प्रधानन्यायाधीशको नेतृत्वमा सरकार : प्रचण्ड

  
  प्रकाशित मितिः बिहिबार, माघ २५, २०६९       | 104 Views   ||

हेटौंडा, माघ २५ । एकीकृत नेकपा माओवादीले राजनीतिक गतिरोध अन्त्यका लागि वहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्ने प्रस्ताव गरेको छ । हेटौंडामा जारी माओवादीको सातौ महाधिवेशनमा अध्यक्ष प्रचण्डले राखेको चुनावी सरकार गठनको प्रस्तावलाई कार्यकर्ताले ताली बजाएर पारित गरेका हुन् ।

आफ्नो राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरुले राखेको जिज्ञासाका उत्तर दिँदै एमाओवादी अध्यक्ष प्रचण्डले वहालवाला प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव नै आफ्नो फर्मुला रहेको बताउनुभयो । उहाँले महाधिवेशन उद्घाटन समारोहको अवसरमा नयाँ फर्मूला ल्याउने र विपक्षीहरुले त्यसको विरोध नै गर्न नसक्ने बताउनुभएको थियो ।

पत्रकार सम्मेलनमा एमाओवादी प्रवक्ता अग्नि सापकोटाले दिएको जानकारी अनुसार प्रचण्डले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको सिमा विवादको समाधानका लागि जनमत संग्रह गर्ने प्रस्तावलाई हटाउनुभएको छ । यस्तै प्रचण्डले सम्बोधनका क्रममा प्रचण्डपथ नराख्ने र माक्र्सवाद–लेनिनवाद–माओवाद अंगाल्नुपर्ने बताउनुभयो । प्रचण्डपथ राख्नु नराख्नुको कुनै अर्थ नभएका कारण प्रचण्डले प्रचण्डपथलाई हटाउने बताएको सापकोटाले जानकारी दिनुभयो । प्रचण्डले बिप्पा सम्झौता गर्नु सैद्धान्तिकरुपमा नराम्रो नभएपनि दोहोरो कर लाग्ने व्यवस्था भने खारेज हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बिप्पा खारेज गर्न नैतिक हिसाबले नमिल्ने भन्दै कानून बनाएर नेपालको अनुकूल बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रचण्डले आफूले हरेक विस्तारित बैठकका निर्णय कार्यान्वयन गरेको तर अन्त कोठा नपाएका कारण लाजिम्पाटको घरचाहिं नछाडेको बताउनुभयो । प्रचण्डले धोवीघाट प्रकरणमा पार्टीका उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ निर्दोष रहेको बताउनुभयो । प्रचण्डले पहिचानसहितको संघीयताका लागि आन्दोलनमा जानुपर्नेमा जोड दिनुभयो ।

महाधिवेशनबाट पूर्ण केन्द्रीय सदस्यीय १ सय ५१ सदस्यीय रहने र बैकल्पिक केन्द्रिय सदस्यको पनि व्यवस्था गरिने भएको छ । केन्द्रीय समिति चयनका लागि कुलानन्द गिरीको संयोजकत्वमा सात सदस्यीय निर्वाचन मण्डल गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *