स्वदेशी उत्पादनमा आत्मनिर्भर बन्दै महिलाहरु

  
  प्रकाशित मितिः मङ्लबार, माघ २३, २०६९       | 242 Views   ||

allo-[निर्मला आचार्य]

दाङ । घोराही बजारमा विभिन्न कपडा राखिएका फेन्सी पसलहरु प्रशस्तै मात्रामा देख्न सकिन्छ । तर, देख्दा फेन्सी पसलझैं लागे पनि निकै फरक ढंगले सञ्चालन हुँदै आएको छ एउटा पसल । विगत तीन वर्षदेखि घोराही–१० सिर्जनशील टोलनिवासी प्रेमकुमारी पुनले सञ्चालन गर्नुभएको पसल अन्य व्यवसायभन्दा भिन्नै छ ।

स्थानीय महिला दिदीबहिनीहरुलाई ज्यालादारीरुपमा राखेर निर्माण गरिएका विभिन्न प्रकारका झोलाहरु, स्टकोट, टोपी हाते पर्स, मोबाईल पर्सलगायत अरु थुप्रै सामग्रीहरु राखिएको छ उहाँको पसलमा । तर, ती सामग्रीहरु विदेशी कारखानामा उत्पादित झिलिमिली कपडाका भने होइनन्, बरु दुर्गम पहाडी गाउँमा उत्पादन गरिने अल्लो हेम्प रेसाबाट बुनिएका हुन् ।

कपडा निर्माणका लागि सेती, महाकाली र भेरीदेखि रोल्पा रुकुमबाट कच्चा पदार्थ अल्लो हेम्प रेसा खरिद गरि बनाइने प्रेमकुमारीले बताउनुभयो । आफ्नो व्यवसायमा काम गर्ने महिलाहरुलाई तीनदेखि पाँच सय रुपैयाँ, धागो कात्नेलाई प्रतिकेजी १ सय ५० रुपैयाँ दिएर विभिन्न कपडा निर्माण गरेको उहाँको भनाई छ । कच्चा पदार्थ बाहिरी जिल्लाबाट ल्याउनुपर्ने र ल्याउदा बाटोमा बिचौलियाहरुले हैरान पार्ने गरेको पुनले बताउनुभयो । उसो त उत्पादित सामग्रीको महत्वका बारेमा प्रचार प्रसारको अभाव भएको उहाँले दुखेसो छ । यसरी उत्पादन गरिएको सामग्रीहरुको प्रचारप्रसारको अभावले स्थानीयस्तरमा बाहेक अन्यत्र निर्यात गर्न नसकेको उहाँले बताउनुभयो ।

व्यवसायबाट महिलाहरुको आयस्तरमा परिवर्तन आएको छ । समयको सदुपयोग हुनुको साथै सानोतिनो भए पनि कामले आफ्नो छोराछोरीको पढाई खर्चलगायत आर्थिक समस्या टार्न सहज भएको सामग्री निमार्ण कार्यमा लागेका महिलाहरु बताउँछन् । आफूहरुले सञ्चालनमा ल्याएको व्यवसाय पुर्खाहरुको कामको निरन्तरता, महिलाहरुको आम्दानीको स्रोत बन्नुको साथै प्राकृतिक स्रोतहरुको सदुपयोग र संरक्षण भएको प्रेमकुमारीको भनाई छ ।

‘पुर्खाहरुले आफुले लगाउने कपडा आफै बनाएर लगाउने गर्थे, उहाँले भन्नुभयो– ‘अनि हामीले पनि लगाएका थियौं त्यसैले आफ्नो पुख्र्यौली पेसा जोगिने त छँदैछ, यसबाटै राम्रो आम्दानी पनि गर्न सकिन्छ ।’ स्वदेशी उत्पादनको महत्व र प्रचारप्रसारका लागि अब समुदायमै मात्र नभई यसलाई व्यवसायीकरण गर्नको लागि व्यवसाय सञ्चालन गरेको उहाँको भनाई छ ।

व्यवसायिक रुपमै थालिएको अल्लो हेम्प रेसाबाट बन्ने कपडाका सामानबाट एकातर्फ केही महिला दिदीबहिनीहरुले आयआर्जन गर्न पाएका छन् भने अर्कातर्फ देशको प्राकृतिक सम्पदाको सदुपयोग र परम्पराको संरक्षण भएकाले आफू उक्त व्यवसायबाट खुसी भएको पुन बताउनुहुन्छ । तर, स्वदेशी सामानको प्रचारप्रसारको अभाव पनि त्यत्तिकै मात्रामा रहेको उहाँको गुनासो छ । स्थानीय स्तरमै महिलाहरुद्वारा निर्माण गरिएको कपडाहरुमा नयाँपन हुनुका साथै बढी गुणस्तर भएको ग्राहकहरु पनि बताउँछन् । यसरी स्थानीयस्तरमै सञ्चालन गरिएको व्यवसायले महिलाहरुलाई रोजगारी मिलेको भन्दै उत्पादित सामग्रीको स्थानीयस्तरमा मात्रै नभई अन्तर्राष्ट्रिय क्षेत्रमा बजार विस्तार गर्न सके विदेशी मुद्राआर्जन गर्न सकिने राम्रो सम्भावना भएको ग्राहकहरुको भनाई छ ।

स्थानीयस्तरमा महिलाहरुको सीपको प्रयोगले सञ्चालनमा आएको व्यवसायबाट समग्र महिलाहरुको आर्थिक पक्षमा सुधार आएको छ । यस व्यवसायतर्फ राज्यको चासो नगएकोमा प्रेमकुमारीको गुनासो रहेको छ । आफुजस्तै स्थानीय दिदीबहिनीहरुले निर्माण गरि सञ्चालनमा आएका यस्ता व्यवसायको प्रवद्र्धनका लागि सरकारी तथा निजी स्तर सबैतिरबाट सहयोग हुनुपर्ने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *