उज्यालोको गीत

  
  प्रकाशित मितिः मङ्लबार, माघ २३, २०६९       | 123 Views   ||

Manu-Manjil-[मनु मञ्जिल]

आ–आफ्ना धारिला,
मुटु फोर्ने गालीहरू बर्साउँदै जाऊन् मान्छेहरू
रूखपात सरमले झुक्ने अश्लील बर्बराहट छर्दै जाऊन् ।
म यही बाटो फेरि
सितारको रुनझुनजस्तो मीठो तरङ्गले
संवेदनको सागर ब्यूँझाउने
सुन्दर शब्दहरू बोल्दै
मधुर धुनहरू सुसेल्दै
यात्रीहरू आउने–जानेछन् भन्ने आशामा
हर चोट, सरम र सास्ती सहँदै जानेछु ।

एकदुई झरी वर्षात् त यो आकाश किन
म मेरै आँखाबाट बर्सेर आँखाभरि अटाइदिनेछु ।
गतिशील कुदेर सिर्जना
एकदुई बगरको, एकदुई मरुभूमिको क्षण
म मेरै पाइलाहरूले मेटाइदिनेछु ।
समयले हान्ने गरेका यी घातक घुयेँत्राहरू
कुनै दिन त दुःख र दुर्भाग्यका ढाडमा बज्रलान्
यतिबेला म यी प्रहारहरू, त्रास र उपहासहरू
शालीनताका साथ सही हिड्नेछु ।

केही घडी सङ्गीतको रिक्तता म सहुँला
केही घडी हावाको गतिहीनता म बेहोरुँला ।
ऐना फुटेर, चोइटिएर छरिएका
मेरा आफ्नै प्रतिविम्बहरू साहसका साथ म हेरुँला
हिड्दा–हिड्दै बाटो हराएर म
भ्रमित बनिदिउँला, केहीबेर कुहिरोमै वेग हानुँला
कुनै दिन फेरि म
सफा आकाशमा शान्त बहने
शीतल हावाको शालीन सङ्गीत सुन्दै
ईश्वरकै चेहरा देखिएलाजस्तो चहकिलो
अविराम एक झरना बगुँला ।
नयाँ क्षणहरूमा
ठाँटले एक जिन्दगी हिडेको छाप सडकभरि छोडुँला ।
उदास महादेशको बादशाह हुनुभन्दा म
उज्यालाको आशा बोकी हिड्ने एक खर्पने बनूँ
न्यानो रहर बोकेर केही प्रहर म बरु
यौटा हिमप्रदेश हिडिदिन तयार छु ।

बगून् समयका यी बगरमा केही उत्ताल भेलहरू
केही त बगोस् पनि पग्लेर
ज्यादै भो जमेको यो आँसुको हिमाल
लागोस् केही चोट यो लाटोपन उँगी बसेको पनि धेरै भो ।
भरियून् दुःखद कहानीले इतिहासका केही पृष्ठहरू
यत्ति अप्ठेरो कुदेर नथाक्ला समय
केही त्रासद अनुच्छेदहरू लेखिएर इतिहासको बिट नमारिएला ।
नयाँ पृष्ठहरूमा फेरि
मान्छेका अनगिन्ती सुखद कथाहरू पढ्न पाइने तिर्खामा
म एकदुई घुट्को धमिलो पानी पिउन तयार छु ।

केही क्षणकै लागि हो भने
होस्, प्रतिष्ठा रहोस् विप्लवको, यी भूकम्पहरूको
भुइँमै झरुन् दुईचार प्रिय ओजस्वी ताराहरू
निन्याउरो देखियोस् आकाशगङ्गा
र रोऊन् कोइलीहरू रातभर ।
यसरी रोऊन् कि रुवाउनेहरू नै रोऊन्
यसरी छोऊन् मुटु कि प्रस्तर–मूर्तिहरू रुँदै ब्यूँझिऊन् ।
सिर्फ समयले रोदनको रात घिसार्दै अनन्तभित्र नछिरोस्
काँचुली यहीँ फेरेर
विष यहीँ पोखेर अगाडि निक्लोस् समय
एकदुई प्याला जहर पिइदिन त म यसै तयार छु ।

हावाका बिबिध गन्धहरू सुँघ्दै जाउँला म
मौसमका अनेक रङहरू अनुभवको झोलाभरि टिप्तै जाउँला ।
यात्रामा अनेक मोडहरू हुनू भन्छु म
इन्द्रेणीमा अरू–अरू रङहरू थपिनू भन्छु
बाटामा एउटा बटुवा भेटेर अर्को भेटिनू, फेरि अर्को भेटिनू,
परिचितबाट बिदा भएर
अपरिचितसित परिचित भैदिनू ।
पाइला उचाल्नु नि पर्वतहरू पछारिने गरी
यौटा वेग लिएर सीमाले नसमात्ने गरी सीमापार भैदिनू ।
आहा ! शिखरहरूले आफूमास्तिर उचालिएका पाइलाहरू हेरिदिनुको मजा !
सीमाहरूले आफूभन्दा पर कतै पदचाप सुनिदिनूको मजा !
भ्रमहरूलाई एकएक गरेर झुक्याइदिनुको मजा !
वाद र व्याख्याभन्दा पर
वेद र बाइबलभन्दा पर
त्रिपिटक र कुरानभन्दा पर
हुस्सुहरूभन्दा पर यौटा किरणको अस्तित्वको मजा !

म भावनाको एक नीलो नदी
म चेतनाको एक सङ्लो नदी
कतै धमिलो बगेँ, कतै धमिलो बगिदिउँला
कतै अप्ठेरो बगेँ, कतै अप्ठेरो बगिदिउँला
तर समयका तल्ला किनारहरूलाई
म नीलो, सङ्लो छालले छाम्दै, सुम्सुम्याउँदै बग्न चाहन्छु
म दूरको त्यो नीलो सागरमा थप नीलो बगाउन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *