दाङमा आठ करोड मूल्यको इट्टा नष्ट

  
  प्रकाशित मितिः बिहिबार, माघ २५, २०६९       | 166 Views   ||

Itta-[निमुसंगम घर्ती]
दाङ, माघ २५ । तीन दिनसम्म लगातार परेको बर्षाका कारण दाङमा करिब ८ करोड मूल्यबराबरको इट्टा नष्ट भएको छ । सोमबार रातीदेखि परेको बर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा रहेका चिम्नी तथा भुसे इट्टा उद्योगमा रहेका पोल्न बाँकी करिब २ करोड ५२ लाख पिक काँचो इट्टा नष्ट भएको हो ।

जिल्लामा रहेका २२ वटा चिम्नी उद्योगका साढे २ करोड वटा काँचो इट्टा नष्ट भएको दाङ देउखुरी इट्टा व्यवसायी समितिका अध्यक्ष रोम ओलीले जानकारी दिनुभयो । काँचो इट्टाको मूल्य प्रति इट्टा ३ रुपैयाँ पर्ने भएकाले पानीका कारण करिब सात करोड पचास लाख मूल्य बराबरको इट्टा नष्ट भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिले जिल्लाको घोराही क्षेत्रमा एक, देउखुरीमा तीन, तुलसीपुरमा ७ र नारायणपुर क्षेत्रमा १० बढी चिम्नी उद्योग रहेका छन् । त्यस्तै जिल्लामा रहेका करिब १० वटा भुसे इट्टा उद्योगका दुई लाख जति इट्टा नष्ट भएको छ । भुसे इट्टालाई प्रति इट्टा साढे दुई रुपैयाँ पर्ने भएकाले करिब पाँच लाख रुपैयाँको नोक्सानी भएको हेनिका भुसे इट्टा उद्योगका सञ्चालक गोविन्द गिरीले जानकारी दिनुभयो । पोल्नका लागि तयारी अवस्थामा रहेका ती इट्टा कुनै कान नलाग्ने भएका छन् ।

भिजेका इट्टा अब यो पटक काम नलाग्ने र पछि सुकेपछि ठल्ला फोडेर फेरि इट्टा बनाउनुपर्ने समितिका अध्यक्ष ओलीले जानकारी दिनुभयो । देउखुरीका तीनवटा चिम्नी उद्योगमा रहेका काँचा इट्टा नष्ट हुँदा १ करोड रुपैयाँको क्षति भएको इट्टा व्यवसायी वामदेव डाँगीले जानकारी दिनुभयो । त्यस्तै दर्ता प्रकृयामा रहेका आधा दर्जन चिम्नी उद्योगमा रहेका इट्टा पनि नष्ट भएको छ । ती उद्योगहरुको पनि लाखौं रुपैयाँको नोक्सानी भएको सञ्चालकहरुले बताएका छन् । यसैबीच बर्षाका कारण इट्टा उद्योगमा काम गर्नेहरुलाई पनि बस्न समस्या भएको छ । चारैतीर हिलाम्य भएपछि कामदारहरुलाई समस्या भएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *