उत्पादनसँग नजोडिएको कम्युनिष्ट पार्टीले जनताको नेतृत्व गर्न सक्दैन

  
  प्रकाशित मितिः मङ्लबार, माघ २३, २०६९       | 97 Views   ||

Prachand-[प्रचण्ड, अध्यक्ष– एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)]

पार्टीको सातौं राष्ट्रिय महाधिवेशनको महत्वका बारेमा केही भनिदिनुस् न ?
हाम्रो पार्टी २१ वर्षपछि महाधिवेशनमा जाँदैछ । २२ वर्षअघि एकता महाधिवेशनमा पनि मैलै नै राजनीतिक दस्तावेज प्रस्तुत गरेको थिएँ । अहिले फेरि त्यही भूमिका निभाउन पाउँदा खुसी लागेको छ । त्यतिखेर पेस गरेको दस्तावेजको जगमा शुरु भएको जनयुद्धले नेपाललाई कहाँबाट कहाँ पु¥यायो भन्नेबारे थप व्याख्या गरिरहन आवश्यक ठानेको छैन । किनकि त्यसबारे हाम्रो पार्टीभित्र र बाहिर पनि सबैलाई थाहै छ । छोटकरीमा भन्नुपर्दा एकता अधिवेशनले पारित गरेको कार्यदिशाले जनयुद्ध, १९ दिने जनआन्दोलन हुँदै, गणतन्त्र, संघीयता, मधेशीदेखि सबै क्षेत्र, जाति, लिङ्ग र वर्गमा अद्भूत जागरण ल्याएको छ  ।

महाधिवेशनपछि पार्टी कसरी अगाडि जान्छ ?
पार्टी नेतृत्वका नाताले मेरो सोच्ने तरिका कहिल्यै निरन्तरतामा भएन । त्यो क्रमभंगतामै हुन्छ । त्यस्तै हाम्रो पार्टीको पनि । यो महाधिवेशन पनि एउटा निरन्तरता मात्र हुनेछैन, क्रमभंगतामै जानेछ । अहिले हामीले केही चीज नयाँ गर्दैछौं । दस्तावेजको नाम नै ‘नेपाली क्रान्तिको संशलेषण, एक ऐतिहासिक आवश्यकता’ भन्ने राखिएको छ । दस्तावेजमा नयाँ जनवादी क्रान्ति भन्ने शब्द राखिएको छैन । इतिहासको मूल्याङ्कनका सन्दर्भमा मात्र जनवादी क्रान्तिको प्रसंग राखिएको छ । दस्तावेजमा पूँजीवादी जनवादी क्रान्तिका कार्यक्रम कसरी पूरा गर्ने भन्ने मात्र राखिएको छ । कहीँ पनि दीर्घकालीन जनयुद्धको पदावली राखिएको छैन । महाधिवेशनपछि पार्टीले माथि र तलबाट हस्तक्षेपको नयाँ नीति अवलम्बन गर्नेछ । दस्तावेजले उत्पादनका निम्ति संघर्ष भन्ने कुरामा असाध्यै बढी जोड दिएको छ ।

उत्पादनका निम्ति संघर्ष भन्ने कुराको थप व्याख्या गरिदिनुस् न ?
पार्टीका सबै नेता÷कार्यकर्ता, समर्थक, शुभचिन्तक र जनतालाई उत्पादन कार्यका लागि कसरी लैजाने भन्नेबारे त्यो केन्द्रित छ । उत्पादन बढाएर त्यसैमार्फत् मुलुककै विकराल समस्याका रुपमा रहेको बेरोजगारी समस्या हल गर्न जोड दिइएको छ । उत्पादनसँग नजोडिएको कम्युनिष्ट पार्टीले २१ औँ शताब्दीमा जनताको नेतृत्व गर्न सक्दैन, यो कुरा सबैले बुझ्न जरुरी छ । त्यसकारण गाउँ, क्षेत्र, जिल्ला, राज्य र ब्युरोले उत्पादनलाई जोड दिन जरुरी छ भनेर नयाँ कुरा ल्याइएको छ । यसको अर्थ समग्र पार्टीलाई उत्पादन अभियानमा लगाउने भन्ने हो । मुख्य कुरा अहिलेको संक्रमणकालीन अवस्थामा जनतासँगको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्नु जरुरी छ । त्यसैले लाखौं करोडौं जनतासँग कसरी जोडिने भन्नका लागि ‘उत्पादनका लागि संघर्ष’को अवधारण ल्याइएको हो ।

