थारु जातिको साझा देउठन्वा संरक्षण गरौं

  
  प्रकाशित मितिः मङ्लबार, माघ २३, २०६९       | 114 Views   ||

Santosh_dahit1-[सन्तोष दहित]

भाषा र संस्कृतिमा कुनै पनि समुदायको पहिचान हुन्छ । हरेक जातिको परम्परागत संस्कृति, संस्कार संरक्षण गर्नु राज्यको दायित्व रहन्छ । नेपालको तराईमा मध्यपाषण युगदेखि अर्थात् ३/४ लाख वर्षअगाडिदेखि बस्दै आएको नेपालको आदिवासी थारु समुदाय हुन् । थारु समुदाय आर्थिक, सामाजिक, राजनैतिक र शैक्षिक रुपमा पछाडि भएपनि भाषा र संस्कृतिमा नेपालको सबैभन्दा धनी समुदायको रुपमा चिनिन्छ । उनीहरुको आफ्नै छुट्टै भेषभुषा, संस्कृति, रहनसहन, लवाइखवाई छ । त्यस्तै आफ्नो छुट्टै मौलिक भाषा छ ।

विडम्वना ! राज्यले थारु समुदायको हरेक चाडपर्वलाई वेवास्ता गर्दै आएको त छँदैछ । भौतिक संरक्षण नहुँदा थारु समुदायले परम्परागतदेखि पूजाआजा गर्दै आएका साझा देउठन्वा जीर्ण अवस्थामा रहेका छन् । यस्तै देउठन्वाको वरिपरि पर्खाल नहुँदा पुर्खाहरुले निर्माण गरिएको काठको देवता निर्माण गरिएको डहरचण्डी, पाँच पाण्डवलगायतका देवता कयौं गाउँबाट चोरी हुँदा थारु समुदाय झनै मर्कामा परेका छन् । पुनः ती देवतालाई बनाउँदा ठूलो खर्च हुन्छ भने काठ नभएर थारु समुदायका अगुवाले काठको ठाउँमा ढुंगाको देवता बनाउन थालेका छन् । तर, काठमा जस्तै चित्र बनाउन गाह्रो भएकाले पहिलेका पुर्खाहरुले बनाएको चित्रजस्तै ढुंगामा उतार्न भने गाह्रो भएको छ ।

थारु समुदायको संस्कृतिलाई नै सिध्याउने तरिकाले दाङ जिल्लामा केही वर्षअघि अधिकांश गाउँमा थारु समुदायको साझा देउठन्वामा रहेका काठमा विभिन्न चित्र बनाएका देउता चोरी भएका थिए । त्यसपछि थारु अगुवाहरुले पुर्खाहरुले बनाएझैं अर्का देवता बनाएका थिए । तर, फेरि चोरी हुन लागेपछि थारु अगुवाहरुले अहिले प्रायः काठको ठाउँमा ढुंगाको देवता बनाएको पाइन्छ । थारु समुदायहरुको साझा देउठन्वामा एकचोटी मात्र पूजाआजा नगर्ने हो भने गाउँघरमा बिरामी पर्ने गाउँको सुरक्षा नहुने, अन्नबाली नसप्रिनेजस्ता घटना हुने गरेको थारु अगुवाहरुको भनाइ छ । त्यो घटना घट्न नदिनको लागि थारु समुदायले परम्परागत पूजाआजा अहिले पनि गर्दै आइरहेका छन् ।

आफ्नो पहिचान र अस्तित्व कायमका लागि थारु समुदायका अगुवाहरु साझा देउठन्वालाई संरक्षण गर्नुपर्ने बताउँछन् । अरु समुदायहरुको लागि भाषा, कला, संस्कृति, मठमन्दिर संरक्षण गर्नको लागि लाखौं बजेट छुट्याएको मिडियामा सुन्न पाइन्छ । तर, थारु समुदायको लागि भने छुट्याएको कमै मात्रामा सुनिन्छ । थारु समुदायको सबैभन्दा पुरानो पहिचान भनेको साझा देउठन्वा हो । पहिलेका पुर्खाहरुले बिरामी परेपछि देउठन्वामा पूजाअर्चना गरेपछि निको हुने गरेको पुर्खाहरुको भनाइ छ । हरेक रोग निको गर्नको लागि देउठन्वा गएर पूजा गरेपछि रोग निको हुने गरेको पाइन्छ । यतिमात्र नभएर गाउँ असुरक्षा भयो भने देउठन्वा दर्शन गरेपछि आफ्नो सुरक्षा हुने, गाउँमा अन्नबाली नसप्रेपछि गाउँका सबैले मिलेर पूजाअर्चना गर्दा गाउँको अन्नबाली सप्रिनेजस्ता विश्वासले अहिले पनि थारु समुदायले यो परम्परालाई कायमै दिदै आएको पाइन्छ ।

जति अरु समुदायले मठ मन्दिरमा विश्वास राख्छन् त्यति नै थारु समुदायले देउठन्वाको विश्वास गर्दै आएको पाइन्छ । थारु समुदायले गाउँका सबै (गरधु¥या) अगुवाहरु मिलेर वर्षको ५/६ वटा ठूला–ठूला पूजाअर्चना गर्ने गरेको पाइन्छ । जस्तै : हा¥या गुरै, धुह¥या गुरै, धोहरी गुरै, खेन्वा वहन्ना गुरै लगायतको पूजाअर्चना गर्ने गरेको पाइन्छ । यतिमात्र नभएर कहिलेकाही खडेरी लागेको बेला पानी नआएपछि देउठन्वामा पूजा गरेपछि पानी पर्ने गरेको पनि पाइन्छ ।

निकै महत्वका रहेको थारु समुदायको साझा देउठन्वामा बिहे गर्ने बेला जन्ती जाने होस या जन्तीबाट फर्केपछि पहिले त्यही देउठन्वामा अनिवार्य घुम्नैपर्छ । जुन कार्य गर्दा बिहेको शुभसाइत हुने दुलहा तथा दुलहीको सुरक्षा हुने गरेको अन्धविश्वास रहेको छ । जुन विश्वास मानेर थारु समुदायमा यो परम्परालाई अझै निरन्तरता दिइरहेका छन् । यतिमात्र नभएर उताबाट आएको जन्ती समूह होस् या दुलहीको समूह सबै अनिवार्य देउठन्वामा एकपटक घुम्नैपर्ने संस्कार रहेको छ । बिहेको बेला जन्ती जाने बेला देउठन्वामा घुमेपछि शुभसाइत मात्र नभएर जन्ती जाने समूहको सुरक्षा हुने विश्वास रहेको छ । यो देउठन्वामा थारु समुदायका मान्छेमात्र नभएर अहिले थारु गाउँमा बस्ने अन्य समुदायले पनि देउठन्वालाई सम्मान गर्दै आएका छन् । हरेक पूजाआजा गर्ने बेला थारु समुदायका गरधुर्याजस्तै तिनीहरु पनि ती गरधुर्याहरुलाई सहयोग गर्दै आएको पाइन्छ । उनीहरुले अहिले आ–आफ्नो छोराछोरीको बिहे गर्ने बेला पनि जन्त जानेभन्दा अगाडि थारु समुदायको साझा देउठन्वा घुमेर जन्त जान्छन् । त्यसैगरि दुलहीलाई घरमा भित्र्याउनुभन्दा अगाडि त्यही देउठन्वामा घुमाएर घरभित्र लग्ने गरेको पाइन्छ ।

त्यसैले यति महत्व रहेको थारु समुदायको साझा देउठन्वालाई अरु मठमन्दिर जस्तै प्रचार प्रसारमा ल्याउनको लागि र थारु समुदायको परम्परागत संस्कारलाई कायम राख्नको लागि पनि जीर्ण अवस्थामा रहेको देउठन्वालाई राज्यले संरक्षण सम्वद्र्धन गर्नतिर लाग्नुपर्छ । थारु समुदायहरुको देउठन्वा जीर्ण अवस्थामा रहेको घरलाई पुनः मर्मत सम्भारको लागि राज्यले तत्काल राहत स्वरुप बजेट छुट्याउनु पर्छ ।

हुन त अहिले देउठन्वा अर्थात् भुइह्याँरको संरक्षण र सम्वद्र्धनलगायत थारु समुदायको महतवा प्रथालाई कायम राख्नको लागि थारु वरघर, भल्मन्सा महतवाहरु एकजुट भइरहेको अवस्था छ । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्ला लगायतका महतवा, भलमन्सा, वडघरलाई समेटेर महतवा भलभन्सा वडघर महासंघ गठन गरिसकेका छन् । थारु समुदायको साझा देउठन्वालाई संरक्षण र सम्वद्र्धन गर्नको लागि जिल्ला–जिल्लामा व्यापक सचेतनामूलक कार्यक्रम गर्दै आएको छन् । महासंघले थारु समुदायका परम्परागत संस्कार जोगाउन तदारुकताका साथ लाग्नेछ । जीर्ण अवस्थामा रहेको देउठन्वा निर्माणको लागि राज्यलाई घचघचाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *