महोत्सवको ८३ प्रतिशत तयारी पूरा

  
  प्रकाशित मितिः मङ्लबार, माघ २३, २०६९       | 107 Views   ||

तुलसीपुर, माघ २३ । दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवम् मध्यपश्चिम औद्योगिक कृषि मेला मूल आयोजक समितिले मंगलबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि ८३ प्रतिशत तयारीको काम पूरा भएको जनाएको छ । तुलसीपुर उद्योग वाणिज्य सघको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै मूल आयोजक समितिका संयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष मधुसूदन वैद्यले आगामी माघ २८ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन गरिने महोत्सवको तयारी ८३ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो ।

करिब पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको मेलाबाट १५ करोडको कारोबार हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । २ सय ३५ वटा स्टल निमार्ण गरिने र हालसम्म करिब २ सय ५ वटा स्टल बुकिङ भइसकेको वैद्यले जानकारी दिनुभयो । कुल कारोबारबाट खर्च कटाई करिब ५० लाख बचतबाट सुविधासम्पन्न सभाहल निर्माणको काम शुरु गर्ने लक्ष्य लिएको उहाँको भनाई थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य ध्रुवराज श्रेष्ठले महोत्सवको तयारी उत्साहजनकरुपमा भइरहेको भन्दै हालसम्म प्रायोजक, सहआयोजकबाट करिब ४० लाख संकलन भइसकेको बताउनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष टेकनप्रसाद बस्नेत हिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रम राप्ती अञ्चल समितिका सचिव भरतनाथ योगीले महोत्सव अवधिभर राप्ती अञ्चलमा सञ्चालन हुने यात्रुबाहक सवारीसाधनहरुमा महोत्सवमा सहभागी हुने यात्रुहरुका लागि १० प्रतिशत भाडा छुट गरिने जानकारी दिनुभयो । त्यसका लागि सम्पूर्ण यातायात व्यवसायी र मजदूरहरुलाई निर्देशन दिइसकिएको योगीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *