शारदा : बोकेर आइन् ताप, छोडेर गइन् सन्ताप

  
  प्रकाशित मितिः बुधबार, माघ १७, २०६९       | 118 Views   ||

Sharada Sharma-[उदय जीएम]
दाङ, माघ ६ । मदानी साहित्य समूह नेपाल दाङले यसपालिको बसाईं चर्चित उपन्यास ‘ताप’की लेखिका शारदा शर्मासँग राख्यो दाङमा । शनिबार साहित्यकार शर्मा ‘ताप’ लिएर त आइन्, सँगसँगै दाङबासीलाई उत्तिकै सन्ताप छोडेर गएकी छन् । शारदाले आफ्नो प्रस्तुतिका क्रममा सरल शब्द र गम्भीर अर्थ बोकेका कृति लेख्न जिल्लाका स्रष्टाहरुमा हुटहुटी र सन्ताप जगाएर गइन् ।

तीनजना दाङका समीक्षकहरुको समीक्षा सुनेर उभिएकी शारदाले सुरुमा दाङ जिल्ला पनि साहित्यिक चेतनाको केन्द्र भएको टिप्पणी गरिन् र आफूलाई बोलाएकोमा अलिकति खर्चिन् आभारका शब्द पनि । कविता, निबन्ध, कथा हुँदै समालोचना र आख्यान लेख्न थालेको जानकारी दिँदै शारदाले भनिन्, ‘तापमा कतिपय कल्पना र कतिपय यथार्थता मिसिएको छ ।’ उनले थपिन्, ‘मूल्यविघटन र पुनर्निर्माणको श्रृङ्खला, नयाँ र पुरानोबीचको द्वन्द्व खोतल्दा ताप जन्मियो । यसको आयाम राणाकाल, माओवादी जनयुद्धको समय र जनआन्दोलनपछिको गणतन्त्रसम्म फैलिएको छ ।’

‘समस्या, दुःख, अभाव, पीडा, चुनौतीले गर्दा सबै मान्छे तापमा हुन्छन्’, शारदाले थपिन्, ‘समस्या र तापबाट मुक्ति खोज्दाखोज्दै कतिपयले जीवनबाट नै मुक्ति पाएका छन् । कतिपयले समस्या र तापलाई संघर्षबाटै जित्न सफल भएका हुन्छन् । यिनै सेरोफेरोमा मेरो उपन्यास केन्द्रित छ ।’ साहित्यकार शारदाले आफ्नो उपन्यास कुनै पनि वादमा कैद नभएको दावी गर्दै थपिन्, ‘मलाई लाग्छ कसैको पनि जीवन कुनै निश्चित वादमा अडिएको हुँदैन । भिन्न–भिन्न मनोदशा र मनोभावमा वा विशेष मनस्थितिमा एउटै मानिसमा धेरै वादहरु आउँछन् । फरक यत्ति हो कि तीमध्ये एक समयमा एउटा वादको प्रखरता हुनसक्छ ।’ कार्यक्रममा सहभागी साहित्यानुरागीहरुको प्रश्नको जवाफमा शारदाले जोडिन्, ‘देखेका, भोगेका, सुनेका, पढेका कुराहरुलाई एक÷दुई कोणबाट हेर्ने प्रयास हो ताप । यसमा कुनै निष्कर्ष छैन ।’

साहित्यकार शर्माले आफ्ना सबै कृतिहरु र सबै पात्रहरु समान रहेको धारणा राखिन् । ‘सन्तानहरु कुन राम्रा भनेर कसैले पनि रोज्न सक्दैन । जस्तो भए पनि आमाका लागि सबै सन्तानहरु समान भएजत्तिकै मेरा कृतिहरु मलाई सबै मन पर्छन् ।’ साहित्यकार शर्माका कविता संग्रहहरु ‘सीमान्त अनुभूति’ (२०४४), ‘युद्धोपरान्त’ (२०४९), ‘स्वर्णसूत्र’
(२०५२) यसअघि नै प्रकाशित छन् । उनको कथासंग्रह ‘आस्थाको भग्नावशेष’ (२०४८), समीक्षा ग्रन्थ ‘विश्वेश्वरप्रसाद कोइरालाका नारीपात्र’ (२०५३) र यात्रानिबन्ध ‘भुइँफूलको देश’ (२०६८) पनि पाठकमाझ आइसकेका छन् । त्यसबाहेक थुप्रै फुटकर रचनाहरुमार्फत पाठकमाझ आइसकेर यतिबेला चर्चामा रहेको ‘ताप’की लेखिका शर्मासँग मदानीले परिचर्चा कार्यक्रम राखेको हो ।

कार्यक्रममा समरेखा द्वैमासिक म्यागेजिनका सम्पादक/प्रकाशक तथा महिला मानवअधिकार रक्षकहरुको सञ्जालकी लक्ष्मी आचार्यले ‘ताप’को समीक्षा गर्दै हिंसाको प्रभाव, तटस्थता, गम्भीरता, मानवअधिकार हनन तथा मानवताविरुद्धको ज्यादतिका विषयवस्तुहरुलाई पनि उपन्यासमा सरल शव्दमा पोखिएको बताइन् । उनले मर्मस्पर्शी शब्द चयन यो उपन्यासको अर्को विशेषता भएको उल्लेख गरिन् । अर्की समीक्षक सरिता देवकोटाले उपन्यासको सिंगो कथावस्तुबारे चर्चा गर्दै नेपाली साहित्य आकाशमा ‘ताप’को राम्रो ‘छाप’ रहेको उल्लेख गरे । समीक्षक विष्णु दाहालले ‘ताप’लाई क्रमवद्धताको भङ्गता र विशृड्खलताबीचको शृङ्खलाको संज्ञा दिए ।

कार्यक्रमको सहजीकरण गर्दै साहित्यकार तथा मदानीका एक अभियन्ता बसन्तविवश आचार्यले मदानीलाई राजधानीका स्रष्टा र मोफसलका स्रष्टाबीचको पुलको रुपमा विकास गर्न खोजिएको बताए । मदानीले चर्चामा आएका कृति र स्रष्टाहरुसँग जिल्लाका पाठकहरुबीच प्रत्यक्ष अन्तक्र्रिया गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *