दाङ, माघ २८ । आइतबारदेखि दाङको घोराहीमा दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवम् औद्योगिक कृषि मेला शुरु भएको छ । जिल्लामा बहुउद्देश्यीय सामुदायिक सभागृह निर्माण गर्ने लक्ष्यका साथ शुरु भएको महोत्सव आगामी माघ ८ गतेसम्म चल्ने आयोजक पक्षले जनाएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव शुरु भएको हो ।
दक्षिण एसियाकै सबैभन्दा ठूलो उपत्यका भए पनि दाङमा राष्ट्रिय स्तरका ठूला कार्यक्रमहरु गर्नलाई सभा हल नहुँदा विभिन्न अवसरबाट वञ्चित हुनुपरेकाले सामुदायिक सभागृह निर्माण गर्न महोत्सव आयोजना गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल समितिका संयोजक मधुसूदन वैद्यले बताउनुभयो ।
दुई हजार बढी अटाउन सक्ने सुविधासम्पन्न सभागृह र एक लाख बढी अटाउन सक्ने सभास्थल निर्माणका लागि अभियान शुरु गर्न महोत्सवको आम्दानीबाट ५० लाख छुट्याउने संयोजक वैद्यले जानकारी दिनुभयो । ‘हामी एक्लैले सामुदायिक सभागृह बनाउन सक्दैनौं, तर त्यसका लागि अभियान थाल्यौं भने अबको पाँच/छ वर्षमा केही न केही परिमाण त अवश्य निकाल्न सकिन्छ, वैद्यले भन्नुभयो– ‘अहिले महोत्सवको आम्दानीबाट ५० लाख जसरी पनि छुट्याएर राख्छौं र सहयोगका लागि सरकारी, गैरसरकारी, निजी क्षेत्रसँग अनुरोध गर्छौं, यो दाङ जिल्लाको समग्र विकासका लागि एउटा अभियानको शुरुवात पनि हो ।’
महोत्सवमा व्यापारिक तथा विभिन्न घरेलु उत्पादन तथा कृषिजन्य सामग्रीसहितका २ सय ३५ वटा स्टलहरु रहेका छन् । त्यस्तै, राप्ती क्षेत्रमा रहेका लोपोन्मुख तथा कृषि, पर्यटन र पुरातात्विक महत्वका वस्तुहरुलाई कोशेली घरमा बनाएर राखिने पनि आयोजक पक्षले जनाएको छ ।
त्यस्तै महोत्सवमा विश्वकै होचा व्यक्ति दाङ पुरन्धाराका चन्द्रबहादुर डाँगी र नेपालकै होची महिला दाङ चैलाहीकी इश्वरीमाया छिनाललाई ल्याइएको छ भने लोकदोहरी गीत तथा नृत्य प्रतियोगिता, कविता प्रतियोगिता कार्यक्रमहरु पनि राखिएको महोत्सव उपसमितिका सह–संयोजक ओविन्द्र बहादुर महराले जानकारी दिनुभयो ।
त्यस्तै, महोत्सव अवधिभर राप्ती अञ्चलको पर्यटकीय सम्भावनाको प्रचारप्रसार गर्ने उद्देश्यले एयर डाइनेष्टीको हेलिकप्टरबाट दाङ उपत्यका, स्वर्गद्वारी मन्दिरको दर्शन र रुकुमको स्यार्पू दह अवलोकनको व्यवस्था गरेको छ । हेलिकोप्टरका लागि भने सम्बन्धित व्यक्तिले निश्चित रकम तिर्नुपर्ने महराले जनाउनुभयो । करिब १५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको महोत्सवमा पाँच लाख दर्शकलाई सहभागी गराउने महोत्सव आर्थिक संकलन समितिका संयोजक धु्रवराज श्रेष्ठले बताउनुभयो ।