चरा संरक्षणमा रामपुरका महिला

  
  प्रकाशित मितिः मङ्लबार, माघ २३, २०६९       | 161 Views   ||

-[जनक नेपाली ]

दाङ । रामपुरका महिला सामुहिक रुपमा चरा संरक्षणमा जुटेका छन् । पर्यावरण जोगाउने तथा आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यले उनीहरु चरा संरक्षणमा जुटेका हुन् । रामपुर गाविस वडा नं. ६ र ७ मा रहेका पाँचवटा समूहका महिला सामूहिक रुपमा चरा संरक्षणमा जुटेको चरीबाघ महिला बचत तथा ऋण समूहकी अध्यक्ष सीता पोख्रेलले बताउनुभयो ।

चरिंगेदह, मालझाँक्री, भोटेदह र कालिका सामुदायिक वनमा भएका विभिन्न प्रजातिका चराचुरुङ्गी संरक्षणका लागि पाँच समूहका १ सय ५० महिलाहरु जुटेको पोख्रेलले बताउनुभयो । अहिले ती वनमा कालो गरुढ, चील, गिद्ध, सुगा, मैना, चरीबाघ, ढुकुर, जुरेलीलगायतका करिब दुई सय बढी चराचुरुंगी रहेको उहाँले बताउनुभयो । चराले वन क्षेत्रको वातावरणलाई मनोरम बनाउने र आन्तरिक पर्यटक बढाउने भएकाले सबैले चराचुरुङ्गीको संरक्षण गर्नुपर्ने उहाँको भनाई छ ।

चरा संरक्षण अभियान शुरु गरेपछि वन क्षेत्रमा भरुवा बन्दुक, गुलेली, घुँयत्रोलगायत चरा मार्न प्रयोग हुने सामान लगेर जान प्रतिबन्ध लगाइएको मयूर महिला बचत तथा ऋण समूहकी सचिव देवका पाण्डेले बताउनुभयो । कसैले चराचुरुङ्गी मारेको पत्ता लागेमा पाँच सयदेखि पाँच हजारसम्म जरिवाना र वन्यजन्तु मारेमा जिल्ला वन कार्यालयको जिम्मा लगाउने निर्णय गरेको सचिव देवका पाण्डेले बताउनुभयो । उहाँका अनुसार चरा संरक्षणमा चरीबाघ महिला बचत तथा ऋण समूह, जुरेली महिला बचत तथा ऋण समूह, मैना महिला बचत तथा ऋण समूह, कोइली महिला बचत तथा ऋण समूह र मयूर महिला बचत तथा ऋण समूह रहेका छन् ।

यसैबीच चरा संरक्षण एवम् स्थानीय महिलाहरुको आयआर्जनका लागि भन्दै पर्यावरणीय एवं दिगो विकास अनुसन्धान केन्द्र दाङले पाँचवटै महिला समूहलाई २०÷२० हजार रुपैयाँ प्रदान गरेको छ । समूहलाई केन्द्रले उक्त रकम बीउपूँजीका रुपमा प्रदान गरेको केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले बताउनुभयो । उक्त रकम महिलाहरुको आयस्तर वृद्धि गर्न र चराहरुको खोज एवं अनुसन्धानमा खर्च गर्नुपर्ने रावतको भनाई छ ।

चरा संरक्षणमा जुटेका दिदीबहिनीहरु दैनिक वन क्षेत्रको अनुगमन गर्नुका साथै नयाँ–नयाँ चराचुरुङ्गीको तथ्याङ्क संकलन गर्न थालेका छन् । थालेको उनिहरुको भनाई छ । समूहका महिला हरुले मासिक प्रतिव्यक्ति २५÷२५ रुपैयाँ जम्मा गरी कोष बढाउने काम पनि गरिरहेका छन् ।  चरा संरक्षणमा उत्साहित महिलाहरुले आवश्यक सहयोग गरिदिन सबै सरोकारवाला निकायलाई आग्रहसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *