरुसँग भोलि त्यो मोडमा आउँदा भड्खालोमा नहाल्ने कुराको ग्यारेन्टी छैन । यो नेतृत्वले हामीलाई यहाँसम्म त ल्याइपु¥यायो तर उहाँहरुले यहाँसम्म ल्याइपु¥याउने कुराको पनि कुनै ग्यारेन्टी छैन । यो सवालमा सबैले विचार पु¥याउनु आवश्यक छ ।

हामीले जुन राजनैतिक एजेण्डाहरुको बलमा देशलाई यो अवस्थामा ल्यायौं, ती राजनैतिक एजेण्डाहरु आज असरल्ल सडकमै वेवारिसे छोडेर उहाँहरु हिड्नुभएको छ । अब अरु कुन राजनैतिक एजेण्डामा उहाँहरु अघि बढ्ने ? दलित, महिला, जनजाति, उत्पीडित क्षेत्र र समुदायहरुले ती एजेण्डाहरु सडकमै छोडेर हिड्दा कसरी साथ दिने ? यो सवाल पनि टड्कारै छ ।

यसरी हेर्दै गर्दा एकीकृत नेकपा माओवादीसम्बद्ध नेताहरुलाई भ्रष्टहरुको रुपमा व्याख्या गर्ने र चरित्रहत्या गर्दै हिड्ने काम उहाँहरुले गरिरहनुभएको छ तर एकपटक उहाँहरुले आफ्नो अनुहार पनि फर्केर हेर्नु आवश्यक छ । आफूलाई खाँटी सर्वहारा भन्नुहुन्छ तर एकपटक आफ्नो वरिपरिका हस्तीहरुतिर पनि फर्किएर हेर्नु आवश्यक छ । अवसर पाउँदा लत्याएर हिड्ने त्यागी नेता र कार्यकर्ताको त्यहाँ पनि खडेरी नै देखिन्छ । वास्तविकरुपमा भन्ने र गर्ने बीचको अन्तर खाडल त्यहाँ झन् डरलाग्दो रुपमा देखा पर्दछ ।

फुटेर बनेको नेकपा–माओवादीमा मित्र र दुश्मन चिन्ने र छुट्याउने सवालमा पनि समस्या नै देखिन्छ । भर्खरमात्र सत्ताच्यूत भइरहेका सामन्तहरुसँग राष्ट्रवादको नाममा गठजोड र्ने राजनीतिक कार्यनीतिले खुबै भलो होला भन्ने देखिदैन । त्यस्तै, एमाओवादीलाई जसरी पनि हराउने बहानामा वर्गवैरीहरुकै गोटी बन्न पुग्नुले पनि ‘पिसाबको न्यानो’मा रमाउने वेकुफी सिवाय अरु हुने देखिदैन । यसर्थ फुट्नु राम्रो थिएन । तर, फुटेपछि पनि सहकार्यको हात बढाउनु नै श्रेयस्कर हुन्छ । सायद त्यसले नै साँचो सहयात्रीहरु यदि अल्मलिएका रहेछन् भने पनि फेरि जुटाउन सहयोग गर्ला कि ?

प्रकाशित मिति : २०६९ पुस २२ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *