जीवन र जीवन गीत

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०६९       | 125 Views   ||

dangi sr lekhak-[यज्ञबहादुर डाँगी]

मुक्तियात्रामा हिडेका यात्रुहरु
पृथक–पृथक दायाँ–बायाँ लागिसके
के सोधिरहेको मसँग
यस्तो अवस्थामा पनि कसरी भन्न सक्छु
मुक्तिनाथमा पुष्प कसरी चढाइन्छ भन्ने कुरो
बरु बसाइलाई हिडाइ बनाउने कुरा गर ।

कति–कति नयाँ र सुन्दर शब्दहरु
कति–कति नयाँ र सुन्दर नामहरु
दुर्गन्धयुक्त भइसके
के सोधिरहेको मसँग
यस्तो अवस्थामा पनि कसरी भन्न सक्छु
कवितामा छन्द कसरी मिलाइन्छ भन्ने कुरो
बरु हिडाइलाई लडाईं बनाउने कुरा गर ।

क्रान्तिका यन्त्रविशेष हातहरु
शान्तिका मूर्दा हातहरुले धोएर
लज्जावती झार भइसके
के सोधिरहेको मसँग
यस्तो अवस्थामा पनि कसरी भन्न सक्छु
मटानमा ढिकी कसरी सजाइन्छ भन्ने कुरो
बरु लडाईंलाई जीवन बनाउने कुरा गर ।

उम्लिएका जीवनका कथाहरु
प्रदुषणयुक्त हावाले फुकेर
हिउँदे खोला भइरहेको बेला
के सोधिरहेको मसँग
यस्तो अवस्थामा पनि कसरी भन्न सक्छु
संसद जाँदा कोट कसरी लगाइन्छ भन्ने कुरा
बरु जीवनलाई लडाईं बनाउन मिल्ने कुरा गर ।

आऊ बरु
बसिरहेका छौ भने आऊ
बसाइलाई हिडाइ बनाउन मिल्ने जीवनमा आऊ
हिडिरहेका छौ भने आऊ
हिडाइलाई लडाईं बनाउन मिल्ने जीवनमा आऊ
लडिरहेका छौ भने आऊ
लडाईंलाई जीवन बनाउन मिल्ने जीवनमा आऊ
जीवन बनिरहेका छौ भने आऊ
जीवनलाई लडाईं बनाउन मिल्ने जीवनमा आऊ
आऊ–आऊ–आऊ
सँगसँगै गाउनु छ भने क्रियाशील गीत
आऊ
अनि शुरु हुन्छ जीवन र जीवनको गीत ।

–२०६९ असोज, दाङ
प्रकाशित मिति : २०६९ पुस २२ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *