कृष्ण सेन, डेकेन्द्र र नेपाली राजनीति

  
  प्रकाशित मितिः मङ्लबार, माघ २३, २०६९       | 120 Views   ||

keshar_bc-[केशरमान विसी]

देशभर पत्रकार डेकेन्द्र थापाको हत्याको चर्चा चलिरहेको छ । पत्रकार थापा कलम चलाएर दमित आवाज र कुण्ठित भावना बोल्ने आम नागरिकका सारथी थिए, आवाजहीनका आवाज थिए । उनी पत्रकारमात्र नभएर नेपाल आमाका सन्तान हुन् । उनका पनि अरुजस्तै बाआमा, श्रीमती, छोराछोरी सबै छन् । उनले पनि परिवार लालनपालनको अभिभारा बोकेका थिए । त्यस्तो ऊर्जाशील उमेरमा निर्ममतापूर्वक मारिनु कसैका लागि सह्य कुरा हुँदैन ।

डेकेन्द्र थापाको हत्या सुनियोजित थियो वा भवितव्य ? जस्तोसुकै होस्, यो निकै दुःखदायी घटना हो, जुन घटनामा राज्य पक्ष र विद्रोही पक्षबीचको लडाईंमा पत्रकार मारिए । आज डेकेन्द्रकी पत्नी एकल जीवन बिताइरहेकी छिन् । जो कोही स्वाभीमानी नेपालीलाई यो घटनाले सोच्न बाध्य बनाएको छ । अवश्य पनि डेकेन्द्र थापाका हत्यारालाई न्यायिक कारवाही हुनुपर्छ नत्र कानूनी राजको उपहास हुनेछ । बेलायतमा नेपाली कर्णेल कुमार लामा पक्राऊ परेका छन्– द्वन्द्वका क्रममा गरेका अपराधको आरोपमा । उनको गिरप्तारीले अन्तर्राष्ट्रियस्तरमै नेपालको दश वर्षे द्वन्द्व र त्यसमा भएका घटना दुर्घटनाहरुको विवाद उल्झिने खतरा देखाएको छ । अहिले दैलेख घटना र वेलायतमा गिरप्तार भएका लामाको प्रसंगले देश तातिएको छ ।

द्वन्द्वको एउटा पक्ष हो दैलेख घटना । सिक्काको दुइटा पाटा हुन्छन्, एउटै पाटो भएर त्यो सिक्का बन्न सक्दैन । ठीक त्यस्तै द्वन्द्वको एउटा पाटो दैलेख हो भने अर्को पाटो हुन्– पत्रकार कृष्ण सेन । संकटकालको बेला तत्कालीन सरकार, प्रहरी र शाही मतियारहरुको प्रत्यक्ष संलग्नतामा महेन्द्र पुलिस क्लवमा सेनलाई कुटी–कुटी, चरम यातना दिदा दिदै मारियो । तत्कालीन समयमा जनादेश साप्ताहिकमा माओवादीका समाचार प्रकाशित गरेकै आरोपमा उनलाई गिरप्तार गरियो र चरम यातना दिएर हत्या गरि लास नै गुमनाम पारियो ।

पत्रकार सेनले पनि आफ्नो सुनौलो भविष्य, परिवारको कल्पना गरेका थिए होला । नेपाली माटोमा पौरख गरेर सुन फलाउने सुनौला सपना कृष्ण सेनको पनि थियो होला । दुःखी, गरिब र निमुखाहरुको पीडासमन गर्ने जीवनबुटी घोटेर शब्दरुपी अमृत पिलाउने चेष्टा गरेथे होला पत्रकार सेनले । तर, उनलाई मारियो । कृष्ण सेनलाई पनि त कुनै आमाले प्रसव पीडाबाटै जन्माएकी थिइन होला । उनले पनि कोही चेलीको सिउँदो भरेका होलान् । उनका पनि कलिला मुना टुसाएका थिए होलान् । के यातनाका क्रममा कृष्ण सेनले आफ्ना हितैषीलाई सम्झेनन् होला ? आज न डेकेन्द्रकी पत्नीलाई कृष्ण सेनलाई मारेकोमा गर्व छ, न कृष्ण सेनकी पत्नीलाई डेकेन्द्र थापा नै मारिएकोमा हर्ष । यी दुवैलाई सोध्ने हो भने दुवै हत्या बर्बर थिए भन्ने कुरामा दुइमत छैन । डेकेन्द्र थापा र कृष्ण सेनजस्तै द्वन्द्वका क्रममा झण्डै तीनदर्जन कलमका सिपाहीहरु यसैगरि निर्घात कुटपीट र यातनापछि मारिएका छन् ।

तर, आज केही राजनीतिक दलहरु डेकेन्द्र थापाको रगतमा पौडिएर धमिलो खोलामा माछा मार्ने ध्याउन्नमा छन् । कुनचाँहि नेता होला कुर्सी प्यारो नमान्ने ? नेताहरुकै जुंगाको लडाईका कारणले गर्दा हिजो संविधानसभाको अवसान भयो । चार–चार वर्षसम्म जनताको पसिना चुसेर लाखौं कमाए नेताहरु तर जनतालाई संविधान दिन सकेनन् । अहिले बाबुरामको सरकार गिराउने वैधानिक बाटो समाप्त भएपछि कुर्सीमा पुग्ने भ¥याङ गराउन खोज्दैछन् डेकेन्द्रको उत्खनन गरिएका हड्डीलाई । खबरदार नेपाली जनतालाई पहिलेझै ललीपप दिएर झुक्याउने कुचेष्टा नगर । तिमीहरुको ताण्डव नृत्य जनताले बुझिसकेका छन् ।

डेकेन्द्र प्रकरण सार्वजनिक भएपश्चात् सामाजिक सञ्जाल फेसबुक र ट्वीटरहरुमा डेकेन्द्र थापाको महिमागानका शब्दहरुले खुबै चर्चा पाए । यसैमा कृष्ण सेनका कुरा उठाएर राखिएका स्टाटसहरुमा सारा डेकेन्द्रप्रेमी खनिइए । यो कस्तो विडम्वना पत्रकारको आवाज बोल्न पत्रकार स्वयम् ध्रुवीकरण भएको देखिन्छ । के डेकेन्द्रलाई जति कृष्ण सेनलाई दुखेन होला र ?

इतिहास साक्षी छ तत्कालीन विद्रोही माओवादी र सरकारका तर्फबाट गरिएको शान्ति सम्झौतामा विगतका तीता–मीठा सबै भुलेर अब समृद्ध नेपाल निर्माणमा अगाडि बढौं । विगतमा भएका सम्पूर्ण घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर निरुपण गरौं भनेर विभिन्नखालका सम्झौता भए । परिणामस्वरुप २०६६ सालमा नै सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धमा व्यवस्थापिका संसदमा प्रस्तुत गरिएको थियो । अहिले त्यो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएर बसेको छ । यतातिरका न्यायिक सवाललाई थाँती राखेर आज वामदेव र रामशरण दैलेख पुगेर डेकेन्द्रको चिहानबाट किन कुर्लिन्छन् ? यो दःुखपूर्ण हो घटना हो भन्ने जसलाई पनि थाहा छ । तर, आफ्नो सत्ता स्वार्थका लागि कसैको लासलाई राजनीति गर्ने हतियार बनाउनु हुँदैन । अहिले कांग्रेस एमालेलगायतका दलहरु गोहीको आँसु झार्दैछन् डेकेन्द्रको लासमाथि । उनीहरुलाई राम्रैसँग थाहा हुनुपर्छ– १० वर्षे जनयुद्धको क्रममा उनीहरुले पनि सयौंलाई डेकेन्द्रकै हालतमा पु¥याएका हुन् ।

स्मरण रहोस्, हजारौंको नेपालीको रगत बगेको जनयुद्धमा दैनिक नेपाल आमाको काख रित्तिदा तिनै वामदेव सरकारको उच्च ओहदामा थिए, गृहमन्त्री भएर प्रहरी प्रशासन चलाउँथे । यिनै कांग्रेस, एमालेका नेताहरु हुन्– सरकारमा रहेर तत्कालिन माओवादीहरुलाई सखाप पार्न झोलाभरि टाउका काटेर ल्याऊ त्यही झोलाभरि पैसा लिएर जाऊ भनेर सार्वजनिक आह्वान गरे । माओवादीलाई मार्ने नाममा सयौं सर्वसाधारण नेपालीको हत्या गरे, हजारौंलाई यातना दिई अंगभंग बनाउनेदेखि बस्तीका बस्ती आगो लगाएर उजाड बनाउने काम गरे । अहिले मानवअधिकारको वकालत गर्दै कुर्लिने नेताहरुले हिजो डोजर लगाएर नेपालीको चिहान खन्न लगाएका थिए । हिजो महेन्द्र पुलिस क्लबमा कृष्ण सेनलाई निर्ममतापूर्वक कुटी–कुटी मार्दा शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा थिए– उनकै आदेशमा कृष्ण सेन मारिएका थिए ।

एक समयमा नेपाली कांग्रेसले वीपी कोइरालाको नेतृत्वमा मुक्ति आन्दोलन गर्दा मुक्तिसेना तयार गरि हतियार उठाएको थियो । कम्युनिष्ट नेता सीपी मैनालीको नेतृत्वमा सामन्तको टाउका काट्ने झापा विद्रोह भएको थियो । त्यसैगरि तत्कालिन माओवादी जनयुद्ध पनि त्रासदी र दुःखपूर्ण थियो नै । यी सबै सशस्त्र विद्रोहहरु शान्तिपूर्ण हुन सक्छन् त ?

अहिले दैलेखबाट केन्द्रीय आन्दोलन शुरु गरेका राजनीतिक दलले बुझ्नैपर्छ, दैलेख कसैको कुर्सी आरोहणका निम्ति भ¥याङ बन्ने छैन । वर्षौंदेखि कष्ट सहदै आएका नेपाली अब रगतको पोखरीमा तैरिन राजी छैनन् । गुलेली र मट्याङ्ग्रा दिएर केटाकेटीलाई फुल्याएझैं डेकेन्द्रको रगतलाई कुर्सी र डलरसँग साट्न दिने छैनन् । होसियार अर्कालाई पुर्न तयार गरेको खाल्डोमा आफै जाकिन के बेर ? बरु विपक्षीहरु दैलेख पुगेर रोनाधोना गर्नुभन्दा सिंहदरबार जाऊ, छलफल गर, सहमति गरेर जनतालाई शान्तिपूर्वक बाँच्न देऊ । संविधान देऊ । देशमा गतिलो कानून नभएकै कारण आज दिनदहाडै कयौं महिला, नाबालिका बलात्कृत हुनुपरेको छ ।

आम नागरिक सुनौलो राष्ट्र निर्माणको स्वर्णिम कल्पनामा छन् । अब जनतालाई राहत देऊ कोही राजनीतिक दल पानीको तलाउभित्र पसेर ओभानो बन्न नखोजे हुन्छ । नेपाली जनता जंगबहादुरको पालाका जस्ता होइनन्, २१ औं शताब्दीका जनता आफै न्यायिक मन्दिरमा छन् । कुमार लामा र डेकेन्द्र प्रकरणले बुढी मरिन् भनेर होइन् काल पल्कियो भन्ने कुरालाई मनन् गर्दै काल परास्त पार्न सक्ने उपचारतिर लाग्दा बुद्धिमता हुन्थ्यो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *