बुवा, … बुवा, अलबिदा !

  
  प्रकाशित मितिः बिहिबार, माघ १८, २०६९       | 171 Views   ||

6itiz Magar new-[क्षितिज मगर]

त्यतिखेर मेरो मुटुमा विषालु तीरले घोचेजस्तो भएथ्यो, जतिखेर बुवाको मृत्युको सनसनी खबर सुनेथेँ ।

बेलुकीको करिब सात बजेको समय ।
उपत्यकाको कोलाहल र सघन प्रदुषित हावा ।
सम्साँझको लोडसेडिङको अँध्यारो ।
अँध्यारोलाई पर–पर भगाउन धिपधिप गरिरहेको मैनबत्ती ।

सेक्युरिटीसम्बन्धी पछिल्लो दिनको अन्तिम लिखित परीक्षाको तयारीमा कोर्षका बुँदाहरु घोकिरहेको थिएँ म । एकाएक मेरो एकाग्रतालाई भङ्ग गर्दै मेरो मोबाइलको रिङटोन बज्छ । ‘अननोन’ नम्बरबाट फोन आउँछ । केहीबेर त हेरिरहेँ– कहाँको नम्बर भनेर । राप्तीकै थियो ‘रिम नम्बर’ । कोही आफन्तै होलान् । लख काट्छु । उत्सुकता र केही आलस्य मिश्रित भावमा उठाउँछु ।

‘हेलो दाई, फोन गर्नुस त…।’ –केही आत्तिएको स्वरमा कोही महिला बोलिरहेकी थिइन् ।
‘को पर्नु भो ?’ –मेरो जिज्ञासा थियो ।
जवाफ आउँछ– ‘म लिला बोलेको… छिटो फोन गर्नुस त त्यताबाट ।’
यति भन्दै फोन काटिहालिन् । किन आत्तिइछिन्, केही सङ्कट आइलाग्यो कि तर मोबाइलमा ब्यालेन्स रहेनछ भन्ने अनुमान लगाएँ । त्यही नम्बरमा डायल गरेको केहीबेरमै घण्टी बजेको संकेत आयो । एक घण्टी पनि पूरा नबज्दै फोन रिसिभ भयो, यसले झन आत्तिएको संकेत मिल्यो । पहिले उनले मलाई गाउँघरतिरको खबर सुने नसुनेको कुरा सोधिन् । यसले मनमा झन पछि झन जगाइदियो छटपटी । के कुरा रहेछ, बुझ्न निकै आतुरी लाग्यो मनमा ।
‘के ? कस्तो ? किन ? के भो ?’ –एकैचोटी धेरै कुरा सोध्न पुगेछु । मतलब खबर सुन्ने मेरो बेचैनताको अभिव्यक्ति थियो त्यो ।
उनी फोनमा रुँदै भन्न थालिन्– ‘काका भीरमा लड्नुभएछ, भर्खरै पूरा (नाम) भाउजुले फोन गर्नुभा’को । मेरो बुवा पनि भीरमै लडेर मर्नुभा’को, अहिले काका नि…।’ फोनमै हिक्का छाडेर रुन थालिन् ।
मनभित्र आश्चर्यका तरङ्गहरु त्यसरी उठ्न थाले, जसरी फैलिन्छन् शान्त तलाउमा ढुङ्गा फ्याँकेपछि छालहरु । आफुभित्र उठेका छालहरुलाई आफैले थमाएर उनलाई सम्झाएँ र अपूरो उनको म्यासेजलाई पूरा गर्न पुनः उनलाई सोधेँ– ‘के भो ? ज्यानै गइहाल्यो रे ?’ उनी झनै डाँको छाडेर रुन थालिन् र रुवाइसँगै हो, रहनुभएन भन्ने खबर सुनाइन् । एकाएक सयौं भोल्टेज करेन्ट लागेझैँ भयो मेरो मनमा । आँखा चिम्म गरेर, निधारमा मुड्की राखेर आइपरेको यस्तो संकटको बारेमा गहिरो मनन गरेँ । उनी फोनमै बिलौना गर्दा मैले सम्झाउने प्रयास गरें– ‘नरुनू… नरुनू, के गर्नु र ? जे नहुनु थियो, भइसक्यो, एकदिन सबै जरुरै मर्नु छ । तर, फरक–फरक मृत्युमात्रको कुरा हो ।’ मेरा यी भनाई नटुंगिदै सुँक्क–सुँक्क गर्दै जवाफ फर्काइन्– ‘के गर्ने र बुवा र काकाको कर्म एउटै लेखिएको रहेछ ।’ उनको यो भनाई आध्यत्मिक चिन्तननजिक थियो ।

करिब तीन मिनेट जति बहिनी र मेरो कुराकानी भयो । गुल्मीको तम्घासमा एउटी सानी छोरीका साथ बसेकी छिन् बहिनी ।

लगत्तै मैले राधालाई घरको खबर सुनाएँ, फोन गरेर । भर्खरै खाना खान लागेका रहेछन् ठीक यसबेला । सबै कुरा बताइनसक्दै उनी पनि रुन थालिन् । माइला भाई बुहारी पनि दाङमै थिए, खबर सुनाएँ– उनलाई पनि । अब के गर्ने भन्ने जिम्मेवारीपूर्ण तरिकामा छलफल भयो ।

सबै तयारी करिब आधाघण्टामै गरिसके र मुखमा पानीको छिटासमेत नहालीकन ललितपुरको कुसुन्तीबाट झोला बोकेर गह्रुँगो मनसँग निस्किएँ– साथीहरुसँग बिदा भएर । अशोकजी र सागर साला (धुङ्सीको हर्कबहादुर पुन) ले मलाई कलंकीसम्म पु¥याउन आउनुभयो । यस बीचमा हामी गाडीमै छँदा उता दाङबाट झिल्को ज्वाँइले गाडी पाइएको कुरा फोनमा गर्नु भएपछि गाडीको समस्या पनि हट्यो र निम गुरुलाई खोज्न भनिएको अर्को गाडीलाई बीच बाटोबाटै फर्काइयो ।

पश्चिमतिरको गाडी नपाइएकोले कपिलवस्तुको चन्द्रौटा आउने गाडीमा बसेँ, साँझको ठीक आठ बजे । अशोक र सागरले हात मिलाउँदै बिदा भएर भन्नुभयो– ‘दुःख नमान्नुहोला… मान्छेको रीत नै यस्तै हो ।’ जवाफमा मैले मुन्टो हल्लाएँ । हात मिलाएँ । बोलिन म ।

आपत आइलागेको छ त मलाई पो थियो, अरुलाई हैन । गाडी छिट्टै गइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । आफ्नै पारामा गुड्छ जो कि भोलि बिहान सात या आठ बजे आफ्नो गन्तव्य पुगे भइहाल्छ । चकमन्न रात । निःशब्द समय । एकोहोरो गाडीको रफ्तार । मस्त निद्रामा थिए सबै यात्रु । सम्भवतः शुभयात्राको उत्कट चाहनामा गन्तव्यको सपनामा थिए । मलाई भने बुवाको मृत्युको पहिलो खबर सुनाउने उही बहिनीको आवाज उसैगरी कानमा बारम्बार ठोक्किन आउँछ । र, दृश्यमा भरिन्छ, उही गाउँको ‘जिउझोम’ (ठाउँको नाम) को मृत्युकारी ज्यानमारा भीर, जसले मेरा प्रिय अभिभावकलाई मबाट खोसेर लगेको थियो । उही विस्मयकारी खरेनी । उही डाँडाकाँडाका विकट पत्थर, पहरा । म कल्पनामा डुब्छु, बुवाको त्यो सग्लो ज्यान, त्यो भिमकाय छाती, हृष्टपुष्ट ज्यान– अहिले क्षतविक्षत भएर भीरमुनिको कुनै खोल्सीमा लडिरहेको होला । भीरमा लडेपछि हुन सक्ने अङ्गभङ्ग र क्षतविक्षत अनुहारको काल्पनिक तस्वीर अथवा सम्भावित रुपहरु बारम्बार घुमिरहन्छन् मेरा आँखा वरिपरि । र, ती काल्पनिक दृश्यले घोचिरहन्छन् मेरा मुटु छेउछाउ घरिघरि । बुवालाई सदा–सदाको लागि यस संसारबाट गुमाउनुपर्दाका पीडाहरु, उहाँका र मेरा साझा सपनाहरु, अतीतका उहाँका जिम्मेवारी र अभिभाकत्वका पलहरु, एउटा अभिभावकले आफ्ना सन्ततिका लागि व्यक्त गरेका चिन्ता, स्नेह र माया ममता, अनि उप्रान्त आइलाग्ने अभिभाराहरु, पहाडी जीवनको बाध्यताले गर्दा एक मुठो खरको प्राप्तिको लागि ५८ वर्षको सग्लो उमेरमै जीवनलीला नै गुमाउनु परेको यो क्रूर बिवशता । उफ ! दिमागका रिलमा घुमिरहेछन् पालै पालोसँग । गाडीको त्यो वेगसँगै प्रतिस्पर्धा गरेझैं गरेर । हरेक घुम्तीमा, हरेक मोड मोडमा ।

ठाउँ–ठाउँमा घरि आराम गर्छ ड्राइभर । घरि चिया पिउँछ । घरि आगो ताप्छ, घरि मिनेटौं रोकिन्छ केही बहानामा । बिहान छ बजे बुटवल आइपुग्यो गाडी । छ बजे त भालुवाङ पुग्ने सोंच थियो, अब त्यो समय त के नौ बजे पनि पुगिन्छ या पुगिन्न, निकै छट्पटाहट थियो मनमा । एकपटक ड्राइभर र साहुलाई भेटेर म छिट्टै रोल्पा पुग्नुपर्ने मेरो बाध्यताबारे कुरा गरेको थिएँ, तर त्यो पनि काम लागेन । पैसाको लागि डटिरहेका, सहानुभूति र भावनाहीन गाडी लाइनका ती मान्छेहरु आफ्नै धुनमा हुनु अस्वाभाविक पनि त हैन । जीतपुरबाट दाङको लागि गाडी बदल्नुप¥यो । मलाई बिहानको चार बजेदेखि मेरा मान्छेहरुले भालुवाङमा पर्खिरहेका थिए । सायद धेरै आत्तिए होलान् । स्वीच अफ छ मेरो मोबाइल ।

ठीक पौने नौ बजे आइपुगियो भालुवाङ ।
भालुवाङबाट कहीँ कतै पनि नरोकिएर लगातार गुडेको गाडी जेलवाङ पुग्दा पौने एक बज्यो । केही नबोली सरासर गाडीबाट ओर्लेर भाडाको कुरा ग¥यौं । जो हिजै गर्नुपर्ने काम हो । यही मौकामा चौका हान्न खप्पिस साहुले चौध हजार पट्काइहाले । यसमा तल माथि हुनै नसक्ने कुरामा अडान लिए । जतिखेर संकट पर्छ त्यसै बेलामा हो पैसा कमाउने भन्ने मनोविज्ञान बुझेका व्यापारीहरुले किन मान्थे र ?

भाडा तिरिसकेपछि नास्ता नै नगरी सरासर अगाडि बढयौं ।
जसै हाम्रा पाइलाले जेलवाङ कुल्चन थाल्यो, कुनै वियोगान्त नाटकको पृष्ठभागमा बज्ने पाश्र्वसंगीतजस्तै गरेर गाउँको माथि जंगलमा बिपे दमाहा (मगर संस्कारमा मान्छे मर्दा बजाइने दमाहाको ताल) बज्दै गर्दा छातीभित्र एक तमासले मुटुको धड्कन बढ्न थाल्यो मेरो । जंगलबाट गुञ्जिन आएको दमाहाको तालमा मेरा पूज्यनीय बुवाले मसँग सदाको लागि बिदा मागिरहेझैं लाग्यो । हामीलाई बोलाएझैं लाग्यो– ‘छिट्टो मलाई भेट्न आइज, म त गइसकेँ ।’

करिब आधा घण्टापछि हस्याङफस्याङ गर्दै पुग्यौं त्यहाँ ।

रोइ–रोई कलेटी परेका परेला, आँसुले धोइ–धोई राताम्य नील परेका आँखा, निरास–निरास, शून्य–शून्य देखिँदो बदन, वियोग र पीडाका भावनाले निचोरिएका दारुण अनुहार । हाम्रो पर्खाइमा रहेका आमा र स–साना भाइबहिनीहरु बुवाको पार्थिव शरीर नजिकै एकोहोरो टोलाइरहेका थिए, सायद रोएर आँसु पनि सुकिसक्यो होला क्यारे ! जम्मा भएका मलामी आफन्त र गाउँले इष्टमित्रको कहालीलाग्दो रुप तथा आमा र भाइबहिनीको रोदन साँच्चिकै कम मन छुने र हृदयविदारक थिएन ।

चिहान खनेर तयार पारिएको थियो । बुवाको मृत अनुहार हेर्ने मेरो अन्तिम धोको पनि त्यहाँको अन्धबिश्वासी मान्यताले गर्दा पूरा हुन सकेन । सागरमा (खाम भाषामा चिहानलाई सागर या खादर भनिन्छ) पु¥याइएको लासको मुख देखाउनाले जीवित मान्छेका सातो जान्छ, हंस पुरुष चिहानमा तोपिन्छ भन्ने हाम्रो समाजको पुरानो मान्यता छ । जसले गर्दा दुई वर्षपहिलेदेखि नदेखेको मेरो पूज्यनीय बुवालाई हेर्ने मेरो मनको इच्छा पूरा हुन सकेन । यस्तो संवेदनशील र भावुक समयमा मैले जबर्जस्ती पनि गरिनँ । चोइयाको मान्द्रोमा बेरिएको मेरा आदरणीय अभिभावक, मेरा पूज्यनीय बुवाको त्यो शव– जसमाथि केही दुबो, पाती र रुपियाँ राखेर मैले श्रद्धाञ्जली अर्पण गरेँ ।

संस्कारको कुरो हो– सागरबाट फर्किएपछि हामी पाँचै भाइको कपाल खौरियो र सेतो टालोले बेरियो । अरु मलामीहरु पनि नुहाएर चोखो पानी र पातीले पुछिए ।
हाम्रो संस्कार अनुसार दुई दिनमै सबै काम सिध्याइसक्यौं । हाम्रो संस्कारमा हामी काजक्रिया बस्नुपर्दैैन, यो आफ्नै खालको बिशेषता हो । सदाझैं यसपटक पनि बुवाको मृत्युमा पुराना साँस्कृतिक मान्यताका आधारमा गरिएका कार्यहरुप्रति मेरो असहमति छ । तर, कसैको भावनामा मैले चोट पार्न चाहन्न । पुराना रीत नपु¥याएमा सबभन्दा ठूलो चोट भर्खरै बिधवा बन्नुभएकी मेरी आमालाई नै पर्छ भन्ने मलाई राम्ररी थाहा थियो । जहाँसम्म धार्मिक चिन्तनमा आधारित सारा अन्धविश्वासका कार्यहरु छन्, ती सबै अवैज्ञानिक र अव्यवहारिक मात्र हैनन् कतिपय घातक पनि छन् । केही भावना र मनोविज्ञानसँग जोडिएका कर्मकाण्डहरु मेरा लागि स्वीकार्य हुन सक्छन् तर रुढीवादमा लिप्त समाजका नकारात्मक कुराहरु– (जो यसपटक पनि गरिए) लाई म मेरो पुस्तामा नअपनाउने निधो गरेको छु ।

अन्तमा, मेरा बुवा र बुवाजस्तै करोडौं मान्छेका सपना र देशको भविष्य सपार्न मैले मेरो जीवनको ऊर्जाशील र महत्वपूर्ण समय खर्च गरेँ– युद्धमा÷आन्दोलनमा । अन्ततः न बुवाले आफ्नो सपना साकार भएको देख्न पाउनुभयो, न देश नै बन्यो, न त सुखी परिवार नै । यस्तो संगीनमय र दर्दनाक अवस्थामा बुवाको मृत्यु मेरा लागि निकै महंगो साबित हुनेछ आगामी दिनहरुमा । परिवारको सारा अभिभारा मेरो काँधमा आएको छ । त्यो अभिभारा बोकेर दिवंगत बुवाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्नुबाहेक मसँग अरु केही चीज छैनन् । बस ! अल बिदा बुवा !!

२ पुस २०६९, रोल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *