मुर्कुटी : वर्षौंदेखि जस्ताको तस्तै

  
  प्रकाशित मितिः मङ्लबार, माघ २३, २०६९       | 100 Views   ||

murkuti-[गोविन्द खड्का]

लगभग तीनदशक भएछ फलामे रड प्रयोग गर्न लागेको मुर्कुटीबासीले । अहिले पनि पक्की घर आधा दर्जनजति मात्रै छन् । तर, जमीन भने एक मिटरको पचास हजार रुपैयाँ नाघिसकेको छ । दाङको पहाडी गाविस लोहारपानीमा पर्ने मुकुर्टी बजारमा घडेरी पाउन सजिलो छैन आजभोलि ।

मुख्य पर्यटकीयस्थल बंगलामुखीको कोखबाट आकाश खुल्छ बिहान मुर्कुटी बजारको । भालेको डाँकोसँगै ब्यूँझिने मुर्कुटीबासीको उत्तर दक्षिण हुत्तिने हावाले थाँतबास उडाइदिन्छ कहिलेकाँही । त्यसैले छाना बलियो हुनुपर्छ, घर पक्का । स्थानीयका अनुसार वनमा घाँसपात छैन । महंगो मात्रै होइन छाना छाउने खर, खोजेरै पनि पाइदैन । हरेक साल पैसाले नधान्ने, हावाहुरीबाट जोगाउन पनि नसकिने भएपछि ढलान चाहिन्छ । जस्तापाताको घरको समेत भर पर्नु छैन ।

बजार पस्दै गर्दा गरिबहरु विस्थापित हुँदै जाने नियम त्यहाँ लागू भएको छैन । दशकौं बित्न लाग्दा बजार सुक्दै गएको जस्तै भएको छ । ‘पञ्चायतकालमा असाध्यै चहलपहल थियो । गाडी घोडाको पनि लस्कर हुन्थ्यो । अहिले त सबै कुरा सुक्दै गएकोजस्तै हुन्छ ।’ निवर्तमान गाविस अध्यक्ष भक्तबहादुर ओलीले भन्नुभयो । उहाँका अनुसार द्वन्द्वकालमा यातायात ठप्पै रह्यो । त्यसपछि पनि खासै प्रगति भएको छैन । दिनमा एउटा मात्रै गाडी चल्छ । घोडा–मान्छे सबैको चाप घटेको छ ।

बजार क्षेत्रभरि कालोपत्रे गरिएको छ । मुर्कुटीका बासिन्दा भन्छन्– धेरैपछि सडक पुगेको ठाउँमा पिच भयो होला । मुर्कुटी बजारमा भने वर्षा लाग्यो भने गाडी बन्द हुन्छ । तापासम्म जाने घोराही सिमेन्टका गाडि जति चौबिसै घण्टा चलिरहन्छन् । काभ्रेको कमिरेचौरबाटै छुटिन्छ मुर्कुटी । सजिलो र अप्ठ्यारो बाटोसँगै । वर्षामा डुब्ने, हिउँदमा धूलोको कुहिरोमा पुरिने र उछिट्टिने बाटो पर्छ मुर्कुटी जान । साँझमा समयमा गाडी नपुग्दा ‘थक्क आज पहिरो गएछ’ भन्दै निरास हुन्छन् मुर्कुटीका होटेल साहुहरु । बासी रहन्छ लोकल कुखुराको झोल ।

अरु गाविसले शान्ति प्रक्रियापछि भवन निर्माण गरे । लोहारपानी गाविस कार्यालय टहरामै छ । दश वर्षसम्म भाडामा र सदरमुकाममा बस्यो । मालपोत उठाउन अहिले पनि सकेको छैन । कोइला र सिमेन्टमा प्रयोग हुने ढुङ्गाखानी गाउँ–गाउँमा छ । जुन वडामा उत्पादन हुन्छ, त्यही खर्च गरिन्छ । हेल्थ पोष्टले पनि फर्निचर थन्काएको छ । व्यवस्थित भवन छैन । चौबिस घण्टे प्रसूति सेवा दिएर पनि कुनै महिनामा एकजना पनि गर्भवती स्वास्थ्य संस्थामा आउँदैनन् ।

हुन त गुरुयोजना बनाएर हौसिएको छ लोहारपानी । गुरुयोजनामा छन्– व्यवस्थित बजार, पर्यटकीय क्षेत्र बंगलामुखी फेदमा रिङ रोडको सपना, उत्पादनमा वृद्धि गर्न जडीबुटी खेती र जंगली जनावर र पंक्षीको संरक्षण । स्थानीय काशीराम ओलीका अनुसार बाँझ, सल्ला, अर्खला, पैयूँ, काफल, तेजु, चिलाउने र कटुसलगायतका वोटविरुवा प्रतिघर सातवटाका दरले रोपियो यस वर्ष । अहिले खुला दिसामुक्त घोषणा भएको गाविस कुनै बेला धुम्रपान तथा जाँडरक्सी निषेधित क्षेत्रको रुपमा पनि घोषणा भएको थियो । तर, अहिले घोषणा हराइसकेको अवस्था छ ।

मुर्कुटी बजारमा चाउमिन, छोला, समोसा मात्रै चल्छ भन्छन् हाम्रो नास्ता पसलका साहुजी मानबहादुर ओली । बढी चल्ने नास्ता पसल भएपनि बनाइरहेको भन्दा नयाँ परिकारको आवश्यकता ठानेका छैनन् । उनको भनाइअनुसार आधुनिक रेष्टुरेण्ट र महंगा परिकारको सम्भावना देखिदैन यहाँ । बजारमा चारवटा जति कस्मेटिक, तीनवटा मेडिकल, केही कपडा पसल, फेन्सी, एउटा गहना पसल, फोटो स्टुडियो, तरकारीसहितका किराना, एउटा स्टेश्नरी र सिलाइकटाई पसल छन् ।

गाउँको बजार भएपनि गाउँमै उत्पादित दूध पाइदैन । तरकारी, तेल, दाल चामल सबै घोराहीबाट लिइन्छ । टिमुरबाहेक मसला पनि बजारकै चल्छ । रक्सीले भने धोको पूरा गरिदिन्छ गाउँले स्वादको । त्यति सजिलो त पिउने पानी पाइदैन, धाराले सताइरहन्छ । ‘लरक्कै भयो, प्यारो बन्यो । गफ लायो । पैंसा फुस्कायो । हजुर भन्यो । हात जोड्यो । दियो । खाइसक्छ । पछि थोरै पैंसा आफुले माग्न सकिन्न उसले दिन्न । पैंसा तिर्दैन चोरेको होइन के गर्नु ?’ स्थानीय पुनाराम ओलीले भने । जाँड खाएर दिनभरि बरालिनेहरु बढिरहेका छन् । विदेश जाने पैसा पठाउने । मोबाइल किन्ने चमकदमक गर्नेहरु पनि थपिदैछन् आजभोलि ।

बुढापाकाहरु मर्ने र युवाहरुको गिदी बदल्ने हो भने मात्रै रक्सी खानेलाई सुधार्न सकिन्छ भन्छन स्थानीय बुद्धिजीवीहरु । उनीहरुका अनुसार काखे नानीले पैसा माग्यो भने अभिभावकले लौ नानी खाउ भनेर रक्सीको घुट्को खुवाउँछन् । अनि कसरी सप्रिन्छ समाज ? ‘एउटा भैसी पाल्यो । दुहेर खायो । केटाकेटीले गर्दैनन् ।’ आफुले गरि खान सकिन्न । साकिनेका मेघबहादुर रावतले भन्नुभयो । ७३ वर्षे रावतलाई घाँस ग्वाला गर्न धौ हुँदै गएको छ । नजिकै उमावि छ, बालविवाह गर्नाले उपयोग गर्न सकिएको छैन । एउटा बोर्डिङ छ, बालिबालिकाका लागि विद्यालय पुग्ने वातावरणको बाधक गरिबी पनि बनेको छ । त्यस्तै, पढ्ने वातावरण बनाउन समाजको सुधार जरुरी छ भने भौगोलिक विकटता पनि बाधक बनेको छ । गोरुको ढाड जस्तो लच्किएको जस्तो लाग्ने बजार निकै पुरानो मानिन्छ । तर विकास भने कछुवाको गतिमा हुने गरेको स्थानीयको दुखेसो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *