महोत्सवमा तीन तहको सुरक्षा व्यवस्था मिलाइने

  
  प्रकाशित मितिः मङ्लबार, माघ २३, २०६९       | 94 Views   ||

निमुसंगम घर्ती
दाङ, माघ २३ । घोराहीमा आयोजना गरिएको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवम् मध्यपश्चिम औद्योगिक कृषि मेला सम्पन्न गर्नका लागि तीन तहमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । महोत्सव सुरक्षा पार्किङ उपसमितिको आयोजनामा मंगलबार प्रमुख जिल्ला अधिकारीसहित पाँच वटा सुरक्षा निकायसँग भएको छलफलमा महोत्सवको सुरक्षाका लागि सरकारी सुरक्षाकर्मी, बाहिरबाट झिकाइएका आन्तरिक सुरक्षाकर्मी र स्वयंसेवकलाई तीन तहमा परिचालन गर्ने निर्णय गरिएको हो ।

सामुदायिक सभागृह निर्माणको थालनी गर्ने लक्ष्यका साथ दाङ जिल्ला उद्योग बाणिज्य संघले यही माघ २८ गतेदेखि फागुन ८ गतेसम्म आयोजना गरेको महोत्सवका लागि जिल्लाकै सुरक्षा व्यवस्था मजबुत पार्ने सुरक्षा अधिकारीहरुले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेना र ट्राफिक प्रहरीका अधिकारीहरुले सुरक्षाको कारण महोत्सव खल्लो नहुने भन्दै सबै सुरक्षा संयन्त्रलाई कडाईका साथ परिचालन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले महोत्सवमा आबश्यकता अनुसार तहगत सुरक्षाकर्मीहरु परिचालन गराउने बताउनुभयो । यसका लागि सुरक्षा समितिको बैठक बसेर टुङगो लगाउने र महोत्सव अबधिभर २४ घण्टा सुरक्षाकर्मी खट्ने भएकाले कुनै असुरक्षाको महसुस हुन नदिने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक विपिनकुमार कर्माचार्यले महोत्सवलाई हानी नोक्सानी वा कुनै पनि व्यक्ति असुरक्षित हुनु समग्र सुरक्षाको प्रतिष्ठामा चुनौती हुने भन्दै त्यस बिषयमा कसैसँग सम्झौता नहुने बताउनुभयो ।

सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक शान्तिराम थापा र अनुसन्धान प्रमुख हरिहर पौडेलले महोत्सवको सुरक्षाका लागि आफुहरुले सादा पोशाकका सुरक्षाकर्मीहरुलाई पनि व्यापक परिचालन गर्ने र जिल्लाका अन्य ठाउँहरुमा पनि सुरक्षा निगरानी बढाउने बताउनुभयो ।

त्यस्तै तारादल गणका गणपति अशोक खाँडले सुरक्षाका लागि आफुहरु पनि तयारी अवस्थामा रहने भन्दै महोत्सवमा ल्याइने हेलिकप्टरको सुरक्षा व्यवस्था मिलाउने बताउनुभयो । ट्राफिक प्रहरीका प्रहरी नायब निरिक्षक बालबन्धु बस्नेतले ट्राफिक व्यवस्थापन र पार्किङमा कुनै अप्ठेरो पर्न नदिने प्रतिबद्धता जनाउनुभयो ।

सुरक्षा पार्किङ उपसमितिका संयोजक कुलदीप न्यौपानेको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँको प्रमुख आतीथ्यतामा बसेको बैठकमा मूल समितिका संयोजक मधुसूदन वैद्य, सह–संयोजक हेमराज बञ्जाडे र ओविन्द्र बहादुर महराले सुरक्षा व्यवस्थालाई मजबुत पारि दिन सुरक्षा अधिकारीहरुसँग आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *