‘सिदापानीले गुजारा चल्न छाड्यो’

  
  प्रकाशित मितिः बिहिबार, माघ २५, २०६९       | 92 Views   ||

harilal_1-[जनक नेपाली]
दाङ । कुनै समयमा तपाईंको कुन संस्था हो ? कहाँबाट आउनुभयो ? हाम्रा समस्या पत्रिकामा छापेर के दिनुहुन्छ ? भन्ने श्रीगाउँका हरिलाल बादीले कुनै बेला ओढारमै बसेर आधा जिन्दगी गुजारेको बताएका छन् । श्रीगाउँ–१ लेटारका ६५ बर्षीय हरिलालले घरद्वार नभएपछि सल्यानको माल्टामा रहेको ओडारमा बसी आधा जीवन काटेको बताए । घुमन्ते जीवन बिताउँदै आएको बताउने उनी ओढारमै बस्दाखेरि मादल, सुल्पा र जाल बुन्न सिकेको बताउँछन् ।

करिब १० वर्ष ओढारमा बिताएका उनी ०३० सालतिर मादल बेच्न पश्चिम दाङको श्रीगाउँमा आएको र त्यहीबेलादेखि यतै बसोबास गरेको बताए । ‘मादल बेच्नलाई यता आएका थियौं, अनिय यतै बस्न थालियो, अब त उमेर पनि ढल्किन लाग्यो ।’ सानैमा बाबाको मृत्यु भएपछि निकै दुःख कष्टका साथ दिन बिताएको उनी बताउँछन् । ओढारमा बस्दा ठूला जमिन्दारहरुले भोजभतेर गर्दा बोलाउने र त्यही गएर नाचगान गर्ने र त्यसवापत पाएको धान चामलले गुजारा चलाएको उनको भनाई छ ।

पश्चिम दाङमा आएर बस्दा घरद्वारको चिन्ता नभए पनि कसरी ज्यान पाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको उनले बताए । आफूले सिजनमा दैनिक दुइवटा मादल, पचास वटाजति सुल्पा बनाउन सक्ने भएपनि अहिले मादल र सुल्पाको प्रयोग कम हुँदै गएकाले आम्दानी हुन छाडेको सुनाउँछन् । ‘विष्ट बाुहनलाई सुल्पा र मादल बनाइदियो भने मात्र सिदापानी दिन्छन्, उनले भने– ‘अब सुल्पा त चलाउनै छोडिसके, मादल पनि दशैंतिहारको बेला मात्र हो, त्यही भएर गुजारा चलाउन गाह्रो भइसक्यो ।’

पछिल्लो समयमा आम्दानीको कुनै श्रोत नभेटिएपछि हरिलालले माछा मार्ने जाल बुन्न थालेका छन् । करिब ६ महिनामा एउटा जाल बुनी तीन हजारसम्म आम्दानी हुने र त्यसैबाट गुजारा चलाएको उनको भनाई छ । उनले भने– ‘रेशम धागोको मूल्य पनि आकासियो, छ महिना लगाएर एउटा जाल बुन्यो, जालको बजार नै छैन ।’

हरिलालजस्तै श्रीगाउँको लेटारका १९ घरपरिवार वादी समुदाय आम्दानीको श्रोत नभएपछि माछा मार्ने, मादल बनाउने, जाल बुन्ने पेसामा लागेका छन् । दिनभर बबई नदीमा गएर जाल खेल्दा १ किलो माछा मार्ने र त्यही बेचेर दश जनाको परिवार पाल्दै आएको लेटारकै तिले बादीको भनाई छ । एउटा आँखा देख्न र अरु काम पनि गर्ने नसक्ने भएपछि गुजाराकै लागि पुख्र्यौली पेशा अंगालेको उनले बताए । मावि श्रीगाउँमा पढिरहेका बालबालिकाहरुलाई छात्रवृत्तिको व्यवस्था भएपछि भने केही सहज भएको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *