महोत्सवको लक्ष्य बहुउद्देश्यीय सभागृह निर्माणको थालनी गर्ने हो

  
  प्रकाशित मितिः सोमवार, माघ २९, २०६९       | 109 Views   ||

Madhusudan-[मधुसूदन वैद्य]– संयोजक, महोत्सव मूल आयोजक समिति

यो पत्रिका हातमा पर्ने दिन महोत्सव उद्घाटन भइरहेको हुनेछ । कल्पना गर्नुस् त त्यो दिन कस्तो होला ?
असाध्यै उत्साहको दिन हुनेछ । सिंगो दाङ उत्सवमय बन्नेछ । बिहानैदेखि शहर सफा, स्वच्छ राखिनेछ । पानी छर्केर धूलो नउड्ने बनाइनेछ । सबैका घरअगाडि कलात्मक सिंगारिएका घडाहरु सजाइनेछन् । ध्वजापताकाले सिंगो दाङ बलेको जस्तो हुनेछ । विभिन्न राजनीतिक दल, सरकारी निकाय, संघसंस्थाले व्यानर एवं स्वागत गेटहरु बनाएका हुनेछन् । टोलवासी र अन्य संघ संगठनहरु व्यानरसहित झाँकी जुलुस शोभा यात्रामा आउनेछन् ।

जिल्लाभरिकै झाँकीहरु घोराही आउनेछन् । ठूलो चहलपहल हुनेछ । दाङले साँस्कृतिक पहिचान दिनेछ । नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको प्रदर्शन हुनेछ । त्यस्तै, पश्चिम पुरन्धाराबाट आउने जुम्लाको संस्कृति, त्यस क्षेत्रबाट आउने रुकुमको मयूर नाच, मगर, गुरुङ, थारु, नेवार, ब्राह्मण, क्षेत्रीलगायत विभिन्न जातजाति, भाषाभाषीका विविध झाँकीले घोराही बजारको रौनक नै अर्कै बनाइदिनेछ ।

महोत्सवको उद्देश्य के हो ?
उद्योग वाणिज्य संघ भनेको समग्र आर्थिक क्षेत्रको नेतृत्व गर्ने संस्था हो । उद्योगी, व्यवसायीको हितका लागि संघले विभिन्न योजना बनाउँछ । जसले समग्र राष्ट्रको हित हुने उद्देश्य राख्छ । त्यही उद्देश्य पूरा गर्न हामीले दाङमा बहुउद्देश्यीय सामुदायिक सभाहल बनाउने लक्ष्य लिएका छौं । यसो हुँदा अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय एवं जिल्लास्तरका ठूलठूला कार्यक्रम हुनेछन् । त्यसले ठूला होटेल, व्यवस्थित बसोबास, सुविधासम्पन्न यातायात, ठूलो परिमाणमा कृषि उत्पादनलगायत सबै क्षेत्रमा वृद्धिको माग गर्नेछ । यो नै समग्र विकासको ढोका खोल्नु हो भन्ने हाम्रो बुझाइ हो ।

यो जिल्लामा कृषि र पर्यटनबाट मात्रै आर्थिक उन्नति देखेका छौं । त्यसका लागि पर्यटकीय स्थलको प्रचार प्रसार गर्न खोजेका हौं । कृषि उत्पादनलाई विकास गर्नुपर्छ । निकासीका लागि प्रचार गर्नुपर्छ । यहाँको उत्पादन क्षमता असाध्यै राम्रो छ, उर्वर माटो छ । त्यसैले पनि राष्ट्रिय अन्तर्राष्ट्रिय ध्यान तान्न चाहन्छौं । यो नै हाम्रो उद्देश्य हो । साथै सांस्कृतिक भाषिकलगायत विभिन्न क्षेत्रको विकास गर्न चाहन्छौं । दाङ आर्थिक विकासको नयाँ सम्भावना बोकेको छ भन्ने सन्देश दिन पनि चाहन्छौं । कृषि र पर्यटनलाई जोड्न मुख्यगरी अहिले बहुउद्देश्यीय सामुदायिक सभाहल बनाउन शुरुवातको काम गर्ने लक्ष्य लिएका छौं ।

त्यसैले हेलिकोप्टर ल्याउन लाग्नुभएको हो ?
नयाँ किसिमको प्रयोगबाट ध्यान तान्न खोजेको पनि हो । खासमा अहिलेका मान्छेहरु केही हजार रुपैयाँ खर्च गरेर मनोरञ्जन लिन मन दुखाउने अवस्थाका छैनन् । अहिले विभिन्न क्षेत्रको विकासले खर्चभन्दा मनोरञ्जन ठूलो देख्छ । कमाउनु गुमाउनुको ख्यालै छैन बरु खर्च गरेर पनि सेवा नपाएकोमा गुनासो गर्छ । यही मनोभावनालाई सम्बोधन गर्न हेलिकोप्टर ल्याउन लागिएको छ । एयरडाइनेष्टीसँग सम्झौता भैसक्यो ।

एसियाकै ठूलो उपत्यका दाङलाई हेलिकोप्टरबाट फन्को लगाउने अवसर फेरि नआउन पनि सक्छ । स्वर्गद्वारी गएका त धेरै छन् तर हेलिकोप्टरबाट जाने कुरा भिन्नै हुँदोरहेछ । अनि बाहिरबाट आउनुभएका पर्यटकहरुले पनि केही घण्टामै राप्तीकै गौरव स्वर्गद्वारी पुग्न पाउनुहुनेछ ।
सरकारलाई पनि दाङको पर्यटकीय सम्भावना थाहा हुनेछ । भविष्यमा यसकै नियमित सेवा वा केवुलकार सेवा भनेर माग गर्न पनि सजिलो हुनेछ । यसले इन्धन डिपोको पनि आवश्यकता बढाउने छ । यसकारण अहिलेको महोत्सवमा हेलिकोप्टरको असाध्यै महत्व छ । हाम्रा पाहुनाहरुलाई उहाँहरुको चाहनाअनुसार दाङका सबै पर्यटकीयस्थलको अवलोकन गराउनेछौं ।

लगानी वर्ष २०१३ को बारेमा पनि कार्यक्रम हुने भनिएको छ । कस्तो कार्यक्रम गर्दै हुनुहुन्छ ?
यो महोत्सवलाई हामीले औद्योगिक कृषि मेला भनेका छौं । यो खाली देखाउनलाई बनाएको नारामात्रै होइन । यहाँको स्थानीय उत्पादनलाई विशेष महत्व दिएका छौं । केही स्टलहरुलाई कृषिकै लागि भनेर अरु क्षेत्रलाई दिनबाट रोक्यौं ।

अझ महत्वपूर्ण काम हामी मध्यपश्चिम क्षेत्रस्तरीय लगानी वर्ष २०१३ सम्बन्धी कार्यक्रम गर्दैछौं । मेलामै गरिने कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव, विषय विशेषज्ञ, दातृ निकाय, एनजीओ/आइएनजीओलगायतलाई आमन्त्रण गरेका छौं । हामीले मध्यपश्चिमाञ्चलस्तरको विकासका सम्भावना र चुनौतिबारे छलफल गर्नेछौं । त्यस कार्यक्रमको उपलब्धिका रुपमा राप्तीमा ठूलठूला मेघा प्रोजेक्ट छनौट गर्नु हुनेछ ।

कृषिमा ठूलो परिवर्तन ल्याउने सोचेका छौं । यहाँको जलविद्युतको सम्भावना, कोइलालगायत विभिन्न खनीज पदार्थको उपयोगलगायत विकासका पूर्वाधारको सम्भावनाबारे छलफल गर्नेछौं । कृषि पर्यटनसम्बन्धी विशेषज्ञ आउनुहुनेछ । त्यसैले, महोत्सवले उद्योग व्यवसायको विकासमा बल पु¥याउनेछ भन्ने उद्देश्य राखेका छौं ।

परम्परादेखि चल्दै आएका मेला, अहिले विभिन्न ठाउँमा चलाइने मेला र यहाँहरुले गर्ने मेलामा केही फरक छ कि ?
अरु मेलाभन्दा उद्देश्य र पहिचानसहितको यसमा केही फरक छ । हामीले मेलाको आम्दानीबाट बहुउद्देश्यीय सभागृह बनाउन शुरु गर्ने लक्ष्य लिएका छौं । यो कुनै परम्परा धान्ने मेला होइन नयाँ पहिचान दिन्छौं । नाचगान मनोरञ्जनका साधनहरु मात्रै हुने छैनन् । कविता प्रतियोगितालगायत कलासाहित्य सिर्जनाको विकास गर्ने कार्यक्रम पनि समावेश गरेका छौं ।

अनावश्यक खर्च कतैबाट हुन दिदैनौं । अन्य शीर्षकका खर्चलाई निकै कञ्जुस भएर कटाई सभाहल निर्माणको शुरुवातका लागि केन्द्रीत हुनेछौं । मेला सकिदाको १५ दिनभित्र हिसाब सार्वजनिक गर्नेछौं । कतिपय ठाउँमा एक वर्षसम्म पनि सार्वजनिक गरिदैन । अरु मेला महोत्सवभन्दा यसको अझ अन्तर के छ भने हाम्रा मुख्य प्रायोजक घोराही सिमेन्ट र विशेष प्रायोजक सोनापुर सिमेन्ट पनि दाङकै हुन् । यो आम दाङवासीको गौरवको विषय हो । यसकारण सबै हिसाबमा फरक छ । यो महोत्सव सबैको हो, त्यसैले सबै जातजाति, वर्ग समुदायलाई महोत्सवमा आइदिन म हार्दिक आग्रह गर्दछु ।

फाइदा उधारोमा हुने हो कि ?
त्यसो हुने अवस्था छैन । आउने जति सबै कुरा निश्चित भइसकेको छ । दिनेहरुले पत्र दिइसक्नुभएको छ । कतिपयलाई कामको प्रतिवेदन दिनुपर्ने भएकाले मेला सकिएको सात दिनसम्म लाग्ला । त्यसबाहेक घोषणा गरेकाहरुमा ताकेता शुरु गरेका छौं । कसैलाई दिने पैसा पनि दैनिक भुक्तानी गरिरहेका छौं । काम बाँकी राख्ने पक्षमा छैनौं । बिल ल्याउने भर्पाइ दिने भुक्तानी लैजाने भनेका छौं । महोत्सवको काममा लापरवाही गर्ने, वेवारिसे हुन दिने, जिम्मेवारी नलिने भन्ने कुरै हुँदैन । सबै कुरा व्यवस्थित गर्नलाई नै सबै पदाधिकारी साथीहरु दिनरात जुटेका छौं । त्यही अनुसारका कर्मचारी प्रशासन चुस्त दुरुस्त पारेका छौं । कुनै शंका नगर्नुस् ।

त्यसो भए सभाहल बन्ने पक्का भयो हैन ?
ढुक्कसँग बनाउँछौँ । अहिले विभिन्न ठाउँका टोलवासीले जग्गा दिन आतुरी देखाएका छन् । जताततैबाट आउनुस् जग्गा हेर्न भनिरहेका छन् । सभाहल आम जनसमुदायको साझा केन्द्र हो । यसले दंगालीको प्रतिष्ठा बढाउँछ । समग्र आर्थिक क्षेत्रको विकास गर्छ । विभिन्न क्षेत्रमा लगानीको वातावरण बनाउँछ । यसको भविष्य निकै फराकिलो देखेका छौं । यसपटकको आम्दानीको मुख्य उद्देश्य पनि सभाहल हो । त्यसैले अब सभाहल बनाउन शुरु हुनेमा कुनै शंका गर्नुपर्ने अवस्था देख्दैनौं । ठाउँको छनौट गरेर चाँडै शुरु गछौं ।

अन्तमा, हाम्रो पत्रिकामार्फत केही भन्नु छ कि ?
महोत्सवका सम्बन्धमा हाम्रो विचार पस्किने मौका दिनुभएकोमा नौलो जनउभार साप्ताहिकलाई विशेष धन्यवाद दिन चाहन्छु ।
यस क्षेत्रको आर्थिक विकास हुँदै समग्र विकासका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । समग्र विकासले नै सबैको जीवनस्तर उठाउने हो । यो महोत्सव मनोरञ्जनको लागि मात्रै होइन ।

फेरि भन्छु– दाङमा सभाहलको आवश्यकता असाध्यै खड्किएको छ । प्रत्येक वर्ष जिल्ला परिषद् र नगर परिषदमा कुरा उठाउँदा पनि हल हुन सकेको छैन । निर्माण गर्ने श्रोत नभए पनि आवश्यकता महशुस सबै क्षेत्रले गरेको छ । विकास निर्माणको जिम्मा सबै क्षेत्रले लिनुपर्छ । त्यसमा पनि आर्थिक क्षेत्रको नेतृत्व गर्ने संस्था उद्योग वाणिज्य संघ पछि पर्ने कुरै हुन्न । हामीले नेतृत्व गरेर सक्रियता देखाउन खोजेको हो, काम गर्ने सबैले हो एउटाले गरेर केही हुँदैन । यसलाई सफल बनाउने जिम्मेवारी आम दंगालीसहित राप्तीबासी जनसमुदायको हो । त्यसकारण यो महान लक्ष्य पूरा गर्नका लागि महोत्सवमा भव्य एवं सभ्य ढंगले उपस्थिति जनाइदिन अनुरोध गर्दछु ।
हामीले विभिन्न उपसिमिति बनाएर कामकाज एवं सुरक्षा, स्वास्थ्य, आर्थिक व्यवस्थापनलगायत सबै कुरा व्यवस्थित गरेका छौं । आफ्नो कलाक्षमता, उत्पादन सहभागी बनाई समग्र दाङको विकासमा जुट्न आम दंगाली जनसमुदाय, सम्पूर्ण राप्तीवासी नागरिकहरुमा मूल आयोजक समितिको अध्यक्षको हैसियतले चुले निम्तो गर्न चाहन्छु ।

प्रस्तुति : गोविन्द खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *