शैक्षिक सुधारका लागि २८ बूँदे प्रतिबद्धता

  
  प्रकाशित मितिः सोमवार, माघ २९, २०६९       | 268 Views   ||

hasta6er 1दाङ, माघ २९ । दाङका शैक्षिक सरोकारवाला निकायले जिल्लाको विद्यालय शिक्षा सुधारका लागि २८ बूँदे शैक्षिक प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । शैक्षिक क्षेत्रमा दाङबासीको एउटै इच्छा, बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा भन्ने मूल नाराका साथ जारी २८ बूँदे शैक्षिक प्रतिबद्धतामा जिल्ला शिक्षा कार्यालयका कर्मचारी, जिल्ला शिक्षा समितिका पदाधिकारी, जिल्लाभरिका सामुदायिक मावि तथा उमाविका प्रअ र व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षकका पेशागत संगठनका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालय निरिक्षक एवम् स्रोत व्यक्तिहरुले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर गरिएका २८ बूँदामा विद्यालयलाई धु्रमपान, मध्यपान, सुर्ती, खैनी, पान, गुट्का निषेधित क्षेत्र घोषणा गरि कार्यान्वयन गर्ने, शैक्षिक सत्र २०७० देखि १ देखि १२ सम्मका कक्षा एउटै समयमा सञ्चालन गर्ने र सोही शैक्षिक सत्रमा जिल्लाका सबै मावि र उमाविहरुमा इन्टरनेट सुविधाको विस्तार गर्ने, विद्यालयमा जंकफूड र कक्षाकोठामा शिक्षण सिकाइको समयमा मोबाइल प्रयोग निषेध गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, विद्यार्थीको नाममा निकासा हुने छात्रवृत्ति, पाठ्यपुस्तक लगायतका अनुदान सम्बन्धित शीर्षकमै खर्च गर्ने, विद्यार्थीलाई दण्ड र डर त्रास देखाउने होइन सकारात्मक सोंचका साथ सिकाउने, हरेक विद्यालयमा बाल क्लवको गठन गरी विद्यालय विभिन्न निर्णयहरुमा सहभागी गराउने, हरेक शुक्रबार चौथो घण्टीपछि अतिरिक्त क्रियाकलाप अनिवार्यरुपमा गराउने, बालमैत्री तरिकाले शिक्षण सिकाइ गराउनेलगायतका बुँदाहरु समेटिएको छ । जिल्ला शिक्षा समितिको सहयोगमा जिल्ला शिक्षा कार्यालय दाङले आयोजना गरेको शिक्षा, जीवन र कार्य सम्पादनमा रुपान्तरण प्रविधिसम्बन्धी तीन दिने गोष्ठी समापनको अवसरमा सोमबार उनीहरुले यस्तो शैक्षिक प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला शिक्षा समितिका जेष्ठ सदस्य रेशम खड्काको अध्यक्षतामा भएको गोष्ठी समापनका अवसरमा प्रमुख अतिथि क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका निर्देशक चुडामणि पौडेलले ‘शिक्षकले चाहे गर्न सक्छ’ अभियानका साथ लागेमा सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सकिने बताउनुभयो । शैक्षिकरुपमा मध्यपश्चिम क्षेत्रमै दाङ अगाडि रहेको भन्दै निर्देशक पौडेलले समग्र देशकै शैक्षिक क्षेत्रको अगंणी भूमिका दाङले निर्वाह गरोस् भन्ने अपेक्षा रहेको बताउनुभयो ।

chudamani_paudelविद्यालय सुधार कार्यक्रमअन्तर्गत प्रथम चरणमा पाँचवटा विषय कार्यान्वयन गर्न लागिएको भन्दै पौडेलले कक्षा १ देखि १२ सम्म एउटै समय र एउटै क्यालेण्डरमा पठनपाठन गराउनुपर्ने, प्रशासनिक नेतृत्व, लेखा प्रणाली र व्यवस्थापन समिति पनि एउटै बनाउनुपर्ने बताउनुभयो । ‘अहिले हामी यो नीति कार्यान्वयन गर्ने चरणमा छौं, उहाँले भन्नुभयो– ‘तपाईहरुले शैक्षिक सत्र २०७० देखि कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाइसक्नुभएको छ ।’ शिक्षकको पेसा शिक्षण भएको भन्दै निर्देशक पौडेलले भन्नुभयो– ‘शिक्षक साथीहरुले विद्यार्थीलाई पढाउने हो, झण्डा बोकेर राजनीति गर्ने होइन । आस्था सबैको कुनै न कुनै दलसँग रहला तर पार्टीको जिम्मेवार पदमा बसेर राजनीति नगर्नुस् ।’

समय र प्रविधिसँगै आफू पनि जानकार हुनुपर्ने भन्दै उहाँले विद्यार्थीहरुलाई सन्तुष्ट बनाउन सक्नु नै गुणस्तरीय शिक्षा भएको बताउनुभयो । प्रशिक्षण समापनका अवसरमा सहभागीहरुले जीवनमा दर्जनौं प्रशिक्षण गोष्ठीहरुमा सहभागी भए पनि अहिलेको गोष्ठी निकै नौलो र उत्कृष्ट भएको प्रतिक्रिया दिएका थिए । प्रशिक्षणले उमेर, बाह्य परिस्थिति र आफ्नै मनोदशाका कारण हराउँदै गएको जाँगर फर्केको भन्दै आफ्नो संस्थाका लागि केही न केही प्रगति गरेरै देखाउने प्रतिबद्धता समेत जनाए ।

तीन दिने गोष्ठीमा प्रशिक्षक नरबहादुर कार्कीले सकारात्मक सोंच, चिन्तन र परिवर्तनका लागि आफूबाटै शुरुवात गर्नुपर्ने लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो भने समापन कार्यक्रमको सहजीकरण जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले गर्नुभएको थियो । (बूँदाहरु निम्न छन् ।)

दाङ जिल्लाको विद्यालय शिक्षासम्बन्धी शैक्षिक प्रतिबद्धता–२०६९

jeet_b shahशैक्षिक क्षेत्रमा दाङबासीको एउटै इच्छा,
बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा

शिक्षा कुनै पनि समाज र राष्ट्र विकासको मेरुदण्ड हो । शिक्षाको गुणस्तर गतिलो भयो भने यसको प्रभाव समाज विकासका हर क्षेत्रमा सकारात्मक किसिमले पर्दछ भने यसको गुणस्तर अगतिलो भयो भने पनि यसको नकारात्मक प्रभाव समाज विकासको हर क्षेत्रमा नकारात्मक किसिमले पर्ने कुरामा कुनै द्विविधा देखिदैन ।

शिक्षाको यही गम्भीर पक्षलाई आत्मसात गर्दै दाङ जिल्लाको समग्र विकासका लागि यस जिल्लाको शैक्षिक स्तर उठाउनु पर्दछ भन्ने कुरालाई केन्द्रविन्दूमा राखी हामी देहायका जिल्लास्थित राजनीतिक दलका प्रमुख/प्रतिनिधिहरु, जिल्ला शिक्षा समितिका पदाधिकारीहरु, शिक्षकका पेशागत संस्थाका प्रमुख/प्रतिनिधिहरु, माध्यमिक एवम् उच्च माध्यमिक विद्यालयका अध्यक्षहरु एवम् प्रधानाध्यापकहरु, विद्यालय निरीक्षक एवम् स्रोतव्यक्तिहरु, सञ्चारकर्मीहरु र जिल्ला शिक्षा कार्यालय, दाङका सम्पूर्ण कर्मचारीहरु दाङको शैक्षिक क्षेत्रमा देहायका कुराहरु सशक्त रुपले कार्यान्वयन गरी यस जिल्लाको शैक्षिक सुधारलाई अभियानको रुपमा गति दिने कुरामा हामी दुढतापूर्वक प्रतिवद्धता जाहेर गर्दछौं ।
इतिसम्बत २०६९ साल माघ २९ गते रोज २ शुभम् ।

  1. विद्यार्थीहरुको उपस्थिति अंकको आधारमा बढी उपस्थित हुने विद्यार्थीहरुलाई मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरुपमा प्रौत्साहित गर्ने र कम उपस्थित हुने विद्यार्थीहरुको कारण पहिचान गरी समाधानका लागि पहल गरिनेछ ।
  2. विद्यार्थीको नाममा निकासा हुने छात्रवृत्ति, पाठ्यपुस्तक लगायतका अनुदानहरु विद्यालयहरुले सम्बन्धित शीर्षकमा समयमै खर्च गर्ने विषयलाई निरीक्षण गर्नका लागि सम्बन्धित निकायबाट उच्च प्राथमिकता दिइने छ ।
  3. विद्यार्थीहरुलाई शारीरिक दण्ड र डर त्रासको आधारमा होइन कि सकारात्मक सोचका आधारमा उनीहरुभित्र अन्तर्निहित सम्भावनाहरुको खोजी गरी शिक्षण सिकाइमा सुधार गरेका सन्दर्भहरुलाई विषयगत शिक्षकहरुले घटनाबृत्त अभिलेखको रुपमा वार्षिक रुपमा प्रतिबेदन तयार गरी राखिने छ र सोको समीक्षा स्टाफ बैठक र अनुगमन कर्ताहरुको उपस्थितिमा गरिनेछ ।
  4. विद्यालयको भौतिक पूर्वाधार र सुविधाहरुकोे व्यवस्था गर्ने क्रममा तल्लो तह र कक्षाका बालबालिकाहरुलाई सम्मानजनक किसिमले प्राथमिकता दिइने छ ।
  5. हरेक विद्यालयहरुका बालल्कवहरुको गठन गरी त्यस्ता बालल्कवहरुलाई विद्यालयले विभिन्न निर्णयहरुमा सहभागी गराइने छ ।
  6. आफ्नो विद्यालयका सेवाक्षेत्रका विद्यालय उमेरका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्ने कार्यमा सन् २०१५ सम्ममा दाङका हरेक विद्यालयहरु सफल हुनेछौं ।
  7. विद्यालयमा जङ्कफूड र कक्षाकोठामा शिक्षण सिकाइको समयमा मोबाइल फोन प्रयोगलाई निषेध गरिनेछ ।
  8. तोकिएको समयावधि र कार्यघण्टामा नघटाई शिक्षण सिकाइ क्रियाकलापहरु सञ्चालन गर्ने सवालमा विद्यालय र शिक्षाका सरोकारवालाहरुबाट उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्नेछौं ।
  9. शिक्षण सिकाइको सिलसिलामा बालमैत्री क्रियाकलापहरुलाई प्रोत्साहित गर्दै विद्यालयमा हुने विविध हिंसाजन्य क्रियाकलापलाई पूर्ण रुपले अन्त्य गर्नेछौं ।
  10. हरेक शुक्रबार चौथो घण्टीपछि विद्यालयमा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्ने छौं ।
  11. खानेपानी, शौचालय र सरसफाईको अभावको कारणले हाम्रो जिल्लाका कुनै पनि विद्यालयका बालबालिकाहरुले आफूले भर्ना भएको विद्यालय छोड्नु पर्ने छैन भन्ने कुरामा हामी सचेत रहनेछौं ।
  12. दाङका हरेक माध्यमिक र उच्च माध्यमिक विद्यालयहरुमा शैक्षिक सत्र २०७० भित्रमा इन्टरनेट सुविधाको विस्तार गर्ने छौं ।
  13. हरेक शिक्षकले शिक्षण सिकाइ क्रियालकलापमा आधारित भएर एक शैक्षिक सत्रमा कम्तीमा एउटा कार्यमुलक अनुसन्धान गरी शिक्षण कार्यमा सुधारका लागि पहल गर्ने छौं र यसको अनुगमन विव्यसका पदाधिकारी, वि.नि. र स्रोतव्यक्तिहरुबाट गरिने छ ।
  14. विद्यार्थीहरुको जन्म दर्ताका आधारमा भर्ना गर्ने कार्यलाई उच्च प्राथमिकता दिइ कार्यान्वयन गरिने छ र कक्षा ८ को परीक्षा आवेदन फारम भर्दा विद्यार्थीहरुको विवरण कम्तीमा एक हप्तासम्म विद्यालयको सूचना पाटीमा सार्वजनिक गरी विद्यालयमै सच्याउनका लागि मौका प्रदान गर्ने छौं ।
  15. विद्यार्थी सङ्ख्या र शैक्षिक उपलब्धिमा अभिबृद्धि गर्नका लागि विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा हरेक विद्यालयले ठोस कार्यक्रम निर्माण गरेर शैक्षिक सत्र शुरु हुनु एक महिना अगावै विद्यालय सुधार योजनामा समाहित गरी कार्यान्वयन गर्ने छौं ।
  16. हाम्रो जिल्लामा कुनै पनि गैरकानूनी शिक्षक र विद्यालयहरु नभएको घोषणा गर्दछौं र कथंकदाचित गैरकानूनी तरिकाले सञ्चालन हुने सामूदायिक र निजी विद्यालय एवम् कतिपय विद्यालयहरुका अनुमति नलिइ सञ्चालन गरेका कक्षाहरु भेटिएमा त्यस्ता कक्षाहरु बन्द गर्ने कार्यमा राजनीतिक दल लगायत शिक्षाका सरोकारवालाहरु सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण सहयोग गर्ने छौं ।
  17. विद्यालयहरुलाई धुमपान, मध्यपान, सुर्ती, खैनी, पान, गुट्का आदि निषेधित क्षेत्रको रुपमा घोषणा गरी सोको प्रभावकारी कार्यान्वयन गरिने छ ।
  18. कुनै पनि शिक्षक र कर्मचारीलाई मदिरा सेवन गरेको अवस्थामा विद्यालय हाताभित्र प्रवेश निषेध गर्ने विषयलाई कडाइका साथ कार्यान्वयन गरिने छ ।
  19. कतिपय शिक्षकहरु आफ्नो पिरीयड नभएको अवधिमा विद्यालयमा उपस्थित नहुने गुनासाहरु सरोकारवालाहरुबाट आइरहेको कुरालाई मध्यनजर राखी त्यस्ता शिक्षकहरुलाई पूरा समय विद्यालयमा रहने गरी विद्यालय र विव्यसले आवश्यक व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गर्नेछौं ।
  20. शैक्षिक सत्र २०७० देखि कक्षा ९–१२ का कक्षाहरु एउटै समयमा सञ्चालन गरिने छ ।
  21. सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरुको तलव भत्ताको भुक्तानी विद्यालयहरुले बैङ्क मार्फत गर्नेछौं ।
  22. नेपाल सरकारको साक्षर नेपाल अभियान कार्यक्रमअन्तर्गत हामीले हाम्रा घरपरिवारका सदस्य र आफन्तहरु निरक्षर रहेको अवस्थामा आफ्ना घरपरिवारका त्यस्ता निरक्षर सदस्य र आफन्तहरुलाई आगामी २ वर्षभित्रमा साक्षर बनाउने छौं ।
  23. विद्यालयलाई शान्ति क्षेत्र बनाउने नेपाल सरकारको निर्देशन र कार्यनीतिलाई यस जिल्लामा शसक्त रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा हामी प्रतिबद्ध छौं ।
  24. नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभागले क्षेत्रीय शिक्षा निर्देशक र जिल्ला शिक्षा अधिकारी लगायतका शिक्षाका सरोकारवालाहरुको उपस्थिति, सहभागिता र सहमतिमा जारी गरिएको शिक्षा सम्बन्धी बोडे प्रतिवद्धता – २०६९लाई यस जिल्लामा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने सवालमा हामी प्रतिबद्धता व्यक्त गर्दछौं ।
  25. दाङ जिल्लाको शैक्षिक क्षेत्र एवम् विद्यालयको व्यवस्थापन एवम् सञ्चालनका सवालमा योग्यता र क्षमतालाई कुल्चिएर तथाकथित राजनीतिक सहमति र आफन्तबादबाट प्रभावित हुने गरी विद्यालय तहदेखि जिल्ला तहसम्म कुनै पनि निर्णय नहुने कुरामा हामी सवै प्रतिबद्ध छौं ।
  26. हामी हाम्रो विद्यालयमा आ–आफ्नो आचारसंहिता निर्माण गरी कार्यान्वयन गर्ने छौं ।
  27. सञ्चारकर्मी लगायत शिक्षाका सरोकारवालाहरुबाट प्रस्तुत प्रतिबद्धता लगायत शैक्षिक क्षेत्रको सुधारका लागि गरिएका प्रयासहरुलाई अनुगमन गरी सुधारात्मक कार्यहरुलाई प्रोत्साहित र सुधार नगरिएका पक्षहरुलाई सुधारका लागि खवरदारी गर्नेछौं ।
  28. हामी हाम्रो जिल्लाको शैक्षिक सुशासन कायम राख्न प्रतिबद्ध रहने छौं ।

teacher's training

hasta6er 2

hasta6er 3

hasta6er-5

तस्वीर : डिल्ली मल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *