वर्गद्धी हत्याकाण्ड : ‘न्याय ठूलाबडालाई मात्रै ?’

  
  प्रकाशित मितिः बुधबार, माघ १७, २०६९       | 123 Views   ||

chhunilal-[जनक नेपाली]
दाङ माघ ६ । घोराही–३ बर्गदीका छुनीलाल चौधरीलाई दुई भाई छोरा मारिएको घटना भर्खरै जस्तो लाग्छ रे । तर, छोराहरु खुसीराम र जगमानहरु मारिएको पनि ११ वर्ष बितिसकेको छ । छोराको हत्या भएपछि उनी छोरी र नातिको सहारामा बसिरहेका छन् । धान दाउन गएका छोराहरुलाई तत्कालीन शाही सेनाले खल्यानमै मारिदिएपछि पीडितका परिवारजनको अवस्था निकै दयनीय बनेको छ ।
मंसिरको महिना, साँझ ४ बजेतिर आफू घरमै भएको बेला गाउँमा बन्दुक पड्किएको सुनेका छुनिलालले एकछिनपछि निकै पीडादायी खबर सुन्नुप¥यो । घटना सम्झदै उनी भन्छन्– ‘ड्याम्म डुम्म पड्केको त सुनिम्, तर हाम्रै छोराहरु परे भन्ने त के सोच्नु र ?’ उनले भने– ‘हामीलाई छोरा मारिएकोे थाहै थिएन । छोरी र नाति स्कुलबाट फर्केपछि पो सबै था भयो ।’ स्कुलबाट घर आउँदा छोरी सुनिताले दुवै दाजु खल्यानमा ढलेका छन्, धान र कुलोभरि रगत बगेको छ भनेपछि आफू झसंग भएको छुनिलालले बताए । खल्यान पुग्दा कोखामा गोली लागि छट्टपटाइरहेका रुपलालले इशाराले नआऊ नआऊ भने पनि आफू उनलाई समाउन गएको र उनले आफूहरुलाई शाहीसेनाले गोली ठोकी–ठोकी मा¥यो भन्दै काखमै प्राण त्यागेको सम्झदा अहिले पनि भक्कानिन्छन् ।
सामुहिक हत्यापछि थारुबस्ती शोकमा डुबेर कयौं दिन रातभर जाग्राम बसेको छुनिलालले बताए । दुई छोरासहित छिमेकी भाइभतिजाहरुको लास देखेपछि आफू बेहोस भएको भन्दै उनले भने– दुष्टहरुले फेरि आएर छोराहरुको लास पनि लगेछन्, पाँच दिनपछि आफैले एकै ठाउँमा गाड्यो । हामीलाई पनि दिएन ।’ चाडपर्व आउँदा अरुका घरमा खुसीयाली भित्रिने तर त्यतिबेला मारिएका ११ जनाको परिवारमा रुवाबासी हुने छुनिलाल बताउँछन् ।
छुनिलालको जस्तै सोही हत्याकाण्डमा परी मारिएका प्रसादु चौधरीको परिवारमा पनि बिचल्ली भएको छ । बुवाको हत्यापछि खान बस्न पनि समस्या भएको छोरा खलुप्रसाद चौधरी बताउँछन् । आर्थिक अवस्था कमजोर भएकाले बुवाको हत्यापछि दाइले छोड्नुपरेको र आफू पनि राम्रोसँग पढ्न नपाएको खलुको भनाई छ । आमाले काम गर्ने नसक्ने भएपछि दाइले अधियाँ र लेबर काम गरेर परिवार पाल्दै आएको उनी बताउँछन् ।
२०५८ मंसिर १३ गते भएको उक्त सामूहिक हत्याकाण्डमा तत्कालीन शाहीसेनाले बर्गदीका खुसीराम चौधरी, जगमान चौधरी, प्रसादु चौधरी, सितलाल चौधरी, सोमलाल चौधरी, आसाराम चौधरी, कृष्ण चौधरी, जोगी चौधरी, रुपलाल चौधरी, रामु चौधरी र रिसमान चौधरीको हत्या गरेको थियो ।
द्वन्द्वकालका हत्याका घटनाहरुको आवाज उठिरहेका बेला बर्गद्धीका पीडितहरुले आफ्ना आफन्तहरुको हत्यामा संलग्नहरुको कार्बाही हुनुपर्ने माग गरेका छन् । माओवादीको आरोपमा सर्वसाधारण किसानहरुको हत्या भएको ११ भइसक्दा पनि दोषीहरुलाई कुनै कार्बाही नभएको उल्टै अपराधीहरु खुलेआम हिडिरहेकोमा उनीहरुको आपत्ति छ । शान्ति प्रक्रियापछि तत्कालीन घोराहीस्थित शाही सेनाको व्यारेक र स्थानीय जमिन्दारहरुको नाममा पुनरावेदन अदालतमा मुद्दा दिएपनि अहिलेसम्म कुनै सुनुवाई नभएको पीडितहरुको गुनासो छ । हत्याकाण्डमा दुवै छोरा गुमाएका छुनिलालले भने– ‘न्याय पनि ठूलाबडा र पढेलेखेकाहरुलाई मात्र हुने रहेछ, हामी गरिब किसान, थारुहरुलाई कसले पो न्याय दिन्थ्यो र ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *