महिला हिंसाका अपराधीलाई हदैसम्म कार्बाही गर

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 87 Views   ||

बाक्लिदो पुसको जाडोसँगै बढ्दै गएको राजनीतिक अन्योल, अकर्मन्यता र अस्थिरताले पैदा गराएको परिणति पनि भन्न सकिन्छ समाजमा बढ्दै गइरहेका अपराध र महिला हिंसाका श्रृंखलाबद्ध घटनाहरुलाई । पछिल्लो चरणका महिलामाथि भएको हिंसालाई मात्र केलाउने हो भने सिङ्गो मुलुक नै असुरक्षाको त्रासदी बोकेर बाँच्नुपरेको स्थिति छ । देशको राजनीति दिशाहीन बनिराख्दा, त्यसले समाजका विभिन्न क्षेत्रमा पार्ने असरको रुपमा ती महिलामाथिका हिंसाका घटनाहरुलाई लिन सकिन्छ । बर्दियादेखि काठमाण्डौं हुँदै बारा र महोत्तरीका जिल्लासम्म महिलामाथि भएका लुट, बलात्कार र पाशविक हत्याका घटनाहरुलाई हेर्दा लाग्छ देश दण्डहीन अराजकता र उद्दण्डतातर्फ घचेटिदै गइराखेको छ ।

महिलामाथि हुने लुटपात र बलात्कारका घटना हाम्रो समाजका पुरानै विकृतिका अपराध हुन् । तर यी अपराध दण्डित भएर घट्दै जानुको साटो झन् बढ्दै जानु गम्भीर चिन्ता र पीडाको विषय हो । स्कूल, कलेज वा अन्य कुनै काममा हिडेकी युवती दिनदहाडै लुटिनु, सार्वजनिकस्थलमै सामूहिक बलात्कृत हुनुको अर्थ यो राज्यको सुरक्षा संयन्त्र कति कमजोर र निरीह छ भन्ने कुराको राम्रो उदाहरण पनि हो । चाहे त्यो बर्दियामा जलाइएकी शिवा हसिमको हृदय विदारक घटना होस् वा बाराकी किशोरी बिन्दु ठाकुरको । त्रिभुवन विमानस्थलमा सरकारी कर्मचारीहरुबाट लुटिएकी र प्रहरीबाट बलात्कृत हुन पुगेकी सीता राई हुन् वा देशका विभिन्न ठाउँमा बलात्कृत बालिकाहरु । उनीहरुजस्तै लुटिने, बलात्कृत हुने र चरम यातना दिएर हत्या गरिने महिलाको सूचिमा दिनैपिच्छे नाम थपिदै गइरहेको छ । महिलामाथि हुने घरेलु हिंसा र ज्यादतीका हजारां घटनाहरुलाई छाडेर दिनदहाडै, सम्साँझै व्यस्त सडक र सार्वजनिक स्थलमै भइरहेका सामूहिक बलात्कार, यातनापछिका हत्या र लुटपाटजस्ता घटनाहरुलाई मात्र लिने हो भने हाम्रो समाज कहालीलाग्दो अपराधीकरणतिर उन्मुख हुँदै गएको दुःखान्त तस्वीर देखिन्छ भने राज्य अपराधीलाई पक्रन उदासिन बनेको अनुभूति हुने गर्छ ।

समाजभित्रका गलत संस्कारको दासत्व र त्यसको पहिलो शिकार हाम्रै दिदीबहिनीहरु हुँदै आइरहेका छन् । उनीहरुले बोक्सीको नाममा, छोरा नजन्माएको निहुँमा, दाइजोको बहानामा वा छाउपडी प्रथाको निहुँमा चरम हिंसा मात्र व्यहोर्नु परिराखेको छैन, अनाहक ज्यानसमेत गुमाउनु परिराखेको छ । कलङ्कको रुपमा रहेका कु–संस्कार र कुरीतिले जकडिएको हाम्रो समाज र रुढीगत संस्कारहरुले फैलाउने अपराधको निशानामा हाम्रा चेलीबेटीहरु पर्दै आइरहेका छन् । त्यस्तै, हाम्रो समाजको संकुचित अवस्थाले गर्दा बेइज्जतको महशुस गरि घटना लुकाइदा अपराधीको मनोबल बढ्ने र हिंसा दोहरिराख्ने गरेका छन् । घटना बाहिर आए पनि कानूनी जटिलताका कारण पनि यस्ता अपराधका घटनाबाट महिलाहरु सुरक्षित हुन सकिरहेका छैनन् । न्यायका लागि महिलाहरुले अदालत धाउँदाका कानूनी झञ्झट, प्रकृयागत सास्ती, ढिलाइ र कानूनी लडाईंमा उल्टै प्रतिवादीले जित्ने अवस्था आदिले अपराधीको मनोबल घट्नुको साटो बढ्न जाने स्थिति रहन्छ ।

महिलामाथि श्रृंखलाबद्ध रुपमा भएका हिंसात्मक घटनाका विरोधका स्वरहरु बढ्दै गइरहेका छन् । कुनै घटना भएपछि पीडितले दोषीलाई दण्डित गर्दै कानूनी न्यायको माग गर्र्ने राज्यले त्यसका लागि प्रतिबद्धता जनाउने कुरा एक किसिमको नियमजस्तै बनेको छ । सोहीअनुरुप सरकारले महिलामाथि पछिल्लो चरणमा भएका घटनाहरुको छानविन समिति गठन गरी सबै घटनाका दोषीलाई कानूनी दायरामा ल्याउने बताइसकेको छ । तर, यी कुराहरुले मात्र यस्ता हिंसात्मक घटनामा कमी ल्याउदैन । यसका लागि महिला हिंसाविरुद्धको प्रभावकारी कानून र त्यससम्बन्धी छुट्टै अदालतको आवश्यकता पर्छ । त्यसबाहेक सरकारले कडा सुुरक्षा व्यवस्थासहितको पीडितलाई छिटो, छरितो न्याय दिलाउने तत्परता देखाउनु पर्दछ । सोहीअनुसार सामाजिकरुपमा पनि अपराधीलाई दण्डित गर्ने र घरेलु हिंसा निम्त्याउने कुरीति र कुसंस्कारनियन्त्रण गर्ने गरी समाज रुपान्तरणको अभियानलाई अघि बढाउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *