दाङ महोत्सवका सम्भावना र चुनौती

  
  प्रकाशित मितिः सोमवार, माघ २९, २०६९       | 112 Views   ||

pandav jee-[पाण्डव शर्मा]

‘दाङ महोत्सव २०६९ को अभियान बहुउद्देश्यीय सभागृहको निर्माण’ भन्ने मुल नाराका साथ यही माघ २८ गतेबाट दाङको घोराहीमा दाङ व्यापारिक तथा पर्यटन महोत्सव शुरू हुँदैछ । महोत्सवलाई मध्यपश्चिम औद्योगिक कृषि मेलासमेत भनिएको छ । महोत्सवको नाराबाटै स्पष्ट हुन्छ यो महोत्सवको मुख्य उद्देश्य भनेकै दाङमा खड्किएको बहुउद्देश्यीय सभागृह निर्माण गर्नु हो । दाङमा आधुनिक र सुविधासम्पन्न खेलमैदानसहितको बहुउद्देश्यीय सभागृह छैन । त्यो बनाउन निकै जरूरी देखिएको छ ।

कुनै पनि महोत्सव वा मेलाले दुई प्रकारका अपेक्षा राखेका हुन्छन् । एक अल्पकालीन अपेक्षा र अर्को दीर्घकालीन अपेक्षा हो । सभागृह निर्माणका लागि रकम सङ्कलन गर्नु यो महोत्सवका बाहिरी उद्देश्य देखिए पनि यसले जिल्लाको समग्र आर्थिक गतिविधि बढाउनमा सहयोग पु¥याउने छ । महोत्सवको उद्देश्य भनेको हाटबजार जस्तो सामान बिक्री वितरण गर्नु मात्र होइन । महोत्सवले स्थानीय वस्तु, सेवा तथा उत्पादनको प्रचारप्रसार र प्रवद्र्धन गर्न सहयोग पु¥याउनुपर्छ ।

दाङ दक्षिण एशियाकै सबैभन्दा ठूलो उपत्यका भए पनि यसको प्रचारप्रसार हुन सकेको छैन । अहिले दाङमा मात्रै नभएर मुलुकका सबैजसो जिल्लामा विभिन्न प्रकारका महोत्सव तथा मेलाहरु भइरहेका छन् । सबै मेलाहरुमा पर्यटन प्रवद्र्धन र कृषि उत्पादनको नारालाई प्राथमिकतामा राखेको पाइन्छ । त्यो नाराबाट दाङ महोत्सव पनि अछुतो रहन सकेन । यो स्वभाविक हो । नेपालका सबै जिल्ला तथा स्थानहरु पर्यटकहरुका गन्तव्य बन्न सक्छन् । नेपाल नै पर्यटकीय मुलुक हो । तर, हामीले के सोच्न जरूरी छ भने नेपाल आउने पर्यटकहरु दाङ आउनैपर्ने कारण के ? यसको हामीले पहिचान दिनुपर्छ । दाङ महोत्सवले निकालेका पर्चा पम्पलेटहरुमा जिल्लाका थुप्रै मठमन्दिर, गुफा र तालहरुको बारेमा उल्लेख गरिएको छ । ती स्थानहरु पर्यटकका लागि गन्त्वय स्थान हुन सक्छन् । त्यसैगरी प्यूठानको स्वर्गद्धारीको प्रचारले पनि दाङको आर्थिक विकास गर्न सकिन्छ । अहिले पनि वर्षेनी हजारौं भारतीय पर्यटकहरु दाङको बाटो हुँदै स्वर्गद्वारी गइरहेका छन् । तर, ती पर्यटकहरु दाङमा एक रूपैयाँ पनि खर्च नगरेर स्वर्गद्वारी ओहोर दोहोर गरिरहेका छन् । उनीहरुलाई एक रात मात्र दाङमा बसाल्न सके पनि यहाँको होटेल व्यवसाय फस्टाउन सक्छ ।

दाङको सवारीकोट जसपुर डाँडामा प्याराग्लाइडिङको राम्रो सम्भावना छ । उक्त क्षेत्रबाट हिमालसमेत देखिने भएकाले पर्यटकहरुका लागि गन्तव्य स्थल बन्न सक्छ । अब दाङको पर्यटन विकासका लागि धेरै मन्दिर, ताल तलैया र गुफाको प्रचार गर्नुले मात्र पुग्दैन । केही निश्चित पर्यटकीय स्थलको छनौट गरी ती स्थानमा पूर्वाधार विकास गर्न लाग्नुपर्छ । अहिले पनि दाङमा पर्यटनको क्षेत्रमा ठूलो लगानी आउन सकेको छैन । पर्यटकीय स्थलको पहिचान गरी स्वदेशी तथा विदेशी लगानी ल्याउन सके मात्र जिल्लाको आर्थिक विकासमा सहयोग पुग्ने छ । अहिले पनि दाङमा गुणस्तरीय होटेलहरु धेरै छैनन् । यहाँ आउने पर्यटकहरुका लागि राम्रो बस्ने बासको व्यवस्था मिलाउन सक्नुपर्छ । दाङ–स्वर्गद्वारी केवुलकारको विकास गर्न सके मात्र पनि वर्षेनी हजारौं पर्यटकहरु आउन सक्छन् ।

भर्खरै मात्र नेपाल उद्योग वाणिज्य महासङ्घले क्षेत्रगत विकासको अवधारणा ल्याएको छ । महासङ्घको यो अवधारणालाई व्यवहारिकरूपमा कार्यान्वयनमा ल्याउने हो भने विद्यमान क्षेत्रीय विकास असन्तुलन अन्त्य गर्न सहयोग पुग्छ । अहिले महासङ्घले त्यसका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ । अब दङालीहरूले दाङ–स्वर्गद्वारी केवुलकारको महत्वलाई राष्ट्रियकरण गर्नुपर्छ । यो व्यवसायीका लागि पनि सुरक्षित लगानीको क्षेत्र हो । केवुलकारमा जिल्लाको निजी क्षेत्रले पनि लगानी गर्न सक्छ । महोत्सवमार्फत् दाङ–स्वर्गद्वारी केवुलकारको महत्वलाई उजागर गर्नुपर्छ ।

दाङ कृषिका लागि निकै उर्वरभूमि हो । यहाँ उत्पादन हुने अन्न बाली तथा जडिबुटीको पनि प्रवद्र्धन गर्नु सक्नुपर्छ  । त्यसैगरी दाङ महका लागि पनि उत्पादनशील भूमि हो । यहाँको महलाई तेस्रो मुलुक निर्यात गर्न सक्ने वातावरण तयार गर्नुपर्छ । केही वर्षयता दाङमा ठूला उद्योगहरु पनि स्थापना हुन थालेका छन् । जिल्लामा तीनवटा सिमेन्ट उद्योग स्थापना भएका छन् । यसले हजारौंलाई रोजगारीको अवसर दिएको छ । जिल्लाको राजश्व सङ्कलनमा वृद्धि गरेको छ । हामीले सिमेन्ट उद्योग स्थापनालाई उद्योगसँग मात्र हेर्नुहुँदैन । सिमेन्ट उद्योग भएकै कारण यहाँ बोरा उद्योग खुलेको छ । उद्योगकै कारण मुलुकमा सयौं सवारी साधनको व्यापार भएको छ । यसबाट गाडी कम्पनीहरुलाई प्रत्यक्ष फाइदा पुगेको छ । उद्योगमा काम गर्ने हजारौंका छोराछोरी महंगो स्कुलमा पढ्ने भएका छन् । यसले शिक्षा क्षेत्रमा पनि फाइदा पुगेको छ । यदाकदा जिल्लामा ठूला उद्योग खुल्दा केही विरोधका स्वरहरू पनि सुनिन्छन् । स्थानीयस्तरमा केही सामान्य समस्याहरू देखाएर उद्योगको उत्पादनमा अवरोध गर्नेसम्मका वातावारणहरु आइरहेका छन् । ती गलत क्रियाकलापलाई रोक्नु समग्र दाङवासीको कर्तव्य हो ।

दाङ महोत्सवको अर्को मुख्य उद्देश्य भनेको जिल्लामा लगानीको वातावरण सृजना गर्नु पनि हो । दाङमात्र होइन समग्र नेपालको विकासका लागि विदेशी लगानी भित्रिन जरूरी छ । दाङ इँट्टा उद्योगका लागि सम्भावनायुक्त जिल्ला हो । अहिले पनि दर्जनौं इँट्टा उद्योगहरु सञ्चालन भइरहेका छन् । इँट्टा उद्योगलाई आधुनिकीकरण गरेर लैजान सक्नुपर्छ ।

महोत्सवबाट सङ्कलित केही रकमले यस क्षेत्रका उद्योगी व्यवसायीहरुको व्यवसायिक सुरक्षा कोष स्थापना गरिने आयोजक संस्था दाङ जिल्ला उद्योग वाणिज्य सङ्घले बताउँदै आएको छ । यो निकै सकारात्मक पक्ष हो । व्यवसायीको सुरक्षाबिना मुलुकको आर्थिक विकास हुनै सक्दैन । नेपालको कूल आर्थिक आकार वार्षिक रू. १८ खर्ब छ । तर, सरकारी बजेटको आकार भने वार्षिक करीब साढे ३ खर्ब मात्र छ । यसले के देखाउँछ भने नेपालको कूल आर्थिक आकारमा रू. १४ खर्ब ५० अर्ब निजी क्षेत्रको नै छ । साढे ३ खर्ब मात्र लगानी गर्ने राज्यको सुरक्षाका लागि सरकारले सुरक्षा निकायमार्फत् वार्षिक अर्बौ रकम खर्च गरिरहेको छ । तर, आर्थिक आकारको ८० प्रतिशतभन्दा बढी लगानी गर्ने निजी क्षेत्रको सुरक्षा प्रत्याभूति हुन सकेको छैन । यसका लागि राज्यले पनि सोच्नुपर्छ । शुरूवातकै रूपमा भए पनि व्यवसायिक सुरक्षा कोष स्थापना गर्ने उद्योग वाणिज्य सङ्घको लक्ष्यलाई सबैले सकारात्मक मान्नुपर्छ । यो महोत्सवले अर्को के कुराको प्रत्याभूति दिनुपर्छ भने सरकारले स्वदेशी पूँजीको संरक्षण गर्ने बताइरहे पनि व्यवसायिक सुरक्षाको लागि खासै कदम चालेको देखिदैन । व्यवसायीहरुकै तर्फबाट ल्याइएको व्यवसायिक सुरक्षा कोषलाई पूर्णता दिन सरकारसमेतले सहयोग पु¥याउनुपर्छ ।

महोत्सवले व्यवसायिक चेतनाको अभिवृद्धि गरी गुणस्तरीय वस्तु उत्पादन र उपभोगमा सहजता ल्याउन ग्राहक तथा उत्पादनकर्ताको प्रत्यक्ष भेट गराउने सङ्घले बताएको छ । यसका लागि महोत्सवकै अवसरमा बृहत अन्तक्र्रिया गरिने बताइएको छ । यसले जिल्लामा लगानीमैत्री वातावारण तयार बनाउन समेत सहयोग पुग्नेछ । महोत्सवका यी सम्भावनाहरू हुँदाहुँदै थुप्रै चुनौतीहरू समेत छन् । विगतमा गरिएका महोत्सवहरु ‘नाममात्रको महोत्सव’ भएको कटू यथार्थलाई बिर्सन हुँदैन । महोत्सवको उद्देश्य लगानी भित्र्याउने हो । तर, विगतदेखि नै दाङलगायत मुलुकभरकै महोत्सवबाट करोडौं पूँजी पलायन भएको छ । महोत्सवमा आउने सर्वसाधारणले चटके, पिङ र मौतको कुवामा मात्र रकम खर्च गर्ने वातावारण गराइनु हुँदैन । सर्वसाधारणको आकर्षण त्यता भए पनि ती वस्तुहरुमा ५० देखि ६० प्रतिशतसम्म उद्योग वाणिज्य सङ्घले कर उठाउनुपर्छ । महोत्सवमा विदेशी खानाभन्दा स्थानीय खानालाई प्राथमिकता दिनुपर्छ । त्यसैगरी मेलामा होहल्लापूर्ण नाचगानलाई निरुत्साहित गर्दै स्थानीय कला, संस्कृतिको संरक्षण गर्नु पनि यो महोत्सवका चुनौतीहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *