हेटौंडा महाधिवेशन

  
  प्रकाशित मितिः बिहिबार, माघ २५, २०६९       | 209 Views   ||

Janaubhar_logoएकीकृत नेकपा माओवादीको सातौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि नेपालको औद्योगिक नगरी मकवानपुरको हेटौंडामा शुरु भएको छ । दुइदशक लामो अवधिपछि हुन थालेको यो महाधिवेशनले सबैतिर उत्साह थपेको छ । नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी परिवर्तनको नेतृत्व गर्दै आइरहेको एकीकृत नेकपा (माओवादी) अहिले देशको केन्द्रीय राजनीतिमा रहेको छ । प्रमुख राजनीतिक शक्तिको रुपमा रहेको एकीकृत माओवादीको यो महाधिवेशन आन्तरिक पार्टी जीवनका लागि मात्र नभएर सिङ्गो मुलुकका लागि महत्वपूर्ण हुन आइपुगेको छ । यसले तय गर्ने रणनीति र कार्यनीतिको आधारमा देशको राजनीतिक प्रवाह कसरी अघि बढ्छ भन्ने कुराको निर्धारण गर्छ । त्यस कुराले पनि यतिबेला सबैको ध्यान माओवादीको महाधिवेशनतिर तानिन पुगेको छ । र, केही अपेक्षा र आशाको नजरले देश, दुनियाँले माओवादीको यो ऐतिहासिक महाधिवेशनलाई हेरिरहेका छन् ।

एकीकृत नेकपा (माओवादी) परिवर्तनको नेतृत्व गर्दै आएको देशको प्रमुख राजनीतिक शक्ति हो । यो शक्ति अहिले सरकारमा छ र यसका विरुद्ध प्रतिपक्षीहरुले आन्दोलन गरिरहेका छन् । तर, उनीहरुभन्दा ठूलो मात्रामा जनपरिचालन गरी माओवादीले देशभरका जिल्लाहरुमा सम्मेलन गरी आफ्नो जनशक्तिको आधार पनि प्रतिपक्षीहरुलाई देखाइसकेको छ । महाधिवेशन भनेको पार्टीको रणनीति, कार्यनीति र आन्तरिक जीवन, व्यवहारको समीक्षा गर्ने थलो हो । यो नीतिगत कुरा तय गर्ने पार्टीको सर्वोच्च निकाय मानिन्छ । एकीकृत नेकपा माओवादी वर्गसंघर्षको ठूलो अनुभव हासिल गरेर आएको पार्टी भएकाले यसले जनयुद्धका बाँकी अभिभाराहरु पूरा गर्ने मात्र नभएर पूर्णकालीन कार्यकर्ताको व्यवस्थापन अनि उनीहरुलाई ऊर्जाशील बनाइराख्ने चुनौतिपूर्ण जिम्मेवारी पनि पूरा गर्नुपर्नेछ । महाधिवेशनमा प्रस्तुत हुने अध्यक्षको राजनीतिक प्रतिवेदन गाउँ तहका कार्यकर्तासम्म अध्ययन गराएर मागिएको सुझाव प्रतिनिधिमार्फत् महाधिवेशनसम्म पु¥याइएको छ । तल्लो तहसम्मको कार्यकर्ताको सुझावलाई ध्यान दिई अबको पार्टी कस्तो बनाउने भन्ने कुरा यो महाधिवेशनले निर्धारण गर्नेछ । कम्युनिष्ट पार्टीको महाधिवेशन भनेको जनवादको उच्च प्रयोग हुने ठाउँ हो । जहाँबाट आगामी कार्यदिशासहितको नयाँ नेतृत्व चयन हुने गर्छ । माओवादीको २०४८ सालमा भएको एकता महाधिवेशनले जनयुद्धमा जाने आधार तयार पारेको थियो भने यो महाधिवेशनले जनवादी क्रान्तिको बाँकी कार्यभारलाई पूरा गर्ने र समाजवादमा जाने आधार तयार पार्ने कुरा अध्यक्ष प्रचण्डले बताइसक्नुभएको छ ।

अध्यक्ष प्रचण्डको १ सय २१ पृष्ठ लामो प्रतिवेदनमा क्रान्तिको निर्णायक विजयका लागि विद्रोहात्मक धक्काको अनिवार्यतालाई स्वीकार्दै आजको नेपालको अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको संघर्षलाई उत्पादनका निमित्त संघर्षसँग जोड्दै जनवादी क्रान्तिलाई पूर्णता दिने रणनीति अपनाइएको छ । जनवादी क्रान्तिलाई पूर्णता दिदासम्म समाजवादको आधार तयार भइसक्ने र यसले जनवाद र समाजवादको दूरीलाई धेरै नजिक बनाउने कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । यही विषय नै माओवादी महाधिवेशनको प्रमुख कार्यदिशाको केन्द्रीय छलफल र बहसको विषय बन्न जानेछ । यो बहसले राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीमा समेत नयाँ तरङ्ग ल्याउनेछ । त्यस्तै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको नकारात्मक पाटाहरुको समीक्षा गर्दै जनवादको नयाँ अभ्यासका विषयमा गरिने छलफलले पनि बहसलाई नयाँ स्तरबाट माथि उठाउनेछ । यी दुई विषय कम्युनिष्ट आन्दोलनमा नयाँ रुपले थालिएका र क्रान्तिको नयाँ मोडेलका रुपमा स्थापित गर्न थालिएका विचारधारात्मक कुरा हुन् र यिनको विस्तृत व्याख्या यो महाधिवेशनले गर्नेछ । यी बिषयबाहेक नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको समीक्षा, जनयुद्धको समीक्षा, शान्ति प्रकृयायताको समीक्षा, सीमा समस्या र कमजोरी, जनजिविकाको सवाल, सरकार, राष्ट्रियता र अहिलेको राजनीतिक निकासका आदि विषयहरु महाधिवेशनका छलफलका बिषय बन्न जानेछन् ।

त्यो बाहेक पार्टीभित्रका विकृति, विसंगति र व्यक्तिवादी स्वार्थी प्रवृत्तिलाई निरुत्साहित गर्ने र माओवादीको छविलाई क्रान्तिकारी बनाइराख्ने विषय र हिजो ठूलो त्याग र बलिदानीपूर्ण क्रान्ति गरेर आएका क्रान्तिकारी कार्यकर्ताको व्यवस्थापनलगायतका बिषय महाधिवेशनमा छलफल र समीक्षाका विषय बन्न जानेछन् । जिल्ला–जिल्लाबाट प्रतिनिधि चयन भएर गएका कार्यकर्ताहरुले यो महाधिवेशनबाट पार्टीलाई अघि बढाउने ठोस कार्यदिशासहित पार्टीलाई एकताबद्ध र क्रान्तिकारी बनाउने कार्ययोजना पनि तय गर्नेछन् । एकीकृत नेकपा माओवादीको काँधमा नेपाली क्रान्तिका कार्यभारहरुलाई पूरा गर्ने ऐतिहासिक जिम्मेवारी छ । यो जिम्मेवारी पूरा गर्न सही विचारधारात्मक राजनीतिक कार्यदिशा तय गर्दै एकताबद्ध र क्रान्तिकारी स्प्रीडले ओतप्रोत भएको सुसंगठित र बलियो कम्युनिष्ट पार्टी निर्माण गर्न यो महाधिवेशन सफल रहोस् । जनता, कार्यकर्ता, सहिद परिवार र तमाम शुभचिन्तक समुदायमा नयाँ आशा, विश्वास र ऊर्जा भर्न महाधिवेशन सफल रहोस् हाम्रो यही शुभेच्छा– शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *