एकैछिन त म अलमल्ल परें
कस्तो–कस्तो भएँ
कुहिरोमा हराएको कागझैं भएँ
फूलबिनाको बागझैं भएँ
सुरताल नै नभएको रागझैं भएँ ।
विगत सम्झिन खोजें
आफू को थिएँ चिन्न खोजें
अहिले म आफू उभिएको धरातल
कहाँनेर पर्छ ठम्याउन खोजें
छिया–छिया भएका मनका पत्र–पत्रहरु
पल्टाउँदै पानाहरु पढ्न खोजीरहें ।
सम्झें
आदर्शका विम्वहरु सजाउँदै
बेगिरहेको नदीमा
म कसरी हाम फालेथेँ कुनै दिन
आँटिला सगरमाथाहरु अग्ल्याउँदै–अग्ल्याउदै
साहसका फाँटहरु सम्याउँदै–सम्याउँदै
समयको घोडेदौडमा
म कसरी कुदेथें कुनै दिन ।
ओहो !
यी आँखाभित्रका परेलीहरुमा
कति रंगीन सपनाहरु अटाएथे
यो छातीभित्र हृदयका गहिराइहरुमा
कति सुनौला तस्वीरहरु कोरिएथे
हातमा हात राखेर एक अर्काको
कति अप्ठ्यारा जंघारहरु तरिएथ्यो
साथ लागेर यात्रामा सँगसँगै
कयौं भीमकाय पहाडहरु छिचोलिएथ्यो ।
देख्दैछु
समय टक्क रोकिएजस्तो
नदी उल्टो दिशातिर
बग्न लागे–लागेजस्तो
आँट र साहसको सगरमाथा
ढल्न लागे–लागेजस्तो
आदर्शका बिम्बहरु घुर्मैला–घुर्मैला भएझैं
सपनाका रंगहरु फुङ्ग उडेझैं
विश्वासका डोरीहरु नफुक्ने गरी
यत्रतत्र गुजुल्टिएझैं ।
लागेको थियो गन्तव्य भेटे–भेटेझैं
लक्ष्यको शिखर चुम्न आँटेझैं
यो मूलप्रवाह बहिरहेको समय
यो निरन्तर चलिरहेको हावा
र, टक्क कतै अडिएको मेरो जीन्दगी
सबै–सबैलाई फर्केर हेर्दैछु आज
र सोच्दैछु–
गन्तव्य चुम्ने यो लामो यात्रा
शिखर चुम्ने अभिलाषाहरु
सबै–सबै त बाँकी नै रहेछन् ।
२०६८ भदौ ५, दाङ