तपाईंले दीर्घकालीन जनयुद्धको रणनीति र छ दशकदेखि भनिदै आएको अर्धसामन्ती र अर्ध औपनिवेशिक पदावली नै दस्तावेजबाट हटाइदिनुभएछ ?
कम्युनिष्ट आन्दोलनमा विगत ६० वर्षयता चल्दै आएको केही टर्मिनोलोजी मात्र बदलिएको छैन । त्यसको चरित्रमै केही आधारभूत परिवर्तन आएको छ । यो आफैमा नयाँ संश्लेषण हो । हामीले लामो समयदेखि नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा छ भन्दै आएका थियौं । तर अहिले स्थितिमा ठूलो हेरफेर आएको छ । हामी अहिले सामन्तवादको मूल नेतृत्वकर्ता राजतन्त्र अन्त्य भएको अवस्थामा छौं । तर, सामन्ती अवशेषहरु सिद्धिएका छैनन् ।

६० वर्षअघि भनिएजस्तो अर्धसामन्ती अवस्था अहिले नेपालमा छैन । अहिले नेपाली समाज दलाल, पूँजीवादी र नोकरशाही शक्ति तथा राष्ट्रिय पूँजीवादी शक्तिमा ध्रुवीकृत छ । दलाल शक्ति र राष्ट्रिय जनवादी शक्ति सत्ताका निम्ति आपसमा अन्तिम छिनाझप्टी गरिरहेको हुनाले नेपाल अहिले पूँजीवादउन्मुख अवस्थामा छ । मुलुक न त सम्पूर्ण रुपले दलालहरुको हातमा छ, न त राष्ट्रिय जनवादीहरूको हातमा छ । त्यसैले, दस्तावेजमा नेपाल दुई परिस्थितिबीचको संक्रमणमा छ भनिएको छ । विश्वभरको मूल प्रवृत्ति त नवऔपनिवेशिक नै छ, तर नवऔपनिवेशिकताको बीचमा पनि दलाल शक्ति र राष्ट्रिय जनवादी शक्तिबीच छिनाझप्टी चलिरहेको छ । त्यसैले नेपाल अहिले राष्ट्रिय स्वाधीनताउन्मुख देश हो भन्ने हाम्रो ठहर हो । अब औपनिवेशिक भन्ने रहेन ।

दीर्घकालीन जनयुद्ध नि ?
हामीले १० वर्षसम्म दीर्घकालीन जनयुद्धको नीतिका आधारमा लड्यौं । अब त्यसलाई छोड्नुपर्छ भन्ने भएको छ । दीर्घकालीन जनयुद्ध र नयाँ जनवाद भनेर अगाडि जान अब सकिँदैन । फेरि यो सुधार पनि होइन, सुधारवादी तरिका पनि होइन । यो छलाङ र क्रमभंगकै निरन्तरतामा छ । र यो क्रमभंगले हामीलाई सही दिशातिरै लैजान्छ भन्ने विश्वास मलाई छ ।

नेतृत्वका बारेमा महाधिवेशनले के संश्लेषण गर्दैछ ?
नेतृत्वका बारेमा कम्युनिष्टहरूमा अहिलेसम्म जे चल्दै आयो, विगतमा एउटा व्यक्ति नेता भएपछि अन्तिमसम्म रहिरहने र उ मरेपछि सबै चीज उल्टिने हुँदै आएको छ । चाहे त्यो स्टालिन, माओ वा अरु कसैका हकमा भनौं । हामी त्यस्तै भएको देख्छौं । हामीले त्यो स्थितिलाई अन्त्य गर्न खोजेका छौं । अहिले संगठनात्मक संश्लेषण गर्दा त्यसो नगरी हुँदैन । २१ औं शताब्दीको जनवाद भन्नेबाट शुरु गरेर हामी यहाँसम्म आउँदा नेतृत्व एउटा तहसम्म गइसकेपछि उसले अर्को भूमिकामा आफूलाई झिकिदिनुपर्छ र उत्तराधिकारी तयार पार्नुपर्छ भन्ने संश्लेषण दस्तावेजमा गरिएको छ ।

पार्टीको भावी रणनीति र कार्यनीति कस्तो हुनेछ ?
हामी अहिले पूँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने अभियानमा छौं । नेपाली जनताको छ दशक लामो अथक संघर्ष र त्यसमा पनि खासगरी जनयुद्धको बलमा स्थापित संविधानसभाको संविधान जारी नगर्दै अवसान भएको छ । हामीले हामीले जातीय, वर्गीय, क्षेत्रीय उत्पीडन अन्त्य गर्ने गरी राज्यको पुनःसंरचना गर्नुपर्छ भन्यौं । तर संविधानसभाभित्र रहेका यथास्थितिवादी र प्रतिक्रियावादी शक्तिले त्यसलाई स्वीकार गरेनन् । त्यसैले त्यो सम्पूर्ण चीजलाई कार्यनीतिमा ल्याउँदा हामीले भन्यौं– ‘पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानसभाबाटै संविधान ।’ यो तत्कालको कार्यनीतिक नारा हुन गयो । हाम्रो रणनीतिक नाराचाहिँ पूँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरेर समाजवादी क्रान्तिको तयारी गर्नु हो । त्यो रणनीतिका साथ हामी अगाडि जाँदैछौं । यही चुरो कुरालाई दस्तावेजमा संश्लेषण भनिएको हो । माथि र तलबाट गरिने हस्तक्षेपले मात्र जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने र समाजवादी क्रान्तिको तयारी गर्न सकिन्छ ।

पार्टीभित्र अहिले आम अराजकताको अवस्था देखिएको छ, कतिपय अवस्थामा शीर्ष नेतृत्व तहमै रहेका व्यक्तिले नै पार्टीको संस्थागत निर्णयविरुद्ध उभिने काम गर्ने गरेका छन् ।
अहिले हामी जथाभाबी बोल्न दिने पक्षमै छौं । एक चरण जसलाई जे मन लागेको छ त्यो बोल्न दिएरै ठीक गर्न सकिन्छ भन्ने मलाई लागेको छ । किनभने सबैले सबैलाई बुझ्ने मौका पनि पाउनुपर्छ । यो महाधिवेशनबाट हामी नयाँ संश्लेषण लिएर आउँछौ । पार्टीलाई एक बनाएर नयाँ रणनीति र कार्यनीति लिएर आउँछौं । नेता कार्यकर्तादेखि जनतासम्मलाई उत्पादनमा जोड्ने र तल र माथिको हस्तक्षेपबाट जनवादी क्रान्ति पूरा गर्ने गरी आउँछौं । त्यस अर्थमा यो नयाँ महाधिवेशन हुनेछ ।

मैले माथि पनि भनें कि २४ वर्षसम्म यो पार्टीको नेतृत्व गर्दा के–के भए भनेर हेर्नुभयो भने प्रायः छलाङमै गएको देख्नुहुन्छ । दायाँ जाँदा होस् वा बायाँ जाँदा होस्, म र मैले नेतृत्व गरेको पार्टी विस्तारै जाने भन्ने हुँदै भएन । त्यो छलाङ र क्रमभंगमै अगाडि आयो । मेरो सोच्ने तरिका नै यस्तो भयो । हुन त अन्तिममा इतिहासले के भन्छ, त्यो भोलि देखिएला ।

पार्टीको मुख्य नेतृत्वमा आएदेखि अहिलेसम्मको घटनाक्रमका आधारमा आफ्नोबारे के मूल्याङ्कन गर्नुभएको छ ?
नेता हुनुको नाताले इतिहासले कसरी आफ्नो मूल्याङ्कन गर्ला भन्ने त लागिरहँदो रहेछ । आफूले गरेको कामको मूल्याङ्कन भावी पुस्ताले कसरी गर्ला र त्यसबाट देशले सकारात्मक वा नकारात्मक के चीज पाउला भन्ने हुन्छ । जे–जे भएपनि जनयुद्धको १० वर्ष र जनआन्दोलनसँगको फ्युजनबाट नेपालमा जे जति राजनीतिक परिवर्तन भए, ती पूर्ण होइनन् तर कम आँक्न मिल्ने खालका पनि छैनन् । संघीयताको बीउ यसरी रोपिएको छ कि कोही एकात्मकतावादीले त्यसलाई उखेलेर फाल्न सक्दैन । गणतन्त्र यसरी स्थापित भएको छ कि नेपालमा राजतन्त्र फर्कन असम्भव छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, सामाजिक न्यायमा नेताहरु जनताको मन मस्तिष्कमा घुसेका छन् । त्यसको मूल्याङ्कन हुँदै जाला । अहिले प्रतिक्रान्ति नै भएछ भने पनि इतिहासले त्यसको सकारात्मक मूल्याङ्कन गर्नेछ । मेरो व्यक्तिगत स्वभावको कुरा गर्नुहुन्छ भने म निरन्तरतामा सोच्ने मेरो बानी नै भएन । जे सोच्छु, त्यो क्रमभंगतामै हुने गरेको छ । यद्यपि, आफ्नो मूल्याङ्कन आफैले भन्दा मुलुक, जनता र कार्यकर्ताले गर्ने कुरा हो ।

महाधिवेशनले नयाँ रणनीति र कार्यनीति त पारित गर्ला तर त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व चयनको विधि कस्तो हुनेछ ?
नेतृत्व निर्वाचित नै हुन्छ । मैले जनवादबारे माथि जुन व्याख्या गरें । त्यसले स्वतः डेमोक्रेटिक अभ्यासको माग गर्छ । तर विचारमा स्पष्ट नभइकन निर्वाचन ग¥यो भने त्यो गुट उपगुटको निर्वाचन हुन्छ । तेरो र मेरो भनेर मान्छे तानातान हुन्छ, कसलाई जिताउने भन्नेतिर गयो भने त्यो निर्वाचन हुँदैन, पाखण्ड मात्रै हुनेछ । खासगरी नेपालको सन्दर्भमा भन्ने हो भने त्यो काँग्रेस–एमालेजस्ता बुर्जुवाहरूको पद्धति हुन्छ । त्यसैले हामीले अहिले नयाँ कुरा गरेका छौँ । महाधिवेशनमा पहिला दस्तावेज पारित गरिन्छ । दस्तावेजका आधारमा निर्वाचन पनि गरिन्छ तर त्यो निर्वाचन अप्ठेरो हुँदैन किनकि हाम्रो २ सय ४० जनाको आयोजक समितिले एकमतले पारित गरेर छलफलका लागि तल्ला कमिटिमा पठाएको हो । नीतिमा समस्या नभएपछि नेतृत्व चयनमा पनि खासै समस्या हुँदैन । त्यसले के देखाउँछ भने हाम्रो केन्द्रीय महाधिवेशनमा समस्या हुँदैन । म पूरै विश्वासका साथ यो भन्न सक्छु कि हामी अब पछाडि हट्दैनौँ, अगाडि बढिसक्यौँ ।

जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्नुभएन ? अनि राज्य सम्मेलन पनि गर्नुभएन ।
हाम्रो पार्टी केही बिग्रिएकै छ । नेता कार्यकर्ता विभिन्न गुटउपगुटमा विभक्त छन् । तेरो र मेरो भनेर नेता कार्यकर्ता छुट्टिएका छन् । पार्टीमा विकृति र विसंगति बढेको छ । त्यसैले, इतिहासको आवश्यकताअनुसार पार्टीलाई बदल्ने गरी महाधिवेशनमार्फत् नयाँ संश्लेषण गर्न खोजिएको छ । अहिल्यै चुनाव गरेर प्रतिनिधि पर्यवेक्षक चुनियो भने पैसाको चलखेल होलाजस्तो देखियो । पार्टीको आवश्यकता, त्याग, तपस्या, लगानी, विचार, आदर्श र मूल्यमान्यताभन्दा मान्छेहरु गुटका आधारमा चुनिने खतरा बढ्यो । महाधिवेशन हलभित्रै कुटाकुट होलाजस्तो स्थिति देखियो । पार्टीमा कुनै ‘डेमोक्रेटिक’ अभ्यास होइन, अराजकताको अभ्यास हुने देखियो । त्यसैले हामीले जिल्ला सम्मेलन दुई चरणमा गर्ने भन्यौँ । पहिलो चरणको जिल्ला सम्मेलनले महाधिवेशनमा जाने प्रतिनिधि चुन्ने भन्यौं । अर्को, दस्तावेज अध्ययन गरेर विचार, राजनीति र पार्टी कार्यदिशाबारे सुझाव र आलोचनाहरु केन्द्रित गर्ने भनियो । त्यसैअनुसार अहिले जिल्ला सम्मेलनहरु भइरहेका छन् । त्यहाँ उच्च जनवादको अभ्यास भएको छ । राज्य सम्मेलन त हामीले नगर्ने भन्यौँ । भेला पनि गरिएन ।

महाधिवेशनपछि जिल्ला नेतृत्व चुन्ने भन्नुभएको ?
सातौं महाधिवेशनमा व्यापक छलफल हुन्छ । समूहगत छलफलबाट अन्तिममा अब हाम्रो पार्टी यस्तो बनाउने हो, यसरी जाने यसरी हो भनेर नयाँ बाटोबारे प्रतिनिधिहरू छ्याङ्ग हुन्छन् । अनि ती जिल्ला फर्कन्छन् र अधिवेशन गर्छन् । त्यसबाट जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र अरु चुनिन्छन् । माथि एउटा लाइनमा सेट भइसकेको हुन्छ । नयाँ लाइनमा पार्टीको सेटिङ भइसकेपछि निर्वाचन गर्दा गुटबन्दी हुँदैन । त्यहाँ अराजकता पनि हुँदैन । अनुशासन हुन्छ । पार्टीमा मूल्य, मान्यता र पद्धति पनि स्थापित हुन्छ भनेर दुई भागमा जिल्ला सम्मेलन गर्न लागेका हौं, यो आफैंमा नयाँ कुरा हुँदैछ ।

अबको महाधिवेशनबाट पनि शक्तिशाली अध्यक्षमा निर्वाचित हुने सोच राख्नुभएको छ कि, अरु कसैलाई नेतृत्व हस्तान्तरण गर्नुहुन्छ ?
यो मैले चाहेर वा नचाहेर हुने कुरा होइन । पार्टीले जे भन्छ त्यहीअनुसार हुने कुरा हो । पार्टीले मैले अघि सारेको विचार, योजना र कार्यक्रम सही ठान्यो भने फेरि पनि निर्वाचित गर्न सक्छ । पार्टीले मेरो आवश्यकता ठानेन भने पाखा लगाउँछ ।

एकथरी मान्छेहरु महाधिवेशनबाट माओवादी फेरि फुट्छ भन्दैछन् ?
मुख्य कुरा लाइनकै हो, लाइन ठीक हुँदा ठीक र बेठीक हुँदा बेठीकतिर जान्छ । वर्गसंघर्षको अध्ययन गरेर वस्तुवादी नीति लागू गरिनेछ । त्यसैले पार्टी फुट्न होइन । बरु विचार, राजनीति र कार्यनीतिक स्पष्टताका साथ पार्टी एकढिक्का भएर आउँछ । बरु अहिलेजस्तो गुटउपगुटको अवस्था रहँदैन । महाधिवेशनपछि गुटउपगुट सबै खारेज हुनेछन् । फेरि पार्टी फुट्छ भन्नेले माओवादी बुझैकै छैन । लेनिनले भन्नुभएको छ– ‘जनताले नफुट भनेको अवस्थामा पार्टी फुट्नु हुँदैन । वैद्यजीहरूलाई पनि जनताले नफुट भनेका थिए । त्यसो भन्दाभन्दै उहाँहरु फुट्नुभयो । तर त्यसरी फुट्नुहुने थिएन । किनकि गणतन्त्र, संघीयता, समावेशी, सामाजिक न्यायजस्ता मुद्दामा एकमत हुँदाहुँदै पार्टी फुटेको हो । यो फुटबाट जनता खुसी छैनन् । जाली फटाहा र सामन्तहरु मात्र फुटबाट खुसी भएका छन् ।

महाधिवेशनले फुटेर गएकाहरूलाई पुरानै घर फर्कन कस्तो वातावरण बनाउनेछ ?
पहिला पनि मेरो तर्फबाट पार्टीलाई फुटबाट जोगाउन सक्दो प्रयत्न भएको हो । तर उहाँहरुले कुरा बुझ्न सक्नुभएन । तर फेरि पनि पार्टी एकताका लागि पहल भने जारी रहनेछ । संयुक्त महाधिवेशन गरौं भनेर पनि पहल गरेको थिएँ । उहाँहरुले आफ्नो महाधिवेशन गरिसक्नुभएको छ । तत्कालै एकताको सम्भावना टरेको छ । तर त्यसको अर्थ कार्यगत एकता गर्ने वा आन्दोलनमा तालमेल गरेर जाने कुरामा हाम्रो प्रयास हुँदैन भन्ने होइन । भविष्यमा एउटै पार्टी बनाउने सम्भावना चाहिँ सम्पूर्णरूपले समाप्त भएको छैन । अर्को व्यक्तिगत रुपमा जो मूलघरमा फर्कन चाहन्छ, उसलाई हामी सधैं स्वागत नै गर्छौैं । त्यसरी आउनेमाथि कुनै भेदभाव र पूर्वाग्रह राखिन्न पार्टीमा उचित जिम्मेवारी दिइनेछ ।

प्रस्तुति : दयानिधि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *