राजनीतिक र आर्थिक विकास सँगसँगै : महरा

  
  प्रकाशित मितिः सोमवार, माघ २९, २०६९       | 126 Views   ||

KB_maharaदाङ, माघ २८ । पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले राजनीतिक र आर्थिक मुद्दालाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभएको छ । अहिलेसम्म भएको राजनैतिक परिवर्तन संस्थागत गर्दै देशको आर्थिक स्तर पनि सँगसँगै माथि उठाउनुपर्ने भन्दै महराले देशको समग्र विकासका लागि आर्थिक विकासले निर्धारण गर्ने बताउनुभयो ।

आइतबारदेखि दाङको घोराहीमा शुरु भएको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवम् मध्यपश्चिम औद्योगिक कृषि मेलाको उद्घाटन कार्यक्रममा बोल्दै एमाओवादी नेता महराले आफ्नो पार्टीले महाधिवेशनबाट आर्थिक र राजनीतिक मुद्दा सँगसँगै बढाउने निर्णय गरेको बताउनुभयो । ‘हामीले उद्योगी, व्यवसायीहरुले चाहेको जस्तै देशलाई सबल र सक्षम बनाउनका लागि उत्पादनमा जोड दिने र औद्योगिक विकास गर्नुपर्नेमा जोड दिएका छौं, महराले भन्नुभयो– ‘आर्थिक परिवर्तन सुनिश्चित गर्नका लागि निजी क्षेत्रले सरकार र राजनीतिक दललाई पनि दबाब दिनुपर्छ ।’ आफ्नो पार्टीले अहिलेसम्मको परिवर्तनलाई संस्थागत गर्दै देशको आर्थिक विकासका लागि अघि बढ्न खोजिरहेको भन्दै नेता महराले फेरि दलहरु विवादमै अल्झिएर पछि फर्किएमा आर्थिक क्षेत्रमात्र होइन चौतर्फी संकटमा फस्नेसमेत बताउनुभयो ।

देशकै हकमा मध्यपश्चिम क्षेत्र विकासका हिसाबले पछाडि परेको भन्दै महराले योजनाबद्ध रुपले लागेमा सम्भावना पनि त्यत्तिकै रहेको बताउनुभयो । मध्यपश्चिम क्षेत्रकै केन्द्रको रुपमा दाङलाई विकास गर्न सकिने भन्दै महराले सरकारले ल्याएको विशेष आर्थिक क्षेत्रको रुपमा दाङलाई बनाउनुपर्नेमा जोड दिनुभयो ।

सामुदायिक सभाहल बनाउने लक्ष्य लिएर महोत्सव सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै महराले व्यक्तिगत तथा संस्थागतरुपमा आफूले सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय समुदायसम्म सभाहल बनाउने अभियानमा भरपूर पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । सधैं सरकारको मुख ताक्नेभन्दा जनस्तरबाट प्रयास गरेर राज्यको ध्यान तान्ने र निजी क्षेत्रलाई क्रियाशील बनाएर मात्र देशको विकास दु्रत गतिमा बढाउन सकिने उहाँले बताउनुभयो ।

महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले राजनीतिक अस्थिरताका कारण देशमा उद्योग व्यवसायको अवस्था धरासायी बन्दै गएको बताउनुभयो । सरकारले लगानी बर्ष घोषणा गरे पनि त्यसअनुरुपका कार्यक्रमहरु सञ्चालन हुन नसक्दा उपलब्धि हाँसिल गर्न अप्ठ्यारो परेको भन्दै अध्यक्ष वैद्यले भन्नुभयो– ‘राजनीतिक अस्थिरता, अन्योलताले लगानी वर्षको घोषणा गरेअनुरुप कार्यक्रम हुन सकेको छैन, यस्तै स्थितिमा उद्योग व्यवसाय फस्टाउने होइन, धरासायी हुने स्थिति आउँछ ।’

Dang_mahotsab_2वैद्यले राजनीतिक अस्थिरता, बजेट आउँदा हुने राजनीतिकरण, दलहरुको कुर्सी लडाई, कृषकलाई समयमा मल नहुनेजस्ता कारणले देशमा गरिखाने अवस्था नभएको छैन भन्ने पुष्टि भएको उहाँको भनाई थियो । ‘को सरकारमा छ वा छैन भन्ने बिषय उद्योगी व्यवसायीका लागि महत्वपूर्ण नभए पनि राजनीतिक दलहरुको सुझबुझ वा अराजकताले नै उद्योग व्यवसाय प्रभावित हुने गर्छ, उहाँले भन्नुभयो– ‘राजनीतिक असहमतिले उद्योगी व्यवसायी मारमा परिरहेका छौं ।’ देशको आद्योगिक बिकासका लागि स्थिर सरकार र स्पष्ट औद्योगिक नीति आवश्यक रहेको उहाँको भनाई छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले उद्योगी व्यवसायीको हत्या, लोडसेडिङजस्ता समस्याले उद्योग व्यवसाय धरासायी हुँदै गएको बताउनुभयो ।

दाङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक मधुसूदन वैद्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एमाओवादीका इञ्चार्ज निर्मल आचार्य, नेपाली कांग्रेसका सभापति घनश्याम रेग्मी, एमालेका अध्यक्ष नरुलाल चौधरी, नेकपा–माओवादीका इञ्चार्ज इन्द्रजीत चौधरी, मालेका सचिव नेत्रप्रकाश पाण्डे, पूर्वसभासद रश्मीराज नेपाली, नेकपा एकीकृतकी तुलसा केसी, मधेशी जनअधिकार फोरमका कृष्णगोपाल गुप्ता, फोरम लोकतान्त्रिकका विन्तीराम यादव, राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीका दिनेश न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका रवीन्द्र उच्च नेपाली, राप्रपा नेपालका भरत केसी, प्रमुख जिल्ला अधिकारी अव्दुल कलाम खाँ, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष के एल पीडित, सौभाग्य महिला तथा बचत सहकारी संस्थाकी हुमा डिसी, तुलसीपुर उवासंघका अध्यक्ष टेकनप्रसाद बस्नेत ‘हिमाल’, रोल्पा उवासंघका किशोर आचार्य, प्युठान उवासंघका माधवराज भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका मध्यपश्चिम संयोजक दीपेन्द्र खत्री, केन्द्रीय सदस्यहरु ध्रुवराज श्रेष्ठ, दामोदर आचार्यलगायतले बोल्नुभएको थियो ।

दाङ उवासंघका उपाध्यक्ष ओविन्द्रबहादुर महराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव हेमराज वञ्जाडे एवं सचिव सुन्दर गौतमले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष मनोज बुढाथोकीले गर्नुभएको थियो ।

महोत्सव उद्घाटनअघि ट्राफिकचोकबाट शुरु भएको शोभायात्रामा विभिन्न जातजाति, समुदाय, संघसंस्था, विद्यालयका गरी १ सय ५० व्यानरमा झाँकी, नृत्य, भेषभूषाहरु प्रस्तुत गरिएको थियो । स्थानीय थारु, मगर, व्राह्मण, क्षेत्रीहरुका झाँकी आकर्षक देखिएका थिए । परम्परागत मौलिक भेषभूषामा थारु बड्का, छोक्रा, सखिया नाच, पंैसेरी, सोरठी, लठ्ठीनाच, मयुरनाच महोत्सवका आकर्षण बनेका थिए ।

यसैगरी रोल्पाका उदिराम खड्काको मयुरनाच अझ आकर्षण बन्यो । दिनभर चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने, कृष्ण रेउले, चन्द्र शर्मा, हास्य कलाकार कमल गाउलेलगायतका कलाकारहरुको प्रस्तुतिले दर्शक तात्तिएका थिए ।

dang_mahotsab-1

Leave a Reply

Your email address will not be published. Required fields are marked *