दाङ महोत्सवको तयारी तीव्र

  
  प्रकाशित मितिः मङ्लबार, माघ २३, २०६९       | 113 Views   ||

brosar_mahotsab-2069दाङ, माघ २३ । जिल्लामा बहुउद्देश्यीय सामुदायिक सभाहल निर्माण गर्ने लक्ष्यका साथ घोराहीमा व्यापारिक तथा पर्यटन महोत्सव एवम् मध्यपश्चिम औद्योगिक कृषि मेलाको आयोजना गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ २८ गतेदेखि फागुन ८ गतेसम्म महोत्सव हुन लागेको हो ।

बहुउद्देश्यीय सभाहलसँगै स्थानीय कलासंस्कृति, प्राकृतिक साँस्कृतिक र पर्यटकीयस्थलहरुको प्रचार प्रसार र जिल्लाको आर्थिक विकासका पूर्वाधारहरुको विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मूल समितिका संयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष मधुसूदन वैद्यले बताउनुभयो ।

‘दाङ दक्षिण एसियाकै सबैभन्दा ठूलो उपत्यका भएपनि हामीसँग एउटा ठूलो सभाहल नै छैन । कहिलेकाँही राष्ट्रियस्तरको कार्यक्रम दाङमा गर्छौं भन्ने संस्थाहरु पनि हल नभएकै कारण फर्किनुपरेको अवस्था छ, वैद्यले भन्नुभयो– ‘त्यसैले महोत्सवको आम्दानी जोगाएर जम्मा गर्ने र सभाहल निर्माणका लागि अभियान थाल्ने सोचेका छौं ।’

उहाँका अनुसार करिब २ हजार २ सय व्यक्ति अट्ने सभागृह बनाउन अभियान चलाउने र सभागृह बनाउन ३०/३५ करोडसम्मको लगानी लाग्न सक्ने उहाँको भनाई छ । घोराही सिमेन्ट उद्योग मुख्य प्रायोजक रहेको महोत्सवका लागि अहिलेसम्म विभिन्न निकायको सहयोगबाट करिब ४० लाख रुपैयाँ संकलन भइसकेको संयोजक वैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा १५ करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको छ ।

महोत्सव अवधिभर ५ लाख दर्शकहरुलाई सहभागी गराउने र महोत्सवको सबै खर्च कटाएर ५० लाख रुपैयाँ सभागृह बनाउनका लागि कोषको रुपमा राखिने महोत्सव आर्थिक संकलन समितिका संयोजक नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धु्रवराज श्रेष्ठ ‘भारी’ले जानकारी दिनुभयो । महोत्सव उद्घाटनका दिन निःशुल्क प्रवेश हुने र अन्य दिनमा भने विद्यार्थीलाई २० रुपैयाँ तथा अन्य व्यक्तिहरुका लागि ३० रुपैयाँ शुल्क लिने मूल समितिले बताएको छ । महोत्सवको स्टल तथा टिकट बिक्रीबाट आएको रकम महोत्सवका लागि खर्च गर्ने र अन्य रकम संचय गरिने श्रेष्ठले बताउनुभयो ।

दुई सय १५ वटा स्टलहरु रहने महोत्सवमा स्थानीय कृषिजन्य उत्पादन, दैनिक उपभोग्य सामानहरु, स्थानीय पर्यटकीय स्थलहरुको चिनारी भएका वस्तुहरु र घरेलु उद्योगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी गरिने मूल समिति सह–संयोजक ओबिन्दबहादुर महराले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा विश्वकै सबैभन्दा होचा व्यक्ति दाङ पुरन्धाराका चन्द्रबहादुर डाँगी र नेपालीकै सबैभन्दा होची महिला दाङ चैलाहीकी इश्वरीमाया छिनाललाई विशेष प्रदर्शनीको रुपमा ल्याइने संयोजक वैद्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार थारु, मगर, नेवार जातिको खानाका परिकारहरु, साँस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिनुका साथै हेलिकोप्टरबाट दाङ उपत्यकाको अवलोकन तथा स्वर्गद्वारी मन्दिरको दर्शन गराउने तयारी गरिएको छ । संयोजक वैद्यका अनुसार हेलिकोप्टरबाट स्वर्गद्वारी दर्शनका साथै दाङ उपत्यका अवलोकन गराउन एयर डाइनेष्टीको हेलिकोप्टरसँग सम्झौता गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *