जतिबेला साँझले
घुम्टो ओढाउँछ ढपक्क क्षितिजमा
चहलपहल बढ्न थाल्छ
खुनी ब्वाँसाहरुको
लुटेराहरु लुटिरहेका हुन्छन्
पारि क्षितिजमा ।
क्षितिज चुम्ने मालचरिहरु
बगाल छाडी एक्लाएक्लै छन्
दुई दोभानको बीचमा
बास बसिरहेका छन् भोकभोकै
अब बिहानीले छोइसकेको छ ।
केही समयपछि
खोलिनेछ क्षितिजको पर्दा
अनि देखिनेछन् थरि–थरिका मान्छेहरु
बेग्ला बेग्लै अनुहार
सुकिला–मुकिला, कुण्डले–मुण्डले
बदलिन्छ त्यसपछि क्षितिजको रंगमञ्च ।
उनीहरुकै बाहुल्य हुनेछ फेरि क्षितिजमा
हामी हेरिरहेका हुनेछौं टुलुटुलु
बुर्कुसी मारिरहनेछन् क्षितिजमा उनीहरु
हाम्रो खुन पसिना चुस्ने
उनै ब्वाँसाहरु
हामी पुग्नै सक्ने छैनौं त्यहाँ
बोल्न सक्दैनौं हामी
खाली हेरिरहनेछौं टुलुटुलु
अनि भन्नेछौं एक–आपसमा
चुम्नै सकिएन क्षितिज ।
–पाछावाङ, रोल्पा
प्रकाशित मिति : २०६९ पुस २२ गते आइतबार