जीया

  
  प्रकाशित मितिः सोमवार, माघ २९, २०६९       | 130 Views   ||

Dil_mahara-[दिल महरा]

बाँच्नलाई त रहेछ दुःख ।
एउटा गहिरो अत्यासलाग्दो जीवन । अँध्यारो वर्तमानमा बाँच्ने बाध्यता । दुखाई अव्यक्त छ । उस्तै तन्नेरी लोभ । एकदम अमूर्त जीवन ।
म प्रत्यक्ष देखिरहेछु– कुइनेटाको छेऊमा सानो चिया पसल । जिल्ला हिमाली । जुम्लाको एक कुना ।

वि. सं. २०६८ सालको पुस महिनाको कुनै एक बिहान । स्याँठ चीसो । लुगलुगिरहेका मान्छेहरु । ठेलमठेल गरिरहेछन् बाटाभरि घाम ताप्न ।
झुरुप्प हातहरु । चीसो पानीमा छिनछिन । बाहिरिरहन्छन् कठ्याङ्ग्रिएर । कहाँ फुर्सद मिल्नु । व्यस्त छन् हात । बाध्यता पनि । चलेका चल्यै अविराम ।
थोत्रो टिप्पणी गरिदिन्छन् मान्छेहरु ।
‘*जीया तुमिकन क्या गर्नु छ रुप्पे ?’
(आमा तपाईंलाई के काम छ रुपैयाँको ?)

अव्यक्त निस्तो मुस्कुराउँछिन् जीया । फेरि हातहरु व्यस्त । चकचक । चिया उमाल्नु । चिया भर्नु । गिलास पखाल्नु ।
समय छ महंगो । किन्नु छ समय । बेञ्च स्थिर छन् चियापसल बाहिर । मयलका काँटीले काला–काला । थचारिन्छन् एक दुई मान्छे ।
‘जीया म कन च्या’ देउ त खाँता ।’
(आमा मलाई छिटो चिया दिनुस् त ।)
बोली मान्छेका । जीया फिट्छिन् चिया । धूँवा बेस्मारी पुत्ताउँछ । देवदारको दाउरो नबाल्नु ठीक । आगो फुक्नु कति । सेक्किरहन्छन् गाला । ओठ पूरै सुख्खा । धूँवाले आँखा दुखाउँछ अति ।

झुरुप्प खेरिए हजारौं पटक आँसु । पुछिए पनि हतार–हतार । कति पटक त आँसुको लत्को चियामा नि पसे ।
कठै ! बिचरी जीया ।
बाँच्ने एउटा जिजीविषा । कति महंगो छ प्राण । गरिबीलाई दुःखको नेल हत्कडी दियो होला कसले ?

आउँछन् फेरि मान्छेहरु ।
‘जीया म कन चा देउ त ।’
(आमा मलाई चिया दिनुस् त ।)
अभावको अर्थ पैसा । गरिबीको भागमा अभाव ।
उर्दी छ गरिबलाई
–महंगो नखानू ।
–महंगो नपिउनू ।
–महंगो नलाउनू ।

पूरै–पूरै मयलका काँटी । दागै दाग चोलोभरि । गुन्यूँ सम्भावित ३०÷३५ ठाउँ टालिएको । कपाल जिङ्रिङ्ग ।
पत्याउनुस्–
जीया गरिब हुन् ।
प्रत्येक मान्छेसँग विनम्रको बोली ।
‘चा खाइकन जाउँया सर ।’
(चिया पिउन आउनुस् न सर ।)

कसैले हुन्छ भन्थे । बोल्दै नबोल्ने कोही । गरिबीले निथु्रक भिजेको देश । उसमाथि कर्णाली । जीया त ¥याप ¥यापी । मान्नुस् जीया पूरै सल्वाटर्न ।
धेरै पटक भाषण सुनिन् जीयाले । मीठो भाषण दिन्थे काठमाण्डौंबाट गएका नेता । कति पटक पिटिन् ताली मान्छेको लहलहमा । सपना बाँड्थे नेता । अन्ततः रित्तो । हातमा लाग्ने शून्य ।

आस कसैको थिएन जीयालाई । नारा, जुलुस, झण्डाको ताँती । अर्थ के बुझ्थिन् बिचरी ।
कुनै बिहान पुगेकी हुन्थिन् एयरपोर्ट पनि । खोज्दै भारी । जुन दिन चिया पिउनेको भीड कम हुन्थ्यो ।
‘जहाज उड्यो रे ।’ हल्ला मचिन्छ ।
मुस्कुराउँछिन् जीया थोरै । हाँस्दा कहिल्यै नमाझेका काला दाँत पनि साथी हुन्थे ङिच्च । कामको आसमा जीयाका आँखा आकाशतिर । जताबाट आउँछ जहाज ।
मान्छेहरु भन्दै हुन्छन् ।
–‘सुर्खेतबाट सीता उड्यो ।’
–‘नेपालगञ्जबाट मकालु र गोमा सँगसँगै ११ बजे ।
–‘काठमाण्डौंबाट आर.ए. १२ बजे ।’
जीयाको फट्फटाहट ।
‘छोट्या तो कन घोकाउन कुम्ती धौ छुइन ।’ (छोरा तँलाई पढाउन धेरै धौ भयो मलाई ।)

कक्षा ४ पढ्दै गरेको छोरा सम्झिन्छिन् जीया । आँखा रसाउँछन् । श्रीमानको २०६५ सालमा टीबीले लग्यो माथि ।
घ्वार्रर्र…
जहाज आउँछ । भारीको नाममा दुइवटा झोला । ५० रुपैयाँ भो कमाई जीयाको । अर्को जहाजको पर्खाइ गर्छिन् जीया ।
कोही कराउँछ फेरि ।
‘जहाज क्यान्सिल भो, मौसम खराब भो ।’ निरास छिन् जीया । पसल फर्किनु बाध्यता ।
‘मान्ठाहरु चा खान छाइय हिजो आज । रक्सी व्यपार छ माइमरि ।’
(मान्छेहरु चिया पिउन छोडे हिजोआज । रक्सीको व्यापार धेरै छ ।)
जीयाको एकल संवाद ।

चिया बेच्नु कति कमाई । कोठा भाडा । हातमुख जोड्ने । छोरो पढाउने ।
जीया अगुल्टो ठोस्न थालिछन् पुनः । किट्लीभरि पानी तातिदै जान्छ । पहिलोग्रस्त गरिबको जीवन । खाल्डो ठूलै छ अभावको ।
निर्दयी गरिबी ।
चाहेर पनि म के गर्न सक्छु र जीयाका लागि । मूर्तरुपमा म पनि गरिब ।
*** ***
बित्थाको फत्तुर राजनीति । दरफराई र कोतराई पटक्क घिनलाग्दो ।
सुन्नुस् नेताज्यू ।
जीया र म जस्ताले कहिले सुख पाउने ?
उत्तर चाहियो सोझो ।
***
*जीया– आमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *