पानीजहाज

  
  प्रकाशित मितिः सोमवार, माघ २९, २०६९       | 128 Views   ||

Udasi jee-[टीकाराम उदासी]

क्याप्टेन
याद राख
राम्ररी याद राख
तिमीले छाड्यौ भने पनि
कुनै ज्वारभाटा बीचमै यो पानीजहाज
पानीजहाजकै कोही यात्री
आफै बन्नेछ क्याप्टेन
र, हाक्नेछ इतिहासको पानीजहाज
इतिहासको कुनै अध्यायभित्र
कदापि हुने छैन क्याप्टेनहरुको अभाव
जन्मिरहनेछन् क्याप्टेनहरु
निरन्तर
चलिरहनेछ
परिवर्तनको यो पानीजहाज
नबिर्स,
पानीजहाज कदापि रोकिने छैन ।

यात्राभर आइरहनेछन्
थरिथरिका ज्वारभाटा
र, आँधीबेहरीहरु
उसरी नै
हुनेछन् पराजित
सबै सबै
ज्वारभाटा
र, आँधीबेहरीहरु
कुनै दिन
यथाक्रम
पुग्नेछ गन्तव्यमा पानीजहाज
यात्रीहरु गाइरहनेछन्
निरन्तर सङ्कल्पका गीतहरु

समुद्री डाँकाहरु
गरिरहनेछन् आक्रमण
पानीजहाजमाथि
प्रतिकारमा उभिनेछन् यात्रीहरु
भइरहनेछन्
बेलाबखतमा कोही न कोेही सहिद
र, अरु बाँचेका यात्रीहरु
गर्दै आफ्नो सपना–सुरक्षा
हरपल
गरिरहनेछन्
यावत प्रतिकूलता बिरुद्ध युद्ध
र, निरन्तर बढिरहनेछन् यात्रामा
गन्तव्यमा नपुगेसम्म
कसैले सोचें जसरी
पानीजहाज कहिल्यै रोकिने छैन

बोकेर उज्याला सपनाहरु
निरन्तर चलिरहनेछ
विशाल समुद्रमा पानीजहाज
र, एक दिन
अवश्य पुग्नेछ गन्तव्यको किनारमा
र, गाड्नेछन् यात्रीहरु
एउटा अनन्त हरियो चौरमाथि
आफ्नो विजयको रातो झन्डा
बोकेर आँखाभरि विजयको सन्तुष्टि
हेर्नेछन् आस्थाको पानीजहाज
अनन्तसम्म फैलिएको क्षितिज
र, छर्नेछन् चारैतिर विजयको अमर मुस्कान

क्याप्टेन
याद राख
राम्ररी याद राख
तिमीले छाड्यौ भने पनि
कुनै ज्वारभाटा बीचमै यो पानीजहाज
पानीजहाजकै कोही यात्री
आफै बन्नेछ क्याप्टेन
र, हाक्नेछ इतिहासको पानीजहाज
इतिहासको कुनै अध्यायभित्र
कदापि हुने छैन क्याप्टेनहरुको अभाव
जन्मिरहनेछन् क्याप्टेनहरु
निरन्तर
चलिरहनेछ
परिवर्तनको यो पानीजहाज
नबिर्स,
पानीजहाज कदापि रोकिने छैन ।
–दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